पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम


सर्लाही : सर्लाहीको हरिबनमा पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक तयार गर्ने र समुदायमा परिचालन गर्ने उद्देश्यले युएन ह्याविट्याटको सहयोगमा बागमती सेवा समाज नेपालले तालिमको आयोजना गरेको हो । तालिममा बागमती सेवा समाज नेपालका कर्मचारी र ३ वटै स्थानीय तहका सरसफाइ फोकल पर्सनको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्नुहुँदै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले हरिवनलाई नेपालकै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले स्थानीय तहले विकास निर्माणका कामसँगै नगरबासीको व्यवहार परिवर्तनसँग सम्बन्धित चेतनामुलक क्रियाकलापमा पनि जोड दिएकोले सरसफाइका लागि हरिवन नगरपालिकाले बजेट विनियोजन गरिएको मेयर प्रसाईले बताउनुभयो । “सबैसँग मिलेर नगरलाई युग सुहाउँदो पूर्ण सरसफाई उन्मुख नगरपालिका बनाउन सबै पक्षसँग हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार छ ।” उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा बोल्नुहुँदै युएन ह्याविट्याटका कार्यक्रम विश्लेषक मदन मल्लले नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेकोले अब मुलुक पूर्ण सरसफाइको युगतिर प्रवेश गरेको बताउनुभयो । उहाँले यसका लागि सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा स्थानीय साझेदार संस्था मार्फत काम अगाडि बढाएको बताउनुभयो ।
आयोजक संस्था बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले भने संस्थाले सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गर्दा तत्कालीन ५९ गाउँ विकास समितिमा सहजीकरण गरेको स्मरण गर्दै भन्नुभयो “अबका दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर समुदायलाई पूर्ण सरसफाइ उन्मुख स्थानीय तह बनाउनका लागि परियोजना मार्फत क्रियाकलापहरु संचालन गरिनेछ ।” तालिम आजदेखि ३ दिनसम्म सञ्चालन हुनेछ ।

युएन ह्याविट्याटको सहयोगमा सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बासबरिया गाउँपालिकामा पूर्ण सरसफाइ परियोजना सञ्चालन भइरहेको छ । परियोजनामा खुला दिसामुक्त समुदायको दिगोपनाका लागि विभिन्न सचेतनामुलक क्रियाकलापहरु सञ्चालन गरिनेछ भने स्थानीय तह, समुदायको क्षमता अभिवृद्धि, स्थानीय तहको सरसफाइ एवं स्वच्छता योजना, रणनीति निर्माण गर्न सहजीकरण गरिने जानकारी बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले दिनुभयो ।

यसका साथै महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालय स्तरमा समेत विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ । कार्यक्रमको अध्यक्षता बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार