सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेका झापाको कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले वास प्लान निर्माणको कामलाई अगाडि बढाएका छन् । गौरीगञ्ज गाउँपालिकाले वास प्लान कार्यबिधी तयार गरी कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर वास प्लान निर्माण कार्यदललाई योजना निर्माणको लागि बाटो खुला गरिसकेको छ भने कमल गाउँपालिकाले प्रशासकीय अधिकृत सुवाष श्रेष्ठको संयोजकत्वमा वास प्लान निर्माण कार्यदल गठन गरिसकेको छ । योजना निर्माणको कामलाई छिटो सम्पन्न गर्न वास प्लान निर्माण कार्यदललाई निर्देश गरेको कमल गाउँपालिका अध्यक्ष मेनका काफ्लेले बताउनुभयो ।

कमल र गौरीगञ्ज गाउँपालिकामा वास प्लान निर्माणको प्रारम्भिक भेला तथा कार्यशाला गोष्ठीको सहजीकरण युएन ह्याबिट्याटका जिल्ला संयोजक बिनोद शर्माले गर्नुभएको थियो । वास प्लान तयारी कार्यशालाको सहजीकरण गर्दै शर्माले गौरीगञ्ज र कमल गाउँपालिकाको घरायसी तहको तथ्यांकको बिश्लेषण समेत गर्नुभएको थियो । पूर्ण सरसफाइलाई संस्थागत गर्न वास प्लान महत्वपूर्ण सावित हुने जिल्ला संयोजक शर्माको बिश्वास छ । ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याबिट्याटको आर्थिक तथा प्राबिधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्र झापाले बिर्तामोड, गौरीगञ्ज र कमल गाउँपालिकामा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको छ ।

योजना निर्माणका लागि आवश्यक तथ्याँक संकलनको काम भईरहेको गौरीगञ्ज गाउँपालिकाका वास फोकल पर्सन रामचन्द्र मिश्रले बताउनुभयो । गौरीगञ्ज गाउँपालिकाका चार वटा वडाको तथ्याँक संकलन बिराट सामुदायिक अध्ययन केन्द्रले र बाँकी दुईवटा वडाको तथ्यांक संकलन बिराट सामुदायिक अध्ययन केन्द्रको प्राबिधिक सहयोगमा गाउँपालिका आफैँले गरिसकेको छ । कमल गाउँपालिकाका चारवटा वडाको तथ्यांक संकलन बिराट सामुदायिक अध्ययन केन्द्र र बाँकी तीनवटा वडाको तथ्यांक संकलन गाउँपालिका आफैँले गरिसकेको छ ।
घरायसी तहको खानेपानी, सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित सूचना तथा तथ्यांक संकलनको काम सम्पन्न भईसकेको छ भने संघसस्था, कार्यालय, बिद्यालय, सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ तथा स्वच्छताको तथ्यांक संकलन कार्य भईरहेको र एक हप्ता भित्रमा काम सम्पन्न गरिसक्ने बिराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम अधिकृत अर्जुन पाठकले बताउनुभयो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले सबै पालिकाहरुलाई वास प्लान निर्माण गरी कार्यान्वयनमा ल्याउन आग्रह समेत गरिसकेको छ । समितिले पाँच बर्षे पूर्ण सरसफाइ रणनीतिक योजना समेत गरिसकेको छ । आगामी पाँच बर्ष भित्रमा झापा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख बनाउने लक्ष्य राखेर तयार गरिएको रणनीतिक योजनालाई सबै पालिकाहरुले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाईसकेका छन् । खानेपानी मन्त्रालयले सबै स्थानीय तहलाई वास प्लान तयार गरी कार्यान्वयनमा ल्याउन यस अघि नै परिपत्र गरिसकेको छ ।


1254 पटक हेरिएको 

