हिमा गाउँपालिकाको वास योजना तयार


जुम्ला : जुम्लाको हिमा गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणाका लागि गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना तयार गरिएको छ । धारा, शौचालय नपुगेका घरमा कहिले धारा, शौचालय पुर्‍याउने भन्ने विषयमा योजनाले स्पष्ट पारेको छ । अझै पनि हिमा गाउँपालिकाको करिब १२ सय बढी घरपरिवारमा खानेपानी सुविधा पुगेको छैन् । हिमाका १ देखि ८ सम्मका वडागरी ३ बढी घरमा अझै शौचालय बन्न सकेको छैन । सन् २०३० सम्ममा पूर्ण सरसफाइयुक्त नेपालको लक्ष्य पूरा गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न हिमाको (वास) योजना तयार भएको छ । आठै वडाध्यक्षहरुले बैशाख अन्तिम साता सम्म सबै वडामा सतप्रतिशत शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाई सकेका छन् ।

किर्डाक र वाटर एडको पहलमा हिमा गाउँपालिकाको (वास) योजनाले संविधानको धारा (३५) बमोजिम स्वास्थ्य सम्बन्धी हकमा नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरेको छ । नागरिकका आधारभुत स्वास्थ्य अधिकारलाई प्रत्याभूत गर्न वास योजना कोसेढुंगा सावित हुने किर्डाक नेपालका वास विज्ञ सुर्य बहादुर थापाले बताउनुभयो । हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले आफ्नै कार्यकालमा हिमालाई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै घरधुरीमा शौचालय देखि खानेपानी धारा निर्माण गर्ने उहाँले बताउनुभयो ।

हालको तथ्यांक अनुसार हिमा गाउँपालिकामा १७ सय ८३ घरधुरी रहेको छ । तीन वर्षको अवधिमा हिमाका ३ सय ६५ घरमा धारा तथा भाडा सुकाउने चाङ, तथा १३ सय ९२ घरमा शौचालय निर्माण भएको तथ्यांक छ भने १५ सय ३२ घरधुरीले घर वरिपरिको वाताबरणलाई नियमित सफा गर्ने गरेका छन् । साथै खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी करिब १३ सय १७ जनाले ज्ञान पाएका छन् । ४ वटा नमुना सार्वजानिक शौचालय निर्माण भएका छन् भने घरघरमा धारा पुग्दा हिमामा करिब २४ सय ४३ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

जुम्लालाई २०७२ साल फागुन २० गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । हिमाका बाँकी गाउँ ऋषिदेउ, आचार्यवाडा, बड्की, देवारगाउँ कोइरेली गाउँमा गरी करिब ३ सय ७० घरधुरीमा पानी पुर्‍याउने लक्ष्य छ । प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले चालु आर्थिक बर्षमा खानेपानी क्षेत्रको लागि एक करोड बढी बजेट विनियोजन भएको जानकारी दिनुभयो । गाउँपालिकाबाट आर्थिक वर्ष २०७४/७५ मा ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७५/७६ मा ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । वाटर एड र किर्डाक नेपालले भने एक करोड ७८ लाख ३६ हजार ३ सय ३१ रुपैयाँ बजेट विनियोजन गरी खानेपानीका योजना सम्पन्न गरेका छन् । जसबाट ४ सय ४६ घरधुरी लाभान्वित भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार