
काठमाडौ : कोरोना भाइरसको त्रासले बजारमा सर्जिकल मास्क र स्यानिटाइजर अभाव हुन थालेको छ । ललितपुर महानगरपालिकाले त प्रति सर्जिकल मास्क ७ रुपैयाँमा बेच्ने गरी मास्कको उत्पादन नै थालेको छ । ललितपुर महानगरपालिकाले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई आजदेखि रक्सीबाट स्यानिटाइजर बनाउने तालिम चलाउन लागेको छ । महानगरपालिकाको आग्रहमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को प्रयोगशालामा रक्सीबाट स्यानिटाइजर बनाउने विधि सिकाउन लागेको नाष्टका रसायनशास्त्री वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिनुभयो ।
कसरी बन्छ त रक्सीबाट स्यानिटाइजर ?
घरेलु रक्सीमा ४० प्रतिशत इथानोल हुन्छ। यसका लागि डिस्टिलेशन प्रक्रियाबाट रक्सीमा भएको पानीको मात्रालाई घटाएर इथानोलको मात्रा ९५–९६ प्रतिशत पुर्याइन्छ। रसायनशास्त्री वैज्ञानिक स्याउला भन्नुहुन्छ यसका लागि मदिरालाई निश्चित ताप दिएर पानीको मात्रा वाष्पीकरण गरेर हटाउनुपर्छ । त्यसपछि प्राप्त हुने इथानोलमा केही मात्रामा पानी हाल्नुपर्छ र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्यानिटाइजर तयार गरिन्छ । इथानोलमा गिल्सेरोल र हाइड्रोजन पेरोअक्साइड राखेर घोललाई मिलाइन्छ।
‘अल्कोहल’ को सक्रिय मिश्रण भएकाले यो हातमा टिकिरहन सक्दैन। इथानोलमा गिल्सेरोल हाल्दा उडेर जान पाउँदैन। किटाणु मार्नका लागि अल्कोहललाई ९ सेकेन्ड चाहिने भएकाले त्यसलाई अड्याउन गिल्सेरोल मिसाइन्छ। घोलमा ब्याक्टेरिया नआउन् भनेर हाइड्रोजन पेरोअक्साइड राखिन्छ।
नाष्टको अनुसन्धान अनुसार घरेलु ७ लिटर रक्सीबाट करिब २ लिटर स्यानिटाइजर बन्छ। सय एमएलको स्यानिटाइजरमा ८० एमएल इथानोल र २० एमएल पानी, हाइड्रोजन पेरोअक्साइड र गिल्सेरोल हुन्छ। तालिममा सहभागीले घरेलु मदिराआफैंले ल्याउनुपर्नेछ। नाष्टबाट यसअघि ललितपुर महानगरका दुई जनाले रक्सीबाट स्यानिटाइजर बनाउने तालिम लिईसकेका छन् ।


1579 पटक हेरिएको 

