पूर्ण सरसफाइका लागि टोल–टोलमा समिति

🔗
4
Shares


भिष्म लोध, बाँके : पूर्ण सरसफाइ गाउँपालिका बनाउन बाँकेको जानकी गाउँपालिकाको प्रत्येक वडामा सरसफाइ समिति गठन गरिने भएको छ । गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणका लागि प्रत्येक वडाको प्रत्येक टोलमा सरसफाइ समिति गठन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राम निवास यादवले बताउनुभयो ।

बैठकमा गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाका सबै वडा अध्यक्ष र सदस्यहरुले टोल टोलमा सरसफाइको महत्वबारे जानकारी गराउन आग्रह गर्नुभयो । प्रत्येक वडामा साप्ताहिक रुपमा अनुगमन गरी सरसफाइ नगर्नेलाई आफ्नो घर, आँगन, बाटो सफा बनाउन पनि वडा अध्यक्षले सक्रियता देखाउनुपर्ने अध्यक्ष यादवको आग्रह थियो । ‘बाटोमा मलखाद थुपारिएका छन्, थुपारिएका मलखाद बैशाख महिनाभित्र नउठाए जसको भएपनि अरुकै खेतमा लगेर फाल्नुहोस्’ उहाँले भन्नुभयो । बैठकमा सरसफाइ व्यवस्थापन तथा परिचालन गर्न आवश्यक बजेट स्वीकृतिका लागि वार्षिक कार्ययोजना निर्माण गर्ने र सो कार्यका लागि आवश्यक बजेट गेरुवा ग्रामीण जागरण संघ बर्दिया र गाउँपालिकाले व्यवस्था गर्ने निर्णय गरिएको छ ।

बाँकेको जानकी गाउँपालिकाको वडा नं.२ र ६ मा गेरुवाले पूर्ण सरसफाइ कार्यक्रम मार्फत समुदायमा जनचेतना तथा स्थानीयलाई जागरुक गराउँदै आएको छ । यो वर्ष वडा नं. २ को चौधरीपुर र भैय्यापुर टोललाई पूर्ण सरसफाइ घोषणा गर्ने तयारी गरिएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. ३ का अध्यक्ष बिन्देश्वरी कुर्मी, वडा नं. ४ का अध्यक्ष बिश्राम बर्मा, ५ का अध्यक्ष रमेश कुमार बर्मा र ६ का अध्यक्ष सुरेश अहिर, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री र स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना लगायत सहभागी हुनुहुन्थ्यो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार