
म देशको मुख्य सहरमा डेरामा बस्छु । शिक्षित टोपलिन्छु । जस्तो भए पनि निजी क्षेत्रमा रोजगारी गर्छु । चीनमा कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति हुँदै गर्दा र यसको फैलावट युरोपसम्म आइपुग्दा समेत पनि मैले दिनहुँ यति धेरै पटक साबुनपानीले मिचीमिची हात धोएको थिइनँ ।
पानी र साबुन भएर पनि राम्रो तरिकाले हात नधुने पनि छन् र त हात धुनेजस्तो आधारभूत स्वास्थ्य कार्यको तरिका र चेतना फैलाउनुपर्ने अवस्था छ । यो एउटा देशको मात्रै मुद्दा र अवस्था होइन, संसारभरकै साझा चासो र चिन्ताको विषय हो ।

नेपालले कोराना भाइरसविरुद्धको सतर्कता अपनाउँदै गर्दा र देश बन्दाबन्दी (लकडाउन) भएको महिना दिन गुजारिसक्दा मेरो साबुनपानीले मिचीमिची हात धुने दर बढेको त छ, तर धुने तरिका अझै पनि सही या गलत छ, मलाई थाहा छैन । हत्केला, औंलाको काप, नङको टुप्पा र हातको पन्जापछाडिको भाग साबुनपानी लगाइसकेपछि दायाँबायाँ, बायाँदायाँ, हत्केला तलमाथि गर्दै र तान्दै धुने गरेको छु । शौचादिका लागि होस् वा अन्य अवस्थामा पनि बाथरुम छिरेपछि साबुनपानीले मिचीमिची हात धुने गरेको छु, तर अझै पनि थाहा छैन, के मैले यसलाई बानीका रूपमा विकास गर्नेछु वा कोरोना भाइरस निस्तेज भएपछि यसरी हात धुनेछु ?
म मात्रै होइन, मैले चिनेका, देखेभोगेका, मेरा इष्टमित्र र संगतमा पनि यसअघि यसरी साबुनपानीले पटकैपिच्छे कसैले हात धोएको देखेको थिइनँ । यसको अर्थ कसैलाई होच्याउने चाह विल्कुलै होइन । अहिले उनीहरू पनि पटक–पटक साबुनपानीले हात धोएको सुनाउँछन् । माथिको प्रसंग शौचालय प्रयोगपछिको मात्रै हो । अझै पनि खानुअघि साबुनपानीले हात बारबार धुनमा धेरै अभ्यस्त छैनन् । मेरा एकाघरका परिवार, साथीसँगी, इष्टमित्रले पनि खानुअघि सामान्य हात पखालेर मात्रै खान्छन् ।
दिनहुँ अगतिलो सरसफाइको परिणामजन्य कारणले कैयौंको हताहती भइरहेको छ । नेपालले पानीको सहज पहुँचका लागि विभिन्न परिस्थितिमा आक्रामक रूपमा काम गर्दै आइरहेको पनि हो । तर स्वस्थ, दिगो र गुणस्तरीय खानेपानीको पहुँच कहिले हुने हो कुन्नि ?
यो खासावस्था हो । प्रदूषणका लागि मुखमा सामान्य प्रकृतिको मास्क त सहर छिरेको करिब दुई दशकदेखि नै लगाउन थालेको हुँ । तर कोराना भाइरसका लागि चिकित्सकीय मास्क चाहिनेमा त्यो आजका मितिसम्म किन्न पाइनँ । हातमा सेतो पन्जा चाहिँ अझै लगाएको अवस्था छैन ।
सन् २०१९ को अन्तिम महिनामा चीनको हुबेई प्रान्तको वुहान सहरमा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड–१९) ले करिब संसार ढाकिसकेको छ। यो अवधिमा एकाध देश बाहेक यस भाइरसको चपेटामा नपरेको देश छैन । कतिपय अझै बन्दै छन् । दशौं लाख संक्रमित भएका छन् भने करिब २ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । यसले जनजीवन, अर्थतन्त्र डामाडोल बनाउँदै लगेको छ । विद्वान्, अर्थशास्त्री र वैज्ञानिकहरूले केही समयपछि पक्कै पनि यसको समीक्षा गर्नेछन् ।
अहिलेसम्म औषधि, खोप पत्ता लाग्न नसकेको यस भाइरसको सावधानीका लागि साबुनपानीले हात धुने, मुखमा मास्क लगाउने र मानिस बीचको सामाजिक दूरी कायम गरिएको छ । यदि यस भाइरसको संक्रमण भइहालेमा पारासिटामोलको सेवन, क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने कार्य भइरहेको छ । यसभन्दा अरू चमत्कार यस भाइरसविरुद्धको विजयका लागि आजको दिनांकसम्म आइसकेको छैन । उपचारकले यसअघिका रोगव्याधिको उपचार गर्दा भन्दा उल्लेख्य व्यक्तिगत सुरक्षाका साधन लगाउने गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का अनुसार नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन । संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । त्यसो त सरकारी र गैरसरकारी निकायले हात धुनेसम्बन्धी धेरै कार्यक्रम र परियोजना चलाए, सिकाए र सम्पन्न गरे । परिणामस्वरूप पूर्ण सरसफाइयुक्त वडा, स्थानीय तहलगायत घोषणा पनि भयो । यो कार्यक्रम जारी नै छ ।
कसले, कहिले, कहाँ–कहाँ, कति बजेट साबुनपानीले हात धुने कार्यक्रम चलाए भन्ने कसैले खोज्दा हुन्छ । विभिन्न सरुवा रोगहरू, महामारी लगायतमा फोहोर चिज, वस्तुले प्रधान भूमिका खेलिरहेको छ । ‘कोरोना भाइरसपछिको विश्व’ नामक लेखमा युवल नोहा हरारीले भनेका छन्, ‘म हात धुन्छु, किनकि मैले ब्याक्टेरिया र भाइरसबारे सुनेको छु । यी झीना कुराले पनि रोगव्याधि लगाइदिन सक्छ, जसलाई साबुनपानीले एकैछिनमा चट् पारिदिन सक्छ भन्ने थाहा पाएरै हो ।’
सन् २००८ देखि १५ अक्टोबरमा विश्व हात धुने दिवस मनाउन थालिएको छ । साबुनपानीले हात धुने पनि तरिका छ । विश्वमा धारा र शौचालय अर्को परिवारसँग साझा रूपमा प्रयोग गर्नेहरू पनि छन् । सफा पानीले हात धुने पहुँच नभएका मानिसहरू पनि छन् । पानी र साबुन भएर पनि राम्रो तरिकाले हात नधुने पनि छन् र त हात धुनेजस्तो आधारभूत स्वास्थ्य कार्यको तरिका र चेतना फैलाउनुपर्ने अवस्था छ । यो एउटा देशको मात्रै मुद्दा र अवस्था होइन, संसारभरकै साझा चासो र चिन्ताको विषय हो । विश्लेषक सीके लाल लेख्छन्, ‘असल नागरिक हुन साबुन र पानीले हात धुनुपर्छ ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका आईडी र ट्विटर ह्यान्डलमा हात धोऔं भन्ने लेखिएको छ ।
संसारमा खासगरी खानेपानी र सरसफाइको क्षेत्रमा चलेका परियोजना – कार्यक्रमहरूले हात धुने कार्यक्रमलाई प्राथमिकता दिएका छन् । दिनहुँ अगतिलो सरसफाइको परिणामजन्य कारणले कैयौंको हताहती भइरहेको छ । नेपालले पानीको सहज पहुँचका लागि विभिन्न परिस्थितिमा आक्रामक रूपमा काम गर्दै आइरहेको पनि हो । तर स्वस्थ, दिगो र गुणस्तरीय खानेपानीको पहुँच कहिले हुने हो कुन्नि ? खानेपानी स्वस्थ नरहँदा दिगो विकासका लक्ष्यलगायत अन्य कार्यक्रम -परियोजनाका लक्ष्यहरू हासिल गर्न चुनौती रहला ।
अव्यवस्थित सहरमा असुविधा छ र त्यो असुविधा पानीको पनि छ । सरकारी धारामा खानेपानी आउँदैन । सहरवासी पिउने, नुहाउनेलगायतका काममा ट्यांकरले बोकेका पानीमै आश्रित छन् र यसमै अभ्यस्त भइसकेको प्रतीत हुन्छ । जमिनमुनिको पानी, इनार र ढुंगेधाराहरू सुकेका छन् । सहरका नदीजति सबै प्रदूषित छन् । यसैले सहरमा कलकल बगेको निर्मल, सफा र स्वच्छ पानीले जतिखेरै साबुनपानीले हात धुने सुविधा पाउन अझै टाढा छ ।


1189 पटक हेरिएको 

