बर्दिया : नेपालको लुम्बिनी प्रदेशमा रहेको बर्दिया जिल्लामा २०६९ सालतिर सरसफाइ अभियान सञ्चालन हुँदा मानिसहरु सोध्ने गर्थे “सरसफाइ भनेको चर्पी बनाउने काम पो हो ?” हुनपनि, चर्पी नै सरसफाइको पर्याय बनेको थियो । सरसफाइका कुरा गर्दा जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि सांसदसम्मले चर्पीकै कुरा गर्थे । सरसफाइ अभियान सहजीकरण गर्नेहरुको मुखबाट पनि चर्पीकै कुरा निस्कन्थ्यो । विभिन्न सञ्चार माध्यमले चर्पीकै समाचार लेख्थे, सुनाउथे र देखाउने गरेका थिए । सबैलाई लाग्थ्यो, “सरसफाइ भनेको चर्पी बनाउनुमात्र रहेछ ।”
सरसफाइ अभियानले पहिलो खुड्किलो पार गर्दै दोस्रो चरणमा प्रवेश गरेसँगै यसको दायरा फराकिलो भएकोमात्र छैन, सरसफाइ अब पर्यटन, आयआर्जन, सामाजिक प्रतिष्ठा र आर्थिक समुन्नतिको आधार समेत बनेको छ ।

तराई मधेशको पहिलो र देशकै पच्चीसौं जिल्लाको रुपमा २०७२ जेठ २९ गते खुल्ला दिसामुक्त घोषणा भएपछि पनि बर्दियामा सरसफाइ अभियान सुस्ताएन, बरु झनै फैलदै गयो । चर्पीमा सीमित भएको सरसफाइ अभियान अब भान्छा, खाना र पानीको सुरक्षादेखि घरायसी र वातावरणीय सरसफाइ, ठोस र तरल फोहरको व्यवस्थापन, वृक्षरोपण, आयआर्जन, पर्यटन र समग्रमा सामाजिक आर्थिक समृद्धिको बाटोमा अघि बढ्न थाल्यो ।
जिल्लामा पूर्ण सरसफाइ योजना बन्यो, साविकका गाविस र नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरे । स्थानीय तहको पुनःसंरचनापछि जनप्रतिनिधिले यसलाई निरन्तरता दिए । पहिले चर्पी बनाउनका लागि फलामका च्युरा पेल्नुपर्ने समुदायमा पूर्ण सरसफाइले गति लिन थाल्यो । “समुदायका घर आकर्षक बनेका छन्, विद्यालयको सरसफाइमा सुधार आएको छ, खोर गोठ व्यवस्थित भएका छन्, महिला समूह, बाल क्लब र युवा क्लब सरसफाइ प्रवद्र्धनका लागि सक्रिय बनेका छन्”, पूर्ण सरसफाइ अभियानको साझेदार संस्था आई.डि.एस. नेपालका कार्यक्रम संयोजक यज्ञराज जोशी भन्नुहुन्छ, “हिजोका दिनमा चर्पी बनाउनमा सीमित सरसफाइ अभियान अब सफा गाउँ रुपान्तरणमा बदलिएको छ ।”
यत्तिमा सीमित रहेन बर्दियाको सरसफाइ अभियान । हिजो समुदायको अगुवाइ गर्ने बड्घरहरुले अब पूर्ण सरसफाइको अगुवाइ गर्न थाले, जनप्रतिनिधिले सरसफाइका योजना बनाउन थाले, पालिकाको वार्षिक योजनामा समेटिन थाल्यो सरसफाइलाई । बर्दियाका दूरदराजमा सरसफाइ नमूना गाउँ बन्न थाले, समुदायमा नै सरसफाइ श्रोत केन्द्र बने, सरसफाइ च्याम्पियनहरुले अभियानलाई गाउँगाउँ फैलाए, राजनीतिक नेतृत्वले समेत साथ दियो । सरसफाइ बढ्दै जाँदा सरसफाइ अभियानले बनाएका सफा गाउँ’ अहिले पाहुनाको न्यानो स्वागत गर्ने ‘अतिथिगाउँ’ अर्थात् ‘होम स्टे’ मा बदलिएका छन् ।
हिजोका दिनमा वातावरण बिगार्ने ठोस फोहरबाट अहिले आयआर्जनका सामग्री बन्न थालेका छन् । हिजो चर्पी बनाउन ऋण खोज्ने गाउँमा अहिले सरसफाइकै माध्यमबाट आयआर्जन हुनथालेको छ । चर्पी, अर्थात् सरसफाइले बोझ थोप¥यो भन्ने समुदाय अहिले पूर्ण सरसफाइकै बाटोबाट जीविकोपार्जन सुनिश्चित बन्ने विन्दुमा पुगिसकेको छ ।
सरसफाइले लोभ्यायो पाहुना, पाहुनाले चल्यो घरबास
पूर्व–पश्चिम राजमार्गको बाँके र बर्दियाको सीमानाहुँदै बग्छ मानखोला । मानखोलाबाट अगाडि ६ किलोमिटर पार गरेपछि भेटिन्छ बाँसगढी बजार । त्यहाँबाट १ किलोमिटर उत्तरमा पर्दछ लक्ष्मणपुर । लक्ष्मणपुरमा अहिले ६ वटा सामुदायिक होमस्टे दर्ता भएर नै सञ्चालनमा छन्, थप १२ वटा औपचारिक थालनीको पर्खाइमा छन् ।
गाउँको मुखैमा सबैघरका जानकारी समेटिएका सामाजिक नक्सा राखिएका छन्, गाउँमा छिर्ने सुन्दर द्वार बनाइएका छन् । मूल बाटोदेखि घरसम्म पुग्नका लागि गिट्टी बिछ्याइएको ओभानो बाटो छ, घर छेवैमा रहेको धारामा ढलान गरिएको छ । सबै घरको वरिपरी सानै भए पनि फूलबारी बनाइएको छ ।
“हाम्रो गाउँमा आउने पाहुनालाई सुन्दर घर, हँसिलो अनुहारले स्वागत गर्न पाउँदा हाम्रो मन पनि फुरुङ्ग हुन्छ”, लक्ष्मणपूर सामुदायिक होमस्टेका अध्यक्ष फगु थारुले खुशी हुँदै सुनाउनुभयो ।

पूर्ण सरसफाइ अभियानले नै लक्ष्मणपुरमा होमस्टेको दैलो उघारेको हो । “सफाइ, सून्दरता र सुसंस्कार नै होमस्टेका मर्म रहेछन्”, फगु थारुले होमस्टेको पृष्ठभूमि सुनाउनुभयो, “अघिल्लो वर्ष फागुन २२ गते होमस्टेको उद्घाटन गर्दागर्दै लकडाउन सुरु भए पनि होमस्टेमा अहिलेसम्म पाहुना टुटेका छैनन् ।” बन्दाबन्दीको समयमा वरिपरीका ठाउँ र छिमेकी जिल्लाबाट आउने पाहुनाबाटै चित्त बुझाउनुपरे पनिअहिले बाहिरी जिल्लाबाट समेत पाहुना आउन थालेपछि लक्ष्मणपुरवासी खुशी भएको समेत अध्यक्षथारुले सुनाउनुभयो ।
लक्ष्मणपुरले अहिले पाहुनालाई सफा गाउँ मात्र देखाउँदैन, यससँगै आतिथ्यता र हार्दिकताले मन जित्छ, खेर जाने बस्तुबाट बनाइएका सजावटका सामान बिक्छन् र घर वरपर रोपिएका फूल समेत बिक्री हुन्छन् । उनीहरु रैथाने नाच देखाउँछन्, र पाहुना लोभ्याउँछन् । लक्ष्मणपुरमात्र होइन, पूर्ण सरसफाइ अभियानको तीव्रतासँगै राजापुर मुर्गैयामा समेत होमस्टेको औपचारिक रुपमा थालनी भएको छ । पूर्ण सरसफाइ अभियानले गेरुवामा भएका होमस्टेलाई अझै मजबूत गरेको छ । “पहिले संस्कृति र अतिथि स्वागतबाट पाहुना लोभिन्थे, अहिले सरसफाइ थपिएपछि चन्द्रमामा रोशनी थपिएको छ”, गेरुवा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण थारुको भनाइ छ ।

पूर्ण सरसफाइ अभियानमा मात्र होइन, होमस्टेको तालिम सञ्चालन र सहजीकरणमा समेत सरसफाइ अभियाानका विकास साझेदारले हातेमालो गरेका छन् । यू.एन. ह्याबिट्याटले होमस्टे तालिम सञ्चालन गर्न सहयोग पुर्यायो । बाहिरी जिल्लाबाट घुमफिर गर्न र बास बस्न आउनेहरुले नै यहाँको बारेमा प्रचार प्रसार गरिदिन्छन् । बेला बेलामा रेडियो, टेलिभिजन र पत्रिका लगायत अन्य सञ्चार माध्यमले सफा र उद्यमी गाउँका बारेमा लेखेर, श्रव्यदृश्य देखाएर र समाचार छापेर सहयोग गर्छन् ।
सामाजिक परिवर्तनको यस अभियानका सिकाइहरुलाई व्यवस्थित गर्न समुदायले सरसफाइ श्रोत केन्द्र सञ्चालन गरेका छन्, जुन बाहिरबाट आउनेहरुका लागि समेत सिकाइको केन्द्रको रुपमा रहेका छन् । गाउँमा आउनेहरुले एक पटक सफा सुग्घर विद्यालय समेत हेर्न छुटाउँदैनन् ।
सरसफाइ पार्कमा बदलियो सामुदायिक वन

बर्दियाको बाँसगढी ५ को मगरपुरमा पहिले दिउँसै स्यालको बथान दगुर्ने सामुदायिक वन अहिले सुन्दर पार्कमा बदलिएकोछ । पार्कमा घुमफिर गर्न, फोटो खिच्न र पिकनिकका लागि समेत बाहिरबाट पर्यटक आउँछन् । बर्दियाकै राजापुरबाट समेत पार्कमा पिकनिक आएको मगरपुर नमूना सरसफाइ समदुायका अध्यक्ष ध्रुव थापाले सुनाउनुभयो ।
पार्क नजिकै तलाउ छ । पहिले खासै गणनामा नपर्ने तलाउ अहिले नियमित सफाइ हुन थालेपछि सुन्दर बनेको छ । पार्क र तलाउ वरपर टायर झुण्डाएर बनाइएका पिङ्गमा बालबालिका रमाउँदै मच्चिइरहेका भेटिन्छन् । पार्क वरपर चियाचमेना बिक्री गर्ने पसल थपिएका छन् । “पसलहरुबाट समेत राम्रै आम्दानी हुन थालेको छ”, अध्यक्ष थापा सुनाउनुहुन्छ, “अझै सुविधा विस्तार गरेर पार्कमा आउनेहरुबाट शूल्क उठाएरै पनि समुदायको स्तर उकास्न सकिन्छ भन्ने विश्वास छ ।”
सरसफाइ कोषले बनायो स्वरोजगार
चर्पी बनाउनका लागि पैसा खर्च गर्नुपर्दा सुरु सुरुमा दुःख मानेका बासगढीवासीले अहिले समूहमा जम्मा भएको बचत रकमबाट ऋण लिएर व्यवसाय थालनी गरेका छन् । वडा नं.४ का रामप्रसाद थारुले सरसफाइ कोषमा जम्मा भएको रकमबाट किराना पसल व्यवस्थापन गर्नुभएको छ । बाँसगढीकै सबिना थारुले चिया पसल सञ्चालन गर्नुभएको छ भने गाउँका धेरै जनाले अन्य व्यवसायमूलक कार्यमा लगानी गरेका छन् ।
नमूना समुदायले व्यवस्थापन गरेको सरसफाइ कोषमा पूर्ण सरसफाइ अभियान अन्तर्गत यू.एन. ह्याबिट्याटले पाँच हजार रुपैयाँ वीऊ पूँजी जम्मा गरेको थियो । सुरुमा यो रकम सानो लागे पनि अहिले सबैले कोष बढाउँदै लगेका छन् । “वीऊले त अरु पूँजी बढाउँदै लग्यो”, शान्तिपुर जमुनी सरसफाइ नमूना टोल अध्यक्ष मनु बि.सी. भन्नुहुन्छ, “अहिले सदस्यहरुलाई आयआर्जनका लागि ऋण दिन सक्ने अवस्था मापुगेका छौं । ”
सरसफाइ कोषमा मासिक बचतबाट प्राप्त रकमका साथै दान पेटिका, जरिवाना, सांस्कृतिक कार्यक्रम भ्रमण शुल्क लगायतबाट उठेको रकम पनि जम्मा गरिन्छ । ती रकम सरसफाइमा खर्च गर्नुका साथै सामाजिक कामका लागि आवश्यक पर्ने टेन्ट, कुर्सी, भाँडाकुडा, साउण्ड सिस्टम किनेको जीपुर समुदायका अध्यक्ष खुमी थापा मगरले बताउनुभयो । उहाँका अनुसार ती सामग्री भाडामा दिएर पनि संकलन भएको रकम सरसफाइ कोषमै जम्मा गर्ने गरिएको छ ।
कोषमा जम्मा भएको रकमबाट समुदायको सरसफाइका लागि चाहिने सामग्रीहरु वोरा, कुचो÷झाडु लगायत किन्न र सरसफाइमा उत्कृष्ट घरपरिवारलाई पुरस्कृत समेत गर्दै आएको छ । हालै बासगढी गाउँपालिकाको वडा नं. ४ र ५ मिलेर बनेको लक्ष्मपुर नमुना समुदायका तीनजनालाई पुरस्कृत गरिएको छ ।
खेर जाने बस्तुबाट बन्छन्, पाहुनाका लागि चिनो

बर्दियाको वढैयाताल र गेरुवा गाँउपालिकाका फुलवारी, पहाडीपुर, जनकनगर, लोहागढ, लगायत समुदायमा पुग्दाअहिले चाउचाउ तथा विस्कुटका खोलहरु देखिदैनन् । अघिपछि यत्रतत्र छरिएका त्यस्ता प्लाष्टिकजन्य वस्तुहरुबाट सजावटका सामग्रीहरु बनाएर घरमा सजिएको अवस्थामा भेटिन्छन् । चाउचाउ तथा विस्कुटका खोलबाट स्थानीयले हाते पंखा, ढकली, डेल्वा, बेर्रा, ढकिया, पनछोप्नी, फेरुवा, लोला, चिरैया, चकटी, झोला बनाउँछन् । गाउँमा जाने पाहुनालाई स्वागत गर्न बजारका प्लास्टिकका मालाको सट्टा पातबाट हरिया कलात्मक माला बनाउँछन् ।
प्लास्टिक र खोललाई खेर जानै नदिएपछि फोहोर हुने कुरै भएन । यसमाथि पनि सबै घरधुरीले कलात्मक बस्तु बनाउन सिकेका छन् । थारु जातीको रैथाने सीपलाई सरसफाइ अभियानले अझै परिस्कृत बन्ने मौका दिएको छ । उत्पादन भएका बस्तुहरु नमूना समुदायले बनाएका संकलन केन्द्रमा लगिन्छन् । “खेर जाने बस्तुबाट अहिले मैले पनि खेलौना बनाउन थालेकी छु”, जनकनगरकी सुखमाया थारुले सुनाउनुभयो ।
स्थानीय विन्दु परियारले रजनीगन्धाको खोल जम्मा गरेर बनाएका झोला जनकपुरदेखि सरसफाइ सिक्न बर्दिया पुगेका पाहुनाले औधी मन पराए । बढैयातालकी सुजनी थारु त यस्ता सामान बनाउन माहिर मानिनुहुन्छ । “खेर जाने बस्तुबाट सामान बनाउन थालेपछि सफाइ र आयआर्जन दुबै बढेको छ”, सुजनीथारु भन्नुहुन्छ, “पाहुनाका लागि आकर्षक कोशेली समेत ।”
एउटै बाँस चिरेर बनाइएका डस्टबिन बर्दियाको ब्रान्ड नै बनेको छ । सबैजसो घरले ठोस फोहर जम्मा गर्नका लागि यस्तै डस्टबिन राख्ने गरेका छन् । आफ्नो घरमा बाँस र बुन्ने मान्छे नहुनेहरुले छिमेकीहरुबाट किनेर ल्याउनाले रैथाने सामग्री र सीप छिमेकमै बिक्री हुन्छ ।
फोहरलाई स्रोतको रुपमा बदल्ने नगरपालिकाको योजना
बर्दियाका स्थानीय तहहरुले सरसफाइलाई जीविकोपार्जनसँग जोड्दै लैजान योजना नै बनाउन थालेका छन् । सरसफाइलाई केवल सरसफाइमात्र भनेर स्वच्छता कायम नहुने र यसलाई जीविकोपार्जनसँग जोडेर सञ्चालन गर्दा दिगोपना हुने भएकाले योजनामै समावेश गरिएको बर्दियाको बासगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताउनुभयो । “हामीले सरसफाइलाई प्रमुखताका साथ राखेर काम गरिरहेका छौं, नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता (वास) योजना बनाएको छ । यसले योजनाबद्ध विकासका लागि सुनिश्चितता प्रदान गरेको छ”, नगर प्रमुख अधिकारीले भन्नुभयो, “सरसफाइबाट आयआर्जन गर्न फोहोरबाट खेलौना बनाउने तालिम, कुहिने फोहोरबाट जैविक मलबनाउने, होमस्टे सञ्चालन सम्बन्धी सीप अभिबृद्धि लगायतका तालिमका प्याकेजहरु वार्षिक योजनामा समावेश गरेका छौं ।”
बर्दियाकै गेरुवा गाउँपालिकाले भने कोरोना संक्रमण कम भएपछि सबै वडालाई पूर्ण सरसफाइउन्मुख वडा घोषणा गर्ने योजना बनाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिगतमा गरिएको लकडाउन तथा सामूहिक रुपमा भेला हुन नपाएका कारण रोकिएको घोषणा अभियान चाँडै सुरु गरिने गेरुवा गाउँपालिका वडा नं. २ का अध्यक्ष आलोक चौधरीले बताउनुभयो । “हामीकहाँ फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट छैन । फोहर घरमै वर्गीकरण तथा व्यवस्थापन गर्ने र त्यसबाट आयआर्जन गर्ने तालिमहरु सञ्चालन गर्ने वडाको योजना छ”, अध्यक्ष चौधरीले सुनाउनुभयो ।
पूर्ण सरसफाइ अभियानमा बाह्य सहयोग नरहेको अवस्थामा सरसफाइ अभियान र आयआर्जन दुबैलाई एकसाथ अघि बढाउनका लागि नमूना टोल व्यवस्थापन समिति र वडाले समेत योजना तयार गरिसकेको यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोद साहले जानकारी दिनुभयो । “होमस्टे सञ्चालन भएका स्थानमा व्यवसायिक योजना तयार भैसकेका छन्”, उहाँले भन्नुभयो, “सरसफाइ अभियानका निरन्तरताका लागि वडा र नगरपालिकाको वार्षिक योजनामा समावेश भैसकेको छ ।”
बर्दिया जिल्ला पूर्ण सरसफाइ प्रवद्र्धन र यसको माध्यमबाट सामाजिक आर्थिक समुन्नतिमा समेत नयाँ अवधारणा लिएर सबैको सिकाइको थलोको रुपमा विकास भैरहेको छ । विकास साझेदारले निरन्तर सघाइरहेका छन्, समुदाय जागरुक छ, र नेतृत्वले सार्थक अगुवाइ गरिरहेको छ । “सरसफाइबाटै विकासको ढोका खोल्न सकिने रहेछ”, नगर प्रमुख शालिकराम अधिकारीले निस्कर्ष सुनाउनुभयो ।


1668 पटक हेरिएको 

