खानेपानीमन्त्रीद्वारा मेलम्चीको पानी वितरणका लागि शाखा कार्यालयहरुको तयारीबारे जानकारी हासिल

 1573 पटक हेरिएको

काठमाडौ : खानेपानीमन्त्री मणिचन्द्र थापा, खानेपानी सचिव माधव बेल्बासे लगायतको टोलीले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानी वितरण शाखा कार्यालयहरुको निरीक्षण गरिएको छ । टोलीले मेलम्ची खानेपानी आएपछि वितरणको लागि शाखा कार्यालयहरुको तयारी एवं भौतिक संरचनाहरुको अवस्थाका बारेमा सम्बन्धित शाखा प्रमुखहरुसँग जानकारी लिएको हो ।


टोलीले वानेश्वर शाखा, महाँकाल चौर शाखा र बाँसबारीको निरीक्षण गरी शाखा कार्यालयहरुको तयारी, आईपर्न सक्ने चुनौती र मन्त्रालयले गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी लिएको हो ।

मन्त्री थापाको टोलीसँग वानेश्वर शाखाका प्रमुख ई. नारायण कर्णले खानेपानीको पाइप बिग्रिदा मर्मत सम्भारका लागि महानगपालिका, सडक विभाग लगायतसँग अनुमति लिईरहनुपर्ने झण्झट अन्त्यका लागि अनुरोध गर्नुभयो । उहाँले सडक खनेर खानेपानीको मर्मत गर्नुपर्ने अवस्थामा निर्वाध रुपमा सडक खनेर बनाउन पाउनुपर्ने र आफ्ना कर्मचारीलाई कुनै अवरोध गर्न नपाउने माग गर्नुभयो ।


मेलम्चीको खानेपानी प्राप्त भएपछि वानेश्वर शाखाको वितरण तयारीबारे जानकारी लिएपछि टोलीले महांकाल चौर शाखाको निरीक्षण गरेको थियो । महाँकाल चौरमा खानेपानीको सबै संरचनाको निरीक्षण पश्चात बाँसबारीमा रहेको खानेपानी संरचना र खानेपानी वितरणको वर्तमान अवस्था एवं मेलम्ची आएपछि वितरणको तयारी बारे महाराजगञ्ज शाखा प्रमुख ई.रमेश केसीले जानकारी गराउनुभयो । उहाँले मेलम्ची आएपछि खानेपानी वितरणका लागि सिङ्गो टिम लागि परेको बताउनुभयो ।

वानेश्वर, महाँकाल चौर र बाँसबारी शाखाको निरीक्षण पश्चात खानेमन्त्री मणिचन्द्र थापाले सबै शाखा कार्यालयका प्रमुख एवं कर्मचारीहरु मेलम्ची खानेपानी वितरणको लागि तयारी अवस्थामा रहेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले मेलम्चीको सुरुङ परिक्षणको क्रममा रहेको र परिक्षण अवधिमै केही बाँकी रहेको काम पनि सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

निरीक्षण टोलीमा खानेपानीमन्त्री थापा र खानेपानी सचिव बेल्बासे सँगै काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य लगायत हुनुहुन्थ्यो ।

मेलम्ची खानेपानी वैशाख अगावै पनि आउन सक्छ : खानेपानी सचिव बेल्बासे

खानेपानी सचिव माधव बेल्बासले मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएका सबै संरचनाले काम गरे वैशाख अगावै खानेपानी वितरण गर्न सकिने बताउनुभयो । उहाँले हाल खानेपानी वितरणका लागि बनाएका सबै संरचनाको परिक्षण भईरहेको र परिक्षणका क्रममा केही समस्या नआएमा वैशाख अगावै खानेपानी वितरण गर्न सकिने बताउनुभयो ।


वास खबर सँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘हाम्रा सम्पूर्ण संरचना तयारी अवस्थामा छन्, बनाएका संरचनामा प्राविधिक हिसाबले कहीँ कतै समस्या आउँछ कि ? भनेर परिक्षण गरिरहेको हो । यदि परिक्षण गर्दा सबै संरचना सफल भयो भने हामी त्यसको भोलिपल्टै देखि काठमाडौका बासिन्दालाई खानेपानी वितरण गर्न सक्छौं ।’
उहाँले ढिलोमा पनि नयाँ बर्ष २०७८ को सुरुवात सँगै काठमाडौका बासिन्दालाई मेलम्चीको खानेपानी उपहार दिने मन्त्रालयको योजना रहेको बताउनुभयो ।


अहिले मेलम्ची खानेपानीको सुरुङ परिक्षण भईरहेको छ । गत १० गते सोमबार मेलम्चीको पानी सुरुङमा पठाईएको छ । पानी भर्न थालेको १५ देखि २० दिनमा २६ किलोमिटरको सुरुङ भरिन्छ । परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिने खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रति सेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालि सकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर परीक्षण गरिनेछ ।


मेलम्चको पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । पानी वितरण गर्न धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठ वटा नयाँ पानीपोखरी बनाएका छन् । सुन्दरीजलबाट थोक वितरण प्रणालीमा पठाएपछि सर्भिस रिजर्भ्वायर ट्यांकी (SRT)  र पाइपलाइनको सफाइ र परीक्षण गर्नुपर्ने हुन्छ । चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार