
काठमाडौ : सडक निर्माणको क्रममा मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको ३० किलोमिटर वितरण प्रणालीमा क्षति पुगेको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का सूचना अधिकारी उज्ज्वल प्रजापतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडकले बिगारेको वितरण प्रणाली बनाउन रु १६ करोड लाग्ने प्रारम्भिक लागत अनुमान तयार भएको छ । यो प्रणाली पुनःनिर्माण नभएसम्म बिग्रिएको क्षेत्रमा पुरानै प्रणालीबाट पानी वितरण हुनेछ । वितरण प्रणाली पुनःनिर्माणका लागि अर्थ मन्त्रालय मार्फत बजेट माग गरिएको छ ।
३ सय स्थानमा पानी लिकेज हुन सक्ने
पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुन सक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो । सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेको हो ।
चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गर्ने उहाँले बताउनुभयो । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ । छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौँले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरे सम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण सडक बिग्रने डिभिजन प्रमुख नेपालीले बताउनुभयो ।


1945 पटक हेरिएको 

