जरुवा मुहान सुक्दै गएपछि पानीको सास्ती


बैतडी : बैतडीको देहिमाडौं बजारमै करिब ९० घरधुरी छन् । ग्वालेक धुराबाट पाइपमार्फत आउने पानी बिहान र साँझ गरी २ घण्टा मात्र आउँछ । एक घरले १५ मिनेट जति मात्र पानी भर्न पाउँछ । दशरथचन्द नगरपालिका–२ का जगदीश क्षेत्रीले भने ‘यो पानी खान र पकाउन ठिक्क हुन्छ । अरू प्रयोगका लागि जहिल्यै समस्यामा हुन्छौं।’  देहिमाडौं बजारमा बाह्रैमास खानेपानीको समस्या रहेको क्षेत्रीले दुखेसो पोखे ।

तल्लो स्वराड क्षेत्रको मुख्य बजार मेलौली नगरपालिका–७ स्थित काँडा बजारमा पनि खानेपानीको हाहाकार छ । सधैं पानीको अभाव झेलिरहेका त्यहाँका ६० भन्दा बढी घरधुरीले यो वर्ष थप अभाव झेलिरहेका छन् । करिब ६ महिनायता उल्लेख्य वर्षा नभएकाले यस वर्ष पानीको समस्या चुलिएको स्थानीय व्यापारी लोकराज भट्टले बताए । काँडा बजारमा नगरपालिका कार्यालय, विद्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, प्रहरी कार्यालयलगायत सरकारी कार्यालय पनि छन् । जनघनत्व बढिरहे पनि बजारमा खानेपानीको विकल्पबारे खासै चासो नदिइएको भट्टको भनाइ छ ।

उनका अनुसार २०२६ अघि १२ धाराका लागि ग्वालेक मणिलेक खानेपानी योजनाअन्तर्गत ग्वालेक धुराबाट पानी ल्याइएको र त्यही पानीले अहिलेसम्म धानिरहेको छ । अहिले धारा संख्या ३० पुर्‍याइएको छ तर पानीको परिमाण बढाइएको छैन । ‘करिब–करिब आधा घण्टा मात्र पानी आउँछ । जतिले पालो पाए पाए, नपाएकाले अर्को दिनसम्म कुर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पालो पाएकाहरूले पनि २० लिटरभन्दा बढी भर्न पाउँदैनन् । २० लिटरले परिवारलाई कसरी पुग्छ रु’ बजारमा कोठा भाडामा बस्नेलाई दिनमा २० लिटरमात्रै पानी दिने स्थानीयले सहमति गरेका छन् ।

जिल्लाका खोड्पे बजार, सद्बाज, मुस्याचौरलगायत स्थानमा पनि वर्षौंदेखि खानेपानीको समस्या उस्तै छ । सुर्नया गाउँपालिका–८ मल्लाढोलेका तेजन बोहराले आधा घण्टाको दूरीमा रहेको छहरे खोलाको पानी खान बाध्य भइरहेको सुनाए । सडेमारमा पानीको मूल भेट्टाएपछि स्थानीयकै लगानीमा पानीको ट्यांकी बनाएर गाउँसम्म पानी पुर्‍याइएको थियो तर श्रीभावर सडक खण्ड निर्माण गरिँदा पानी वितरण अवरुद्ध भएको उनले बताए । ‘सडककै कारण हामी १६ घरधुरीले पानीको चरम समस्या झेलिरहेका छौं । वडा, पालिकालाई बारम्बार भनेका हौं, कसैले वास्ता गर्दैनन् ।’ साभार : तृप्ति शाही/कान्तिपुर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार