खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा

काठमाडौ : खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बन्नका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थायी घर भई काठमाडौमा बसोबास गर्दै आउनुभएका घनश्याम भट्टराई, सर्लाहीको भक्तिपुर गाउँपालिका ७ का सुरेशराज शर्मा र प्युठानको झिमरुक गाउँपालिका ५ का हिमाल बहादुर घर्ती क्षेत्री महसुल निर्धारण आयोगको अध्यक्षका लागि प्रतिस्पर्धी उम्मेदवार हुन् ।

अध्यक्षका प्रतिस्पर्धीहरुका लागि खानेपानी मन्त्रालयले यही असार २४ गते विहीबार बिहान ११ बजे खानेपानी मन्त्रालयको सभाहलमा अन्तर्वार्ता कार्यक्रम राखिएको छ । खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम उम्मेदवारहरुको व्यवसायिक कार्ययोजना र अवधारणापत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिन लागेको हो ।

मन्त्रालयले गत २०७७ चैत्र २५ गते खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम आयोगको पदाधिकारी नियुक्तिको लागि नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरेको थियो । खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ४ बमोजिम गठित सिफारीस समितिको यही असार १५ गतेको निर्णयानुसार रीतपूर्वक प्राप्त भएका निवेदकहरु मध्ये आयोग पदाधिकारी सिफारीस कार्यविधि २०७७ बमोजिम योग्यता पुगेका उम्मेदवारहरुको नामावली स्वीकृत गरिएको थियो ।

खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ ले अध्यक्ष पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र वा वित्तिय व्यवस्थापनमा कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिई कम्तीमा १२ बर्षको अनुभव हुनुपर्ने योग्यता तोकेको छ ।

खुला सदस्यमा दुई तथा महिला, दलित र जनजाति तर्फ तीन जनाको प्रतिस्पर्धा

खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ४ बमोजिम गठित सिफारीस समितिले खुला सदस्य तर्फ दुई र महिला, दलित र जनजाति तर्फको सदस्य पदका लागि तीन जना उम्मेदवार स्वीकृत गरेको छ । समितिले महसुल निर्धारण आयोगको खुला सदस्य पदका लागि गौमुखी ७ प्युठानका धर्मलाल गिरी र धुर्कोट गाउँपालिका ६ गुल्मीका सूर्यबहादुर थापाको नाम स्वीकृत गरेको छ ।

खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ ले आयोगको खुला सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तिय व्यवस्थापन वा विश्लेषण, चार्टर्ड एकाउण्टेन्सी वा वाणिज्य शास्त्रमा कम्तीमा स्नातक उपाधि हासिल गरी आर्थिक मूल्याङ्कन, लेखा वा वित्तिय विश्लेषण सम्बन्धी काममा कम्तीमा १० बर्षको अनुभव हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै महिला, दलित र जनजाति तर्फको सदस्य पदमा बनेपा नगरपालिका ८ काभ्रेपलाञ्चोकका चन्द्रलाल नकर्मी, घोराही उपमहानगरपालिका १७ दाङका नारायणी अधिकारी र भरतपुर महानगरपालिका १३ चितवनका शान्ति सापकोटा बीच प्रतिस्पर्धा हुने भएको छ । महिला, दलित र जनजाति तर्फ आयोगको सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, समाजशास्त्र वा कानुन बिषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ७ बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने प्रावधान छ ।

२०७७ चैत्र २५ गते प्रथम पटक प्रकाशन गरेको सूचनमा महिला, दलित तथा जनजाति कोटाको सदस्य पदका लागि पर्याप्त निवेदन नपरेपछि मन्त्रालयले २०७८ वैशाख ११ गते दोस्रो पटक दरखास्त आव्हान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार