
कालिकोट : कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नंं. १ स्थित श्री महादेव आधारभुत विद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुधार गरी सबै मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।
युनिसेफ नेपाल र खाडाचक्र नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सवै संरचनाहरुको निर्माण एवं अन्य सामाजिक सुधारका कामहरु समेत सम्पन्न गरी विद्यालयलाई तीन तारे घोषणा गरिएको युनिसेफ नेपालका जलवायु उर्जा तथा वातावरण संयोजक गणेश वहादुर रावलले जानकारी दिनुभयो ।
महादेव विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५ बमोजिम खानेपानी, सरसफाइ र स्वच्छताका सबै सूचक पूरा गरिएको संयोजक रावलले बताउनुभयो । उहाँले महादेव विद्यालय कर्णाली प्रदेशकै पहिलो ३ तारे विद्यालय घोषणा गर्न सफल भएको दाबी गर्नुभयो । घोषणा कार्यक्रममा खाडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे, उप प्रमुख विजया विष्ट, शिक्षा शाखा प्रमुख विरेन्द्र शाही लगायत उपस्थित हुनुहुन्थ्यो ।

तीन तारे विद्यालय घोषणाका लागि आवश्यक मापदण्ड
विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७५ ले कुनै पनि विद्यालयलाई तीन तारे घोषणा गर्नका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी निम्न सुविधा र मापदण्ड हुनुपर्ने व्यवस्था गरेको छ ।
सूचक १, पानी : सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता (प्रति व्यक्ति दैनिक १२ लि.)
सूचक २, शौचालय : सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानी सहितको सुधारिएका तथा सुचारु शौेचालयको सुविधा सहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको ।
सूचक ३, वातावरणीय सरसफाइ : सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागू गरी फोहोरको व्यवस्थापन गरिएको ।
सूचक ४, सफा र हरियाली वातावरण : विद्यालयभित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगंैचा र करेसाबारीको विकास गरिएको ।
सूचक ५ ,स्वच्छता सुविधा : समूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएको ।
सूचक ६, स्वच्छता शिक्षा : स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएको ।
सूचक ७, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा : छात्राहरूले पुन प्रयोग गर्ने महिनावारी सामग्री तयार वा प्रयोग गर्ने सीप सिकी वा स्वस्थकर महिनावारी सामग्री प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको ।
सूचक ८, संस्थागत व्यवस्था र दिगोपना : नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, पानी टंकी, फिल्टर र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको ।
सूचक ९, विपद जोखिम व्यवस्थापन : खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको ।
सूचक १०, अनुगमन तथा जवाफदेहिता : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र महिनावारी सामग्री) को स्थापना गरिएको ।


1729 पटक हेरिएको 

