मूलाधार संरक्षणलाई नीतिमै मूलप्रवाहीकरण गर्न एनडब्लूसीएफको सुझाव

काठमाडौ : देशका ३ सय पालिकामा गरेको अध्ययन पछि पर्वतीय क्षेत्रका पानीका मुहानहरु सुक्दै गएको निष्कर्ष निकालेको नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लूसीएफ) ले पानीका मुहान तथा स्रोत संरक्षणका लागि मूलाधार संरक्षणको अवधारणालाई राज्यका सबै तहको नीतिमा मूलप्रवाहीकरण गर्न सुझाएको छ । जलस्रोत संरक्षण सम्बन्धी अहिलेका मुख्य अवधारणाले जलाधार अर्थात सतहमा बग्ने पानीलाई मात्र समेट्दा जलाधार वा मुहान संरक्षणका नाममा हाल भए गरेका काम समेत अपूर्ण हुने प्रति एनडब्लूसीएफले सचेत गराएको छ ।

एनडब्लूसीएफको अध्ययनले हिमाली तथा पहाडी भेगका करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने समस्या देखिएको प्रतिवेदन प्रकाशित गरेको छ । पानीको मुल सुक्ने समस्या समाधान गर्न अबका दिनमा गर्नुपर्ने मुख्य काम तथा चाल्नुपर्ने कदमहरुबारे नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लूसीएफ) ले दिएका सुझावहरु :

नीतिमै मूलाधार संरक्षण

जलस्रोत संरक्षण सम्बन्धी अहिलेका मुख्य अवधारणाले जलाधार अर्थात सतहमा बग्ने पानीलाई मात्र हेर्छ । जल तथा भूगर्भका विविध पक्षलाई नजरअन्दाज गर्छ, खासगरी भूमिगत पानीको पक्षलाई । त्यसो गर्दा जलाधार वा मुहान संरक्षणका नाममा हाल भए गरेका काम पनि अपूर्ण हुन्छन् । त्यसैले मुहानको दिगोपनाका लागि संघीयस्तरबाटै मूलाधार व्यवस्थापन सहितको भू तथा जलाधारसम्बन्धी नीतिगत मूलप्रवाहीकरण र संस्थागत संरचना बनाउन र प्रदेश तथा स्थानीय तहले आत्मसात गर्दै कार्यान्वयनमा लैजानुपर्छ । साथै संघीय, प्रादेशिक, पालिका र समुदायको तहमा मुहान संरक्षणमा भएका प्रयासहरुलाई एकीकरण गरेर लैजानुपर्छ ।

त्यस क्रममा विशेषतः नीतिलाई प्राथमिकतामा राख्ने, नेतृत्व तथा क्षमता विकास गर्ने, असल अभ्यासलाई अन्य क्षेत्रमा विस्तार गर्ने जस्ता काम गर्नुपर्छ । साथै कार्यान्वयनका लागि स्पष्ट संस्थागत संरचना, अधिकार, जिम्मेवारी तथा उत्तरदायित्वको किटानी र पर्याप्त वित्तिय स्रोतको प्रबन्ध गर्नुपर्छ । यस्तो प्रबन्धले दिगो मूलाधार संरक्षण एवम् व्यवस्थापन तर्फ लैजान सक्छ । मुहान संरक्षण नीतिको मूलप्रवाहीकरणले प्रत्येक तहमा कार्यरत सरकारी, गैरसरकारी एवम् सामुदायिक संस्था प्रकृतिमा आधारित समस्या समाधानका उपायबाट निर्देशित हुन्छन् र भविश्यमा जलवायु अनुकुलन, दिगो विकास लक्ष्य, विपद जोखिम उठाउन सक्ने क्षमता उत्थानशीलताका क्षेत्रमा बहुपक्षीय लाभ मिल्ने देखिन्छ ।

अभिलेख तथा तथ्याङ्क आधार

पानीका मुहानहरुको भौगर्भिक अवस्थिति, उपलब्ध पानीका स्रोत तथा मात्रा, प्राकृतिक तथा पानीले कारणले आउने परिवर्तन आदिका बिषयमा नियमित अध्ययन, जाँच तथा परिक्षण गरी अभिलेख राख्ने प्रबन्ध गर्नुपर्छ । त्यसबाट एकातिर मुहानमा चाहिने मात्रामा पानी छ कि छैन भनेर यकिन गर्न सजिलो हुन्छ भने अर्कातिर संरक्षण सम्बन्धी योजना बनाउने क्रममा मार्गदर्शक हुन सक्छ । त्यसका लागि मुहानको सुक्ष्म तहको नियमित अनुगमन गरी व्यवस्थित अभिलेख खडा गर्नुपर्छ ।

त्यसमा मुहान रहेको स्थान, अवस्था (सुकेको वा पानी भएको), पानीको मात्रा (डिस्चार्ज) र गुणस्तर लगायतको जानकारी संकलन गर्नुपर्छ । उक्त कार्यमा स्थानीय समुदाय, जल उपभोक्ता, शिक्षण तथा अनुसन्धान संस्था आदिलाई परिचालित गर्नुपर्दछ । संघीय तथा प्रदेश सरकारका जलस्रोत, खानेपानी, वन वातावरण, जलाधार हेर्ने निकायसँगको समन्वय तथा सहकार्यमा स्थानीय तहलाई जिम्मेवार बनाएर एकीकृत अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि केन्द्रमा कुनै एउटा निकायलाई जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।

प्राविधिक ज्ञान र संस्थागत क्षमता

मुहान संरक्षण गर्दा प्राविधिक ज्ञान र सीप आवश्यक पर्छ । कतिपय पालिकाले मुहान संरक्षणका कामलाई अभियानका रुपमा अघि बढाएका छन् तर त्यसका लागि चाहिने तथ्याङ्क, प्राविधिक ज्ञान तथा सीपको कमी भएको बताएका छन् । दक्ष जनशक्ति, प्रविधि, लागतको हिसाब, प्रशिक्षण पुस्तिका र अनुभवको खाँचो स्थानीय तहमा छ । हाल उपलब्ध खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि हाते पुस्तिका र आठ तहको विधि (एट स्टेप प्रोटोकल) मा समेटिएको प्राविधिक ज्ञान स्थानीय तहमा पुग्न सकेका छैनन् ।

यस्ता सामग्रीहरुले भूगर्भ, पुनर्भरण पोखरी आदिको बारेमा ज्ञान दिनुका साथै संरक्षणका योजना बनाउन, कार्यान्वयन गर्न उचित व्यवस्थापनका लागि स्थानीय सरकारलाई गर्छन् । तर उक्त सामग्रीले पनि मूलाधार संरक्षणको पक्षलाई समेट्न नसकेकाले तिनलाई थप परिमार्जन एवम् अद्यावधिक गरी उपलब्ध गराउन र स्थानीय तहमा तालिम दिन आवश्यक छ ।

वातावरणमैत्री भौतिक विकास

अध्ययनहरुका अनुसार धेरैजसो मुहान सुक्नुका पछाडि विकास नाममा निर्माण गरिने भौतिक संरचना, सडक, भवन, विमानस्थल, खेल मैदान, विद्युत उत्पादन तथा प्रसारण आदि जिम्मेवार भएकाले विकासलाई कुविकासमा परिणत हुन नदिनका लागि वातावरणमैत्री र दिगो बनाउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार तहमै वातावरणमैत्री भौतिक विकास निर्देशिका बनाएर कार्यान्वयन गर्न सकिन्छ ।

सामुदायिक सहभागिता परिचालन

मूलाधार सबैको साझा सम्पत्तिका साथै महत्वपूर्ण प्राकृतिक सम्पदा हो । यसको संरक्षण गर्नु सबैको साझा कर्तव्य हो र त्यसमा सामूहिक प्रयास जरुरी हुन्छ । स्थानीय सरकारले मुहान संरक्षणलाई विकेन्द्रीकृत अवधारणा लिएर स्थानीय समुदाय एवम् उपभोक्ता सबैको सहभागितामा अभियानका रुपमा अघि बढाउनुपर्छ । मुहानका फाइदा बेफाइदा स्थानीय बासिन्दाले लिने समुदायको नेतृत्वमा मुहान संरक्षण र पुर्नभरणका काम हुनु जरुरी छ ।

त्यसमा स्थानीयको सहभागिता र नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका पक्षलाई विशेष ध्यान दिनुपर्छ । मूलाधार व्यवस्थापनको संरचनामा महिला तथा पिछाडिएका वर्गको उपस्थिति निर्णायक हुनुपर्छ । किनकि स्थानीय समुदायले नेतृत्व गरेका प्रयासले आसन्न विपदहरुलाई रोका धेरै उदाहरण छन् । सामुदायिक वन त्यसमध्ये एक हो । यदि स्थानीय सरकारले अनुकुल वातावरण बनाउने हो भने उपभोक्ताहरु स्थानीय सरकारसँग सहकार्य गर्न र मूलाधार संरक्षण अभियानको नेतृत्व समेत गर्न सक्छन् ।

आर्थिक स्रोत तथा समन्वय

वन, भू तथा जलाधार, जलस्रोत, भूमिगत जल, खानेपानी तथा सरसफाइ, कृषि, ग्रामीण तथा शहरी विकास जस्ता क्षेत्रमा कार्यरत सङ्घीय तथा प्रादेशिक निकाय र स्थानीय सरकासँग उपलब्ध साधन स्रोतलाई मूलाधार संरक्षणमा उपयोग गर्नका लागि समन्वयात्मक पहल हुन जरुरी छ । साथै पुनर्भरणका क्षेत्र एवम् संरचनाहरुको मर्मत सम्भार तथा संरक्षणमा उपभोक्ताहरुको योगदान पनि अति आवश्यक छ । वातावरणीय सेवाको भुक्तानी जस्ता वित्तिय औजारको उपयोग गरेर पूनर्भरण क्षेत्रमा बस्ने समुदाय र जलस्रोतको उपयोग गर्ने समुदायका बीच सहकार्य स्थापित गर्न र मूलाधार क्षेत्रको दिगो संरक्षण गर्ने पद्धति विकास गर्न सकिन्छ ।

अध्ययनमा नेपाल पानी सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक डा. चिरञ्जीवी अध्ययनमा भट्टराई, फाउन्डेसनका अध्यक्ष अध्यक्ष एवं मौसम, जल तथा विपद् जोखिम व्यवस्थापनविद् ङमिन्द्र दाहाल, फाउन्डेसनकै अनुसन्धानकर्ताद्वय भूमिका थापा र सुष्मा तिवारी तथा इसिमोडका हाइड्रोलोजिकल एनालिस्ट एवं जलविज्ञ माधव ढकाल संलग्न हुनुहुन्थ्यो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार