खानेपानीमन्त्री चौधरी सुटुक्क मेलम्ची खानेपानी आयोजना स्थलमा, समयमै काम सके कर्मचारीलाई पुरस्कृत गर्ने बचन

सिन्धुपाल्चोक : काठमाडौबाट खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजना स्थल अम्बाथान पुग्दा कतिपय कर्मचारीले ओछ्यान छोड्नै पाएका थिएनन् । बिहानै स्थलमार्गबाट काभ्रेको धुलिखेल, पाँचखाल हुँदै आउँदै हुनुहुन्छ भन्ने सुँईकोसम्म पाएका कर्मचारीले खासै पत्यार नै गरेका थिएनन् । बिहान सातै बजे मेलम्ची खानेपानी आयोजना स्थलमा खानेपानी मन्त्रीको आगमन भएको देखेपछि भने मेलम्ची आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका श्रमिक र स्थानीय पत्याउन विवश भए । खानेमन्त्री चौधरी मेलम्चीको बाँधस्थल पुग्दा पछि–पछि सुरक्षाकर्मी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पनि हुनुहुन्थ्यो ।

स्थलगत निरीक्षणमा जानुभएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माण कार्य सन्तोषजनक ढङ्गले गरिरहेको बताउनुभयो । उहाँले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौँको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य समयमै भए सबै जनशक्तिलाई पुरस्कृत गर्ने समेत बताउनुभयो । उहाँले जिम्मेवारी पूरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी दिनुभयो ।

त्यस क्रममा उहाँले अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्बर सुरुङको, वैकल्पिक डाइभर्सन, सुरुङ गेट, ९ नम्बर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुङ्गा र गेगर हटाउने कार्यको स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो ।

ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुङ्गाको थुप्रो हटाउने र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौँमा अस्थायी रूपमा पानी पथान्तरण गर्ने १ नम्बर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन ।

ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठुल्ठूला ढुङ्गा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फोड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुङ्गा विस्फोट गरी फोड्ने तयारी भएको बताउनुभयो ।

कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौता अनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजना अनुसार परिणाम देखिने गरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिनुभएको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाले बाँध स्थलमा १९ जना इन्जिनियर खटाएर काम गर्दै आएकोे छ ।

गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँध स्थल निर्माण गरी आगामी चैत्र भित्रै काठमाडौ उपत्यकामा खानेपानी ल्याउन निर्माण कार्य भईरहेको छ । मन्त्री चौधरीले केही दिन अघि भएको एक कार्यक्रममा समेत काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई मेलम्ची खानेपानीको वितरणका लागि तयारी थाल्न निर्देशन दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार