
काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । वैशाख ११ गते देखि मीनभवनबाट मेलम्चीको पानीको पुनः वितरण सुरु गरेको केयूकेएलले आज देखि पूर्ण क्षमतामा सबै सञ्जालमा पानी पठाउन थालेको हो । पहिलो दिन ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा पठाएको थियो । त्यसपछि दैनिक वितरण परिमाण बढाउँदै बढाउँदै लगेको केयूकेएलले आज देखि मेलम्चीबाट ल्याउन सकिने जत्ति पानी ल्याएर वितरण सञ्जालमा पठाएको हो ।
१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्ने केयूकेएलका प्रवक्ता प्रकाश राईले बताउनुभयो । मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज, पानीपोखरी, क्षेत्रपाटी, त्रिपुरेश्वर लगायत शाखा तथा वितरण केन्द्र मार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।
प्रवक्ता राईका अनुसार आजदेखि सबै क्षेत्रमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ । ‘आजदेखि मेलम्ची खानेपानी विकास सिमितिले १७ करोड लिटर पानी नै प्रणालीमा पठाउनेछ, अब वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण हुन्छ ।’उहाँले भन्नुभयो ।
नयाँ वितरण लाइन मार्फत पानी बाँड्न सुरु गरेपछि पनि ठाउँ(ठाउँमा थप लिकेजको समस्या देखिएको छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण भइरहेको राईले बताउनुभयो । ‘गत वर्षजस्तो धेरै समस्या त देखिएको छैन, कतिपय समस्या देखिएका ठाउँमा मर्मत गरिरहेका छौं ।’ उहाँले भन्नुभयो ।


4254 पटक हेरिएको 

