“लाहुरे सहर” धरानको मेयरमा चुनिए खानेपानी र सुशासनका अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

  विनोद धौलागिरि  560 पटक हेरिएको

धरान : लाहुरेहरुको नगर र नेपालको पूर्वी स्वीटजरल्याण्डको रुपमा चिनिने धरानमा खानेपानी, प्राकृतिक श्रोत संरक्षण र सुशासनका अथक योद्धा हर्क साम्पाङ नगर प्रमुख चुनिनुभएको छ । यस अघिको उपनिर्वाचनमा पानीको बोतल चुनाव चिन्ह लिएर नगर प्रमुखको उम्मेदवारी दिएका हर्क साम्पाङ धरान उपमहानगरपालिकाको उपनिर्वाचनबाट मेयरमा निर्वाचित हुन नसके पनि अहिलेको स्थानीय तहको निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर सबैलाई खवरदारी गर्दै धरान उपमहानगरपालिकाको बागडोर सम्हाल्ने सिटमा पुग्नुभएको हो ।

आइतबार घोषित मत परिणाम अनुसार निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किशोर राईलाई ४७६२ मतान्तरले पराजीत गर्दै साम्पाङ नगर प्रमुख चयन हुनुभएको हो । साम्पाङले २०८२१ मत ल्याउँदा एमालेकी मञ्जु भण्डारीले १२८२५ मत हासिल गर्नुभएको छ ।

नगर उपप्रमुखमा गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा २०५१० मतका साथ निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बूले १७६०६ मत हासिल गर्नुभएको छ ।

“स्थानीय निर्वाचनमा स्थानीय सरोकारका सवाल उठान गर्ने इमान्दार व्यक्तिलाई जनताले जीताउँछन् भन्ने कुराको उदाहरणको रुपमा मेरो विजयलाई लिएको छु”, गणना गर्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धीसँगको अग्रता बढी भै गणितीय रुपमा विजयी भैसकेपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित नगर प्रमुख साम्पाङले भन्नुभयो, “हामीले अहिलेसम्म उठाएका खानेपानी, वातावरण संरक्षण, प्राकृतिक श्रोतको संरक्षण, सुशासन र जीविकोपार्जनका सवाललाई निर्वाचनमार्फत मतदाताले अनुमोदन गरिदिनुभयो ।”

पानीको सवालले जित्यो समृद्ध धरानवासीको मन

धरान आफैमा समृद्ध नगर हो । धरानेहरुको वैदेशिक सहरहरुमा राम्रै पहुँच छ । धरानेहरुले विदेशी विकासको गति, दिशा र तीव्रता समेत नजिकबाट नियालेका छन् । धरानेहरुले विभिन्न देशमा निर्वाचनका समयमा दलहरु र उम्मेदवारले व्यक्त गर्ने प्रतिवद्धता र त्यसको कार्यान्वयनको तह समेत हेर्न बुझ्न पाएका छन् ।

बोक्सी खोलामा रहेको असुरक्षित स्थानबाट धरानका लागि पानी लगिदै

धरानको कूल जनसंख्यामध्ये ३१ प्रतिशत अहिले पनि धरानबाहिर छन् । कूल जनसंख्याको ६७.५५ प्रतिशत कुनै न कुनै पेशा व्यवसायमा आवद्ध रहेका छन् । ८२.८७ प्रतिशत साक्षर छन् । उच्च माध्यमिक तहसम्म महिला साक्षरता समेत पुरुष समान छ । मिश्रित बसोबास रहेको पूर्वी पहाडी सहर धरानमा स्वास्थ्य, शिक्षा, यातायातको राम्रो प्रवन्ध छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इञ्जिनियरिङ क्याम्पस लगायतका नाम चलेका स्वास्थ्य र शिक्षा प्रतिष्ठान रहेका छन् । गोर्खा वेलफेयर ट्रष्टको कार्यालय धरानमा नै छ, जसले लाहुरे परिवार र सामाजिक विकासलाई जोडिदिएको छ । खाँचो छ त केवल : पिउने सुरक्षित पानीको । हर्क साम्पाङ यस्तो एकमात्र प्रतिनिधि नाम बनेको छ, जसले निरन्तर पानी र सुशासनको मुद्धामा सामाजिक अभियान सञ्चालन र पैरवी गरिरहेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकामा तत्कालीन नेकपा एमालेले नगर प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । तत्कालीन नगर प्रमुख तारा सुब्बाको असामयिक निधनपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तिलक राई निर्वाचित हुनुभयो ।

तत्कालीन नगर प्रमुखको निधनपछि कार्यवाहक नगर प्रमुखको रुपमा उपप्रमुख मञ्जु भण्डारीले कार्यकाल सम्हाल्नुभएको बेलाको अनुभव समेत धरानेहरुले मनमा राखेका थिए ।

“हामीले एमालेले कस्तो गर्‍यो भन्ने पनि हेर्‍यौं, काँग्रेसले कस्तो नतिजा दियो भन्ने पनि हेर्‍यौं”, धरान उपमहानगरपालिका वडा नं. ५ का प्रदीप खालिङ भन्नुहुन्छ, “आफैले बोलेको बचनमा कोही पनि पक्का भएको देखिएन । त्यसैले अहिले हर्क साम्पाङ सबैको विकल्पको रुपमा चुनिनुभयो ।”

प्रत्येक स्थानीय तह आफैमा स्वायत्त सरकार हुन् भन्ने कुरा दलहरुले हेक्का राख्न नसक्दा नगर प्रमुखमा दलहरुका उम्मेदवार पछि परेको खालिङ बताउनुहुन्छ । “स्थानीय तहको निर्वाचनमा केन्द्रका घोषणापत्र देखाउने र आश्वासनका ठूलाठूला पोका बाँड्न थाल्दा स्थानीय बासिन्दा चिढिए”, सिरानटोलका दिलमाया मगरको भनाइ छ, “जसले बोलेको कुरा पूरा गर्छ, उसैलाई भोट दिइयो ।”

हर्क साम्पाङ सामाजिक सुधारमा निश्चित सवालको उठान गर्ने र त्यसलाई टुंगोमा पुर्‍याउनका लागि निरन्तर लागिरहने वानी भएको व्यक्तिको रुपमा धरानेहरुले चिन्दछन् ।

दिनदिनै भोग्ने समस्याले तान्यो मन र मत

धरान उपमहानगरका लागि खानेपानीको समस्या दैनिक भोग्नुपर्ने जनताको मुख्य सवाल हो । धरानका ९४ प्रतिशत घरधुरीमा धाराको पहुँच छ, तर कुनै पनि धारामा चाहिएजति पानी आउँदैन । आउने पानी पनि शुद्धीकरण नगरी पिउन नसकिने अवस्थामा छ ।

“हामीकहाँ आउने पानी शुद्धीकरण नगरीकन पियो भने सिधै विरामी परिन्छ”, धरान–५ कुलुङचोकका इन्द्रबहादुर राई भन्नुहुन्छ, “त्यही पानी पनि दिनको तीन पटक एक डेढ घण्टामात्र आउँछ ।”

सेउती खाेलाबाट सडक छेउमा नै इन्टेक बनाएर धरानमा पानी लगिंदै

धरानमा उपलब्ध भैरहेको पानी पनि गुणस्तरीय छैन । प्रतिलिटर डेढ रुपैयाँको दरले जारको पानी किनेर पिउनुपर्ने वाध्यताले धरानबासीको मत एकोहोराएको टिप्पणी गरिएको छ ।

राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार पिउने पानीमा कोलिफार्म ब्याक्टेरिया 0 MPN/100 ML हुनुपर्छ, जुन धरानको देवीगाउँ खानेपानी आयोजनाको पानीमा १७५ MPN/100 ML रहेको छ । यो एक वर्ष अघिको तथ्यांक हो । ५ वटा खोलाको ६ स्थानबाट संकलन गरी ल्याइएको सो पानी प्रशोधन नगरी उपभोक्तालाई वितरण गरिएको छ ।

एशियाली विकास बैंकको ऋण र अनुदान तथा धरान उपमहानगरपालिकाको समेत सहलगानीमा निर्माण गरिएको करिब २ अर्ब २० करोड रुपैयाँको धरान खानेपानी आयोजनाबाट आपूर्ति हुने पानी समेत गुणस्तरीय हुन नसकेको उपभोक्ताको गुनासो छ । सन् २०३१ सम्म धरानका सबै घरधुरीमा कम्तिमा १६ देखि २४ घण्टासम्म नियमित पानीको आपूर्ति गर्ने भनिए पनि आयोजना निर्माण भएको पाँच महिना नपुग्दैदेखि पानीको आपूर्ति कम हुँदै गएपछि धरानबासी झनै आक्रोशित बने । शुद्धीकरण गरिएको स्वच्छ पानी उपलब्ध गराउने भनिए पनि पानी शुद्धीकरण नगरी उपलब्ध गराउने गरेको गुनासो उपभोक्ताको छ ।

लाहुरेको सहर र नेपालमा पूर्वको हङकङ तथा पूर्वको स्विटजरल्यान्ड उपनामले चिनिए पनि पर्याप्त पानी नभएकै कारण हिनतावोधको दैनिकी जीउनुपरेको तीतो यथार्थबीच साम्पाङले उठाइरहेका सामाजिक मुद्धाहरु स्थानीय निर्वाचनमार्फत अनुमोदन भएका छन् । नतिजा, खानेपानी अभियन्ता हर्क साम्पाङ भारी मतान्तरसाथ धरान उपमहानगरपालिकाको नगर प्रमुख चुनिनुभएको छ ।

क्रान्तिकारी विचार, निरन्तरको अभियान

हर्क साम्पाङ एकाएक निर्माण भएको सामाजिक छवि होइनन् । खानेपानी संस्थानलाई विस्थापन गरी गठन गरिएको धरान खानेपानी बोर्ड र वनको बीचबाट तानिएका पानीले धरानको खानेपानीको समस्या दीर्घकालका लागि समाधान गर्न सक्तैन भन्ने हर्क साम्पाङको एकोहोरो अठोट त्यतिबेला सही सावित भयो जतिबेला एशियाली विकास बैंकको ऋणमा निर्माण गरिएको परियोजना निर्माण सम्पन्न भएपछि पनि धरानबासीलाई पानी पुर्‍याउन उपमहानगरपालिका सफल भएन । त्यसपछि हर्क साम्पाङको “उग्र” मानिने विचारलाई “क्रान्तिकारी, परिवर्तनकारी र रुपान्तरणकारी” मान्न थालियो ।

सुरुदेखि नै साम्पाङको धारणा जमिनबाट होइन कि, सप्तकोशीबाट पानी ल्याउन सकेमा मात्र धरानका लागि दिगो समाधान हुन सक्छ भन्ने थियो । एशियाली विकास बैंकको ऋण धरानमा पानी ल्याउनका लागि नभै भ्रष्टाचार गर्नका लागि लिइएको हो भन्ने धारणालाई धरानबासीले त्यतिबेला सही ठाने जतिबेला खानेपानी आयोजना सम्पन्न भएर पनि पानी सुचारु हुन सकेन ।

उग्र, अराजक र आक्रामक मान्दै पटक पटक प्रशासनले पक्राउ गर्दा पनि ठूलो आवाज नउठाउने धरानबासीले अब भने हर्कको पक्षमा बोल्न थाले ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितीका विरुद्ध नागरिक समाजले थालेको आन्दोलनमा हर्कको नेतृत्व रह्यो । सर्दु जलाधार क्षेत्र र सेउती क्षेत्रमा भएको उत्खनन्को विरुद्ध आवाज उठाउँदा पक्राउ पर्नुका साथै आक्रमण समेत भोग्नुपरेका हर्कका कदम सानातिना अवरोधले रोकिएनन् ।

संरचनागत सुधार र नीतिगत सुशासनको पक्षमा सधैं दृढ उभिने हर्क साम्पाङको परिवर्तनकारी सोंचले अघिल्ला निर्वाचनहरुमा ‘कम्युनिष्ट’ मा जाने मतलाई तान्न सफल भयो ।

बलियो नैतिक धरातल

अहिलेको जितको पछाडि हर्क साम्पाङका प्रतिस्पर्धीहरुको विवादास्पद छवि पनि सहयोगी भएको भनाइ छ महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोहीको । एमालेको लालकिल्लाको रुपमा चिनिएको धरानमा कार्यवाहक नगर प्रमुख रहँदा नगरपालिकालाई पार्टी प्यालेसजस्तो बनाएको, भोजभतेर गरेको, सरकारी कर्मचारीलाई आफ्नो घरमा भान्छेको रुपमा काममा लगाएकोजस्ता आरोप निवर्तमान नगर उपप्रमुख र हाल एमालेबाट नगर प्रमुखका उम्मेदवार मञ्जु भण्डारीमाथि लागेको थियो ।

सेउती खाेलामा खुला बगेकाे पानी धरानमा लगिने स्थान

यसैगरी, गठवन्धनका उम्मेदवार किशोर राईलाई समेत धरान रंगशाला निर्माणको समयमा भ्रष्टाचारको आरोप लाग्यो, जुन राइले अहिले समेत खेप्नुपरेको छ ।

आफ्ना बलिया दुई प्रतिस्पर्धीको नैतिक धरातल नै हर्क साम्पाङका लागि चुनाव जित्ने अर्को एउटा हतियार बन्यो । त्यसमाथि, काठमाण्डौका सेलिब्रेटी उम्मेदवार बालेन्द्र साहले नै प्राप्त गरेको लौरो चुनाव चिन्हले माहोल बनाउन झनै सहयोग मिल्यो ।

सर्दु जलाधार क्षेत्रको मुआब्जा पाइसकेपछि पनि भूमाफियासँग मिलेर जमिन हडप्ने प्रवृत्तिविरुद्ध थालिएको ‘जनसरोकार मञ्च’ नेतृत्वको अभियानमा जोडिएपछि हर्क साम्पाङको सामाजिक छवि समेत निर्माण हुँदै गयो । कुनै पनि लाभको पदमा अहिलेसम्म नजोडिएका कारण साम्पाङको नैतिक चत्रिमा खोट लगाउने ठाउँ प्रतिस्पर्धीहरुले समेत भेटाएनन् ।

“दलहरुले जनसरोकारका सवालमा गरेको लापरवाही र आफूलाई शासक ठानेर पटक पटक झुठा प्रतिवद्धता गर्ने रोगका कारण हर्कको उदय छिटो भयो”, राजनीतिक विश्लेषण समेत गर्ने सहप्राध्यापक डा. राजेन्द्र शर्माको भनाइ छ, “सर्दु जलाधार क्षेत्र, नगरपालिका, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चुरे लगायतका सवालमा साम्पाङले उठाएका सवाललाई जनताले अनुमोदन गरिदिए ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार