काठमाडौ : काठमाडौं उपत्यकाका केही व्यक्तिमा हैजा पुष्टि भएपछि हैजा रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन थालिएको छ । यस्तै उपाय मध्ये काठमाडौको कालिमाटी चोकको कोलेश्वर तर्फ मोड्ने ठाउँमा ‘बुथ क्याम्प’ राखिएको छ ।
काठमाडौ महानगरपालिकाको सहकार्यमा युनिसेफ नेपाल र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ‘बुथ क्याम्प’ राखेको हो । हैजा फैलिन नदिन जनस्तरसम्म सचेतना प्रवाह गर्ने उद्देश्यले बुथ क्याम्प राखिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम अफिसर विभोर महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘बुथ क्याम्प’ मा हैजा रोकथाम सम्बन्धी सन्देश डिस्प्ले गरिन्छ भने खानेपानीको परिक्षण गरी रिपोर्ट दिईन्छ । बर्षायाममा खानेपानीका स्रोतहरु प्रदुषण हुनसक्ने अवस्था, खानेपानीमा दिसामा पाईने सुक्ष्म जीवाणु प्रवेश हुने माध्यम र खानेपानी शुद्धिकरणका विधिहरुका बारेमा जानकारी गराउने गरिएको उहाँले बताउनुभयो ।
बुथमा आएर जानकारी हासिल गर्न चाहनेहरुका लागि झाडापखाला र हैजा हुनसक्ने कारणबारे सूचना, शिक्षा तथा सञ्चार सामग्रीहरु मार्फत जानकारी गराउने, पम्प्लेट, पोष्टर वितरण गर्ने, क्लोरिन झोल बनाउने र क्लोरिनेसन गर्ने तरिकाबारे जानकारी गराउने गरिएको प्रोग्राम अफिसर महर्जनले बताउनुभयो ।
फोटो : मेरिना महर्जन/एन्फो