खानेपानी विभागको महानिर्देशकमा दुवाडी, १५ सहसचिवको एकैपटक सरुवा

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकमा सहसचिव रमाकान्त दुवाडी नियुक्त हुनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाई खानेपानी तथा ढल व्यवस्थापन विभागमा सरुवा गरिएको हो ।

यस अघि उहाँले मेलम्ची खानेपानी विकास समितिमा उप कार्यकारी निर्देशक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागमा उपमहानिर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

वर्तमान महानिर्देशक सूर्यराज कँडेल भने उमेर हदका कारण निकट भविश्यमै अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । । कँडेलले २०७८ फागुन १८ गतेदेखि विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव रमाकान्त दुवाडी सहित विभिन्न निकायमा कार्यरत १५ जना सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने सहरी विकास मन्त्रालयका सहसचिव विष्णु प्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेश सरुवा गरिएको छ ।

अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय समावेशी आयोगका शिव कुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ विराटनगर अन्तर्गत सरुवा गरिएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका कृष्ण प्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुर, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीलाई पोखरा महानगर र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार