
पोखरा : कास्कीको मादी गाउँपालिकामा खानेपानीको पाइप चोरी गरेको आरोपमा एक वडा सदस्य सहित ४ जना पक्राउ परेका छन् । मादी गाउँपालिकाको थाक खानेपानी तथा सरसफाइ आयोजनाको पाइप चोरी गरेको आरोपमा मादी गाउँपालिका १ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङ सहित ४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । वडा सदस्य गुरुङ माओबादी केन्द्र मादीका वाईसीएल उपाध्यक्ष समेत हुन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी गठबन्धनको तर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।
खानेपानी आयोजनाको करिब १४ लाख रुपैयाँ बराबर पाइप चोरी भएको प्रारम्भिक अनुमान छ । यस अघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो । अहिले चोरी भएको पाइप पुरानो नभई प्रयोगमै आइरहेको पाइप भएको उहाँको भनाइ छ ।
प्रहरी नायब उपरिक्षक तिवारीका अनुसार उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरिएको हो । उनीहरु उपर थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ । उक्त पाइप के प्रयोजनका लागि चोरिएको थियो भन्ने अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।


810 पटक हेरिएको 

