चुनाव अघि नै मेलम्चीको पानी काठमाडौ ल्याउने तयारी

  वास खबर समाचारदाता/सुर्खेत  1259 पटक हेरिएको


काठमाडौ : सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै मेलम्चीको पानी काठमाडौ ल्याईने भएको छ । खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा–धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको हो ।

मेलम्चीको बाढी पहिरोबाट खानेपानी आयोजनामा हुन सक्ने क्षतिबाट जोगाउन भन्दै गत १७ जेठमा मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरिएको थियो । गत बर्ष २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि अस्थायी संरचना निर्माण गरी मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो ।

वर्षा हुने क्रम अझै नरोकिएपछि कार्यक्षेत्र पुगी अध्ययन एवं अनुगमनको कार्य प्रभावित भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो । ‘अहिले वर्षा सकिएको छैन, बाटो अवरुद्ध भएका कारण फिल्ड जान पनि कठिन छ । अब वर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा मार्फत ल्याई वितरण थाल्ने योजना छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार हेडवर्क्स (बाँधस्थल) सम्म पुग्ने बाटो निर्माणको प्रक्रियामा रहेको छ भने निर्माण सम्पन्न भएपछि काम अगाडि बढाउन सजिलो हुनेछ । तटीय क्षेत्रमा अझै पहिरोको जोखिम रहेको र लेदो सहितको बाढीको जोखिम पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।

यस बर्ष पनि बाढी–पहिरोले थुपारेको लेदोले सबैभन्दा बढी हेडवर्क्सका संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । आयोजनाका अनुसार एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको भौगर्भिक अवस्थाबारे अध्ययन गरेको छ । एडीबीको प्रतिवेदन अनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु गर्नुपर्ने प्रवक्ता पन्तले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार