
आईभोरी कोष्ट : अफ्रिकाको आईभोरी कोष्ट स्थित अविद्जानमा भईरहेको खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न बिषयगत समूहमा भएका छलफलहरुमा नेपालले प्रतिनिधित्व गरिरहेको छ ।
दक्षिण एसियाली मुलुकहरुमा सरकारी स्तरबाट शहरव्यापी समावेशी सरसफाइ (CWIS) लाई बढावा दिन भईरहेको प्रयासका बिषयमा गरिएको छलफलमा नेपालको तर्फबाट प्रमुख बक्ताको रुपमा रहेका खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल ईन्जिनियर प्रभात श्रेष्ठले नेपालले CWIS अवधारणालाई बढावा दिनका लागि भईरहेका प्रयासका बिषयमा जानकारी गराउनुभयो ।
उहाँले नेपालले सबै नेपालीको घर घरमा आधारभूत स्तरको सरसफाइ सुविधा पुर्याउन सरसफाइ गुरुयोजना निर्माण गरी त्यसको सफल कार्यान्वयनबाट सफल भएको प्रसंग स्मरण गराउँदै CWIS को सफल कार्यान्वयनका लागि पनि सरकारले निर्देशिका निर्माण गरेको जानकारी गराउनुभयो ।

खानेपानी मन्त्रालयले करिब दुई बर्ष अघि नै शहरव्यापी समावेशी सरसफाइ निर्देशिका (सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन गाईडलाईन) को मस्यौदा तयार पारिसकेको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ र वाटर एडका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीले निर्देशिकाको खाका तयार पारेको हो ।
दक्षिण एसियाली मुलुकहरुमा CWIS को बढावा दिनका लागि भारतकोे खानेपानी आपूर्ति तथा ढल समितिका पि.के.मोहपात्र र बंगलादेशका तुसार मोहोन साधु खानले पनि आ आफ्नो देशमा सरकारी तवरबाट भईरहेका अभ्यासका बिषयमा जानकारी गराउनु भएको थियो ।
यस्तै CWIS सम्बन्धी कार्यक्रमहरुको समन्वयात्मक कार्यान्वयनबाट आएको प्रभावका बिषयमा गरिएको बिषयगत छलफलमा नेपालको तर्फबाट वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की कार्यकारी निर्देशक एवं CWIS एलायन्स नेपाल (CWISAN) की सदस्य भावना शर्माले नेपालमा सिबिसानमा १७ वटा संघसंस्थाहरुको सहभागिता रहेको जानकारी गराउनुभयो । नेपालको तर्फबाट प्रमुखवक्ता रहनुभएकी शर्माले एलायन्स भित्र नागरिक समाज, विकास साझेदार, दातृ निकाय, निजी क्षेत्र र मिडिया समेतको संलग्नताले प्रतिफल हासिल गर्न सहयोगी बनेको बताउनुभयो ।
उहाँले निजी क्षेत्रले मागको सिर्जना गर्ने, विकास साझेदार तथा नागरिक समाज र दातृ निकायको समन्वयात्मक भूमिका बाट मागको परिपूर्ति हुने र भएका क्रियाकलापहरु मिडिया मार्फत प्रकाशन/प्रसारण हुँदा यसले दिने नतिजा साँच्चिकै जनमुखी रहेको बताउनुभयो । उहाँले नेपालमा CWIS को कार्यान्वयनका लागि फरक फरक भूमिकामा रहेका एलायन्सका सदस्यहरुले खेल्ने भूमिकाको समग्र प्रतिफलले राम्रो नतिजा हासिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

दक्षिण एसियाली राष्ट्रहरु सम्मिलित उक्त सत्रमा उहाँ सँगै भारतको तर्फबाट अनिन्दिता मुखर्जी र बंगलादेशका अलाउद्दिन अहमदले पनि आफ्नो देशमा CWIS को कार्यान्वयन गरी सबै तह र बर्गमा सुरक्षित सरसफाइको सुविधा उपलब्ध गराउन भएको प्रयासका बिषयमा बोल्नु भएको थियो ।
सन् २०१६ मा भएको अल्टान्टा सम्मेलमा CWIS को अवधारणा विकास भएको थियो । त्यसपछि सन् २०१७ मा भएको Stockholm International Water Week मा यसको कार्यान्वयनका लागि आव्हान गरिएको थियो । सन् २०१८ मा भएको बेईजिङ एक्स्पोमा CWIS को कार्यान्वयनका लागि १ बिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाईएको थियो ।
यस्तै सन् २०१९ मा मनिलामा भएको कार्यक्रममा CWIS को सिद्धान्त बनेको थियो भने सन् २०२० मा CWIS को अवधारण सम्बन्धी प्रकाशन गरिएको थियो । त्यसपछि बल्ल २०२१ देखि मात्र CWIS को पाईलोट प्रोजेक्टको रुपमा विभिन्न देशमा यो अवधारणाको कार्यान्वयन गरिएको थियो ।
समावेशी सरसफाइ भनेको शहरका प्रत्येक व्यक्तिलाई सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवा प्रणाली प्रबर्द्वन गर्ने प्रद्धति हो । यो सरसफाइ प्रणाली विपन्न वर्गसम्म पुग्ने गरी बनाईएको हुन्छ भने सरसफाइ श्रृंखलाको सबै चरणमा सुरक्षित मानवमलमूत्रको व्यवस्थापनलाई सुनिश्चित गरिएको हुन्छ ।
विश्वका विभिन्न देशहरुले अंगीकार गर्दै आएको ऋध्क्ष्क् अवधारणा अफ्रिकी मुलुक सेनेगल र दक्षिण एसियाको बंगलादेशमा समेत कार्यान्वयन भईरहेको छ । ती दुई राष्ट्रमा स्लामिक डेभेलप्मेन्ट बैंक (IsDB) ले यो प्रणालीलाई कार्यान्वयन गरिरहेको वैंकका सिनियर स्यानिटेसन एक्स्पर्ट (Senior Sanitation Expert) विपिन डंगोलले बताउनुभयो । CWIS सुरक्षित सरसफाइको क्षेत्रमा विश्वव्यापी ज्वलन्त अवधारणको रुपमा विकास भईरहेको छ ।



756 पटक हेरिएको 

