मेलम्ची पुनर्स्थापना सँगै बर्षामा पनि मेलम्चीको पानी बन्द नहुने सम्भावना बढ्यो

कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ ‘जोखिम छ तर हामी रोकिदैनौं’

  पी.टी.लोप्चन  2348 पटक हेरिएको

काठमाडौ : सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्स्थापनाको निर्णय गर्न केही दिन मात्र ढिलाई गरेको भए काठमाडौबासीले ठूलो अनिष्ट भोग्नु पर्ने स्थिति आईसकेको थियो । असोज देखि तलब भत्ता बुझ्न नपाएका मेलम्चीका ६० भन्दा बढी कर्मचारीले मेलम्चीको पानी सुरुङमै पथान्तरण नगर्ने सम्मको तयारी गरिसकेका थिए ।

मेलम्चीलाई सम्भावित विपदबाट बचाउन सुरुङलाई ४ सय मिटर लम्ब्याउने र इन्टेकलाई अहिलेको स्थानबाट ६ सय मिटर माथि सार्ने समितिको योजना छ ।

साप्ताहिक टेलिभिजन कार्यक्रम ‘टक अफ द टाउन’ मा पत्रकार जगदीश खरेलसँग कुराकानी गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भन्नुभयो ‘लामो समयसम्म तलब बुझ्न नपाएका कर्मचारीको धैर्यता टुटिसकेको थियो । मेलम्चीको पानी नै बन्द गर्नुपर्ने अवस्था समेत आईसकेको थियो ।’

मेलम्ची खानेपानी विकास समितिको औचित्य कायमै रहेको निष्कर्षको आधारमा सरकारले ढिलै भएपनि पुनर्स्थापना गरेको छ । अघिल्लो सरकारले आर्थिक बर्ष २०७९/०८० को बजेट बक्तव्य मार्फत खानेपानी मन्त्रालय तथा मेलम्ची विकास समितिसँग कुनै छलफल र अध्ययन नै नगरी मेलम्ची खानेपानी विकास समिति अनाहकमा खारेजीको घोषणा गरेको थियो । समिति खारेजीको घोषणा पछि मेलम्ची खानेपानी विकास समितिले गर्ने काम कार्वाही रोकिएको थियो ।

मेलम्ची खानेपानी विकास समिति पुपुनर्स्थापना भएपछि अब मेलम्चीको बाँकी काम सम्पन्न गर्ने बाटो खुलेको छ । समिति व्युँतिएपछि काठमाडौबासीले बर्षायाममा पनि मेलम्चीको पानी उपभोग गर्न पाईने आशा पलाएको छ ।

यो बर्षामा मेलम्चीको पानी आउँछ त ?

मेलम्ची खानेपानी विकास समिति पुनःस्थापनाको विकल्प नदेखेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ ढिलो चाँडो समिति पुनःस्थापना हुनेमा विश्वस्त हुनुहुन्थ्यो । त्यसैले मेलम्चीलाई बाह्रै महिना सञ्चालन गर्ने बिषयमा विज्ञको सुझावलाई मनन गरी सोही अनुसार डिजाइन स्टिमेट तयार गरेर कार्यान्वयनको पखाईमा हुनुहुन्थ्यो ।

कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ ‘यो बर्ष त हामीले बर्षामा पनि निरन्तर पानी पठाउनुपर्छ भनेर मानसिक रुपमा तयारी थियो । डिजाईन स्टिमेट पनि फाइनल गरेर राखेका छौं । विकास समिति नै नभएपछि नीतिगत निर्णय हुन सकेन ।’

अब समिति सँग अवसर र चुनौती दुवै छ । बर्षा लाग्न दुई महिना मात्र समय बाँकी रहेको अवस्थामा समिति पुनःस्थापना भएको छ । द्रुत गतिमा काम गरेर बर्षायाममा पनि मेलम्चीको पानीलाई वितरण गर्न सके ठूलो सफलता हासिल हुनेछ । छोटो समय भएकाले सम्पन्न गर्न ठूलै चुनौती भए पनि कार्यकारी निर्देशक श्रेष्ठ उपलब्ध समयलाई अधिकतम उपयोग गरी बर्षामा पनि मेलम्ची बन्द गर्नु नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

कार्यक्रम ‘टक अफ द टाउन’ मा पत्रकार जगदीश खरेलसँग उहाँले भन्नुभयो ‘बर्षामा पनि मेलम्ची ल्याउनका लागि थप संरचना बनाउनुपर्ने हुन्छ । खोला नै खोतलेर संरचना निर्माण गर्नुपर्ने भएकाले मौसममा निर्भर हुनुपर्छ । प्रि मनसुन चाँडै भयो भने केही जोखिम छ, तैपनि हामी प्रयासरत छौं, हामी रोकिदैनौं ।’

४ सय मिटर सुरुङ लम्ब्याउने, इन्टेक सार्ने

मेलम्ची खानेपानी विकास समिति व्युँतिएपछि अब फुकाउनु पर्ने गाँठो केही बाँकी छैन । विकास समिति आफै अधिकार सम्पन्न संस्था भएकाले मेलम्ची खानेपानी आयोजनाको सवालमा आवश्यक निर्णय लिन सक्छ ।

दुई बर्ष अघिको बाढीले मेलम्ची खानेपानीमा ठूलो क्षति पुर्‍याएपछि दातृ निकाय एसियाली विकास बैंकले क्यानेडियन परामर्शदाता मार्फत गरेको अध्ययनले मेलम्चीको दिर्घकालीन व्यवस्थापनका लागि तीन वटा उपाय सुझाएको छ ।

परामर्शदाताले सुझाए अनुसार नै अल्पकालीन, मध्यकालीन र दिर्घकालीन समाधानको उपाय अबलम्बन गर्ने योजनामा छ, मेलम्ची खानेपानी विकास समिति । मेलम्चीलाई सम्भावित विपदबाट बचाउन परामर्शदाताले भने जस्तै मेल्म्चीको सुरुङलाई ४ सय मिटर लम्ब्याउने र इन्टेकलाई अहिलेको स्थानबाट ६ सय मिटर माथि सार्ने समितिको योजना छ ।

यी हुन् अबको बाटो

एसियाली विकास बैंक (एडीबी) ले क्यानेडियन परामर्शदाता मार्फत गरेको अध्ययनबाट तीन वटा उपाय अपनाउन सुझाव दिएको थियो ।

१. अल्पकालीन उपाय :

एडिबीले सुझाएको पहिलो उपाय ‘अल्पकालीन योजना’ अहिले कार्यान्वयन गरिरहेको छ । यस योजना अन्तर्गत इन्टेकमा स्थायी संरचना निर्माण नभए पनि अस्थायी तरिकाले पानी पथान्तरण गरी राजधानीमा पठाउन सकिने भनेको थियो । यो उपाय मनसुन सुरु नहुँदा सम्मका लागि मात्रै हो ।

२. मध्यकालीन उपाय :

मेलम्ची खानेपानी विकास समितिले अब कार्यान्वयन गर्न लागेको मध्यकालीन उपाय हो । यो उपाय अन्तर्गत अहिलेकै इन्टेक निर्माण गरिएको स्थानमा थप संरचना बनाएर बाह्रै महिना पानी ल्याईनेछ । तर यो इन्टेक सारेर सञ्चालनमा नआउँदा सम्मका लागि मात्र हो ।

एडिबीले अहिलेको इन्टेक निर्माण गरिने ठाउँ उपयुक्त नभएको बताएकाले त्यहाँबाट इन्टेक सार्नुपर्ने र त्यो अवधिसम्मका लागि केही संरचना निर्माण गरी बाह्रै महिना पानी ल्याईने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । मध्यकालीन उपायका लागि एडिबीले अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाईसकेको छ ।

३. दीर्घकालीन उपाय :

दीर्घकालीन उपाय भनेको दुईबर्ष अघिको जत्रै बाढी, पहिरो आए पनि संरचनामा कुनै पनि क्षति नपुग्ने गरी बनाउने योजना हो । यसका लागि अहिलेको हेडवर्क्स भन्दा करिब ५/६ सय मिटर माथि सर्कथली भन्ने ठाउँ पहिचान भईसकेको छ ।

यसका लागि अहिले भएको सुरुङलाई ४ सय मिटर जत्ति लम्ब्याउनुपर्ने र इन्टेकलाई करिब ६ सय मिटर माथि सार्नुपर्ने उहाँको भनाइ छ । ‘अघिल्लो बर्षको जस्तै ठूलो बाढी आयो भने पनि नपुरिने खालको छ । दुवै पट्टि कडा चट्टान भएको ठाउँ फेला परेको छ । माथिबाट लेदो आएपनि पास भएर जान्छ थुप्रिदैन’ उहाँले भन्नुभयो ।

 

याङरी र लार्केलाई सीधै सुरुङमा हाल्ने

दुई बर्ष अघिको ठूलो बाढीले मेलम्ची खानेपानीको संरचनामा क्षति पुर्‍याएपछि याङ्री र लार्केको पानी थप गर्ने डिजाइन नै परिवर्तन गर्ने मनस्थितिमा पुगेको मेलम्ची खानेपानी विकास समिति ।

अघिल्लो डिजाइन अनुसार याङग्री र लार्केको ३४ करोड लिटर पानी अहिलेको हेड्वर्क्स रहेको स्थान अम्बाथान भन्दा ५ सय मिटर माथि झारेर अहिलेकै सुरुङबाट ल्याउने भन्ने थियो । मेलम्चीको सुरुङ लम्ब्याउने भएपछि याङ्री र लार्केलाई समेत सोझै सुरुङमा हालेर ल्याउने योजना भईरहेको उहाँले बताउनुभयो ।

‘पहिले जस्तै बाढी आईहालेछ भने पनि याङ्री र लार्केलाई कनेक्सन गरेर ५१ करोड लिटर पानी सीधै टनेलमा जोडिनेछ ।’ उहाँले भन्नुभयो । यसका लागि अनुमानित १५ अर्ब रुपैयाँ लागत लाग्ने र काम सुरु गरेको ३ देखि ४ बर्ष भित्र सम्पन्न हुने उहाँको दाबी छ ।

यसो गरे परिणाममुखी काम हुने

मेलम्ची खानेपानी विकास समिति आफैमा अधिकार सम्पन्न संस्था भएपनि सबैको सहयोगको उत्तिकै खाँचो रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

स्थानीय स्तरमा आयोजनासँग सम्बन्धित केही विवादहरु आईरहने भएकाले त्यसको समाधानका लागि सरोकारवाला पक्ष सबैको सहयोगको आवश्यकता रहेको उहाँको भनाइ छ ।

‘प्रोजेक्ट एरिया भन्न साथ प्रभावित एरियाका बासिन्दाले सामाजिक संरचनादेखि लिएर रोड, भवन सम्मको माग गरिरहेको हुन्छ । त्यसलाई सम्बन्धित विभाग वा मन्त्रालयले ध्यान दिएर समाधान गरिदिने हो भने हामी चाँडो रिजल्ट दिन सक्छौं’ उहाँले भन्नुभयो ।

अहिलेको अवस्थामा मेलम्ची खानेपानी आयोजनाले स्थानीयको सडक निर्माण, भवन निर्माण, सामाजिक उत्थान जस्ता कार्यक्रममा अल्झिरहनु परेको अवगत गराउँदै श्रेष्ठले भन्नुभयो ‘सडक सँग सम्बन्धित काम सडक विभाग, खानेपानीको सवालमा खानेपानी विभाग, भवनको सन्दर्भमा भवन निर्माण विभाग लगायत निकायले बार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिदिने हो भने हाम्रो कामको रफ्तार बढ्नेछ । सानातिना काममा अल्झिन थाल्यौ भने हामी अड्किन्छौं ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार