
जुम्ला : जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ स्थित बाजागाडा गाउँमा क्लोरिनेशन गरिएको पानी वितरण गर्न थालेको छ । बादाखोला खानेपानी योजना निर्माण सम्पन्न भएपछि बाजागाडा गाउँको १ सय ३६ घरधुरीमा शुद्धीकरण गरिएको पानी वितरण गर्न थालिएको हो ।
नेपाल सरकार, यूरोपियन यूनियन फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (SUSWA) को ७६ लाख ७७ हजार ८ सय ६७ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको परियोजना संयोजक सुमिता शाहीले बताउनुभयो। उहाँका अनुसार कुल लागतको २० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन् ।
यस वर्ष SUSWA परियोजना अन्तर्गत निर्माण भइरहेका २५ वटा खानेपानी योजनाहरु र २२ वटा संस्थागत शौचालयहरु मध्ये बादाखोला खानेपानी योजना सबैभन्दा पहिले सम्पन्न भएको योजना हो ।
परियोजनाले हिमा गाउँपालिकाभर,खानेपानी, सरसफाइ तथा स्वच्छता र दिगोपनाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकोछ । पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने लक्ष्य सहित भौतिक संरचना निर्माण, मर्मत संभार तथा जनचेतनामूलक कार्यक्रम भैरहेको संयोजक शाहीले बताउनुभयो ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (SUSWA) को लगानीमा निर्माण सम्पन्न भएको बादाखोला खानेपानी तथा सरसफाइ योजनाको नाको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उदघाटन गर्नुभयो । उहाँले हिमालाई खानेपानी, सरसफाइ तथा स्वच्छतामा जिल्लाकै अब्बल पालिका बनाउने गरी सुष्वा परियोजना मार्फत विभिन्न काम भईरहेको बताउनुभयो । आफ्नो पाँच वर्षे कार्यकालमा हिमाका घरघरमा एकघर, एकधारा पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।
“पालिकाका सबै वडामा एक घर, एक धारा र एक शौचालय,आनीबानी परिवर्तन लगायतका क्षेत्रमा परियोजनाले उल्लेख्य काम गर्नेछ । साथै पालिका पनि खानेपानी सरसफाइ क्षेत्रमा पर्याप्त लगानी गर्न तयार छ ।” उहाँले भन्नुभयो ।
जुम्लाकै नमुना खानेपानी आयोजनाका रुपमा बाजागाडामा घर घरमा पाइपलाइनबाटै पानी शुद्धीकरण भएर आएकोले पानीको किफायती प्रयोगमा ध्यान दिन स्थानीयलाई समेत आग्रह गर्नुभयो । सुष्वा परियोजनाका प्राविधिक विज्ञ नारायण सिंह खवासले सुष्वा परियोजना लागु भएका कर्णालीका २१ वटै स्थानीय तह मध्ये हिमा गाउँपालिकाले पहिलो ईनलाईन क्लोरिनेशन मार्फत शुद्धीकरण गरी घर घरमा पानी पुर्याएको बताउनुभयो ।
कर्णालीका अधिकांश नागरिक अझै दुषित पानी पिउन बाध्य छन् । सुष्वा परियोजना मार्फत साढे ५ वर्षमा ७ सयवटा योजना निर्माण हुने र त्यस मार्फत २ लाख ६२ हजार ५ सय नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ ।


1484 पटक हेरिएको 

