
काठमाडौ : बजार क्षेत्रमा सञ्चालित प्रायः सार्वजनिक शौचालयमा प्रयोगकर्ताले शुल्क नतिरी प्रयोग गर्न पाउँदैनन् । पिसाब फेरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ त पुरानै रेट हो । तर भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्र सञ्चालित सार्वजनिक शौचालयमा भने प्रयोकर्ताले शुल्क तिरिरहनु पर्दैन । प्रयोगकर्ताले निशुल्क प्रयोग गर्न पाउने त्यस्ता शौचालयको व्यवस्थापन गर्न नगरपालिकाले निश्चित मापदण्ड पूरा गर्ने गरी व्यक्ति वा संस्थालाई जिम्मा दिईएको छ ।
नगरपालिकाको वास शाखा प्रमुख सुरेन्द्र लामिछानेका अनुसार सार्वजनिक शौचालय सँगै व्यापारिक प्रयोजनका लागि सटर पनि निर्माण गरिएको छ । तिनै सटरमा व्यवसाय सञ्चालन गर्ने र शौचालयको सरसफाइ पनि गर्ने जिम्मेवारी तोकिएको व्यक्ति वा संस्थाको हुने उहाँले बताउनुभयो । ‘तर शौचालय प्रयोग गरेबापत प्रयोगकर्ताबाट कुनै पनि शुल्क लिन पाईदैन’ उहाँले भन्नुभयो ।
नगरपालिकाले मानिसहरुको धेरै आवतजावत हुने स्थानहरु चाँगुनारायण मन्दिर नजिकैको वसपार्क, वडा नम्वर ७ को मुहानपोखरी, वडा नम्वर ८ को कलमसी, नगरकोट लगायत क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरी बिजनेस मोडेलमा सञ्चालन गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नगरपालिका भित्र २१ हजार ५८८ घरपरिवारको बसोबास छ । ती मध्ये १ हजार ११० घरपरिवारको शौचालय ढल प्रणालीमा जडान गरिएको छ भने १७ हजार ३९२ घरपरिवारले चर्पी सँगै सेप्टिक ट्याङ्क बनाएका छन् ।
नतिजा अनुसार अझै पनि ९ हजार ९४१ घरमा खाल्डे चर्पी रहेको देखाएको छ । यस्तै ६५ घरपरिवारले सयुक्त शौचालय प्रयोग गर्दै आएको र ८० घरधुरीमा अहिलेसम्म पनि शौचालय नभएको जनगणनाको नतिजाले देखाएको छ । उक्त अवस्थालाई सुधार गरी नगरपालिकालाई स्वच्छ र सफा क्षेत्र घोषणा गर्न नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिरहेको छ ।
नगरपालिकाको साझेदार संस्था मध्येको एक, 500B सोलुसन्स प्रा. लि. ले गरेको एक अध्ययन अनुसार चाँगुनारायण नगरपालिकाको ९९.४ प्रतिशत घरमा शौचालय सुविधा पुगेको छ । ती मध्ये ४७ प्रतिशत घरले शौचालयको सेप्टिक ट्याङ्क नियमित खाली गर्दै आएका छन् ।
चाँगुनारायण नगरपालिकाले अब दिसाजन्य लेदो प्रशोधन केन्द्र समेत निर्माण गरी नगरपालिका भित्रको मानव मलमूत्र प्रशोधन गर्ने लक्ष्य लिएको छ ।


671 पटक हेरिएको 

