
दाङ : दाङको घोराही उपमहानगरपालिका–१९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पुर्याउने उद्देश्यले चार वर्ष अघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्यांकी पनि निर्माण भएको छ तर ट्यांकीसम्म पानी पुग्न सकेको छैन । योजना अलपत्रजस्तै छ । दम्ती खोलाबाट तीन चरणमा लिफ्टिङ गरेर पानी पाँचपोखरीस्थित ट्यांकीसम्म ल्याउनु पर्ने भए पनि बजेट अभावका कारण चार वर्षदेखि खानेपानी योजना पूरा हुन सकेको छैन ।
समयमै योजना सम्पन्न नहुँदा निर्माण भएको खानेपानी ट्यांकी नै चर्किएको स्थानीय दलबहादुर घर्तीमगरले बताउनुभयो । घरछेउमै खानेपानीको ट्यांकी बन्दा अब पानी बोक्नु पर्ने दुस्खका दिन जाने भएझैं लागे पनि लामो समयसम्म योजना पूरा नहुँदा आस पनि मर्न थालेको घर्तीले बताउनुभयो । ‘सुरुमा धमाधम काम भएको थियो, त्यो वर्ष खानेपानीको ट्यांकी पनि बन्यो तर त्यसपछि काम नै हुन सकेको छैन । जसले गर्दा घर अगाडि खानेपानीको ट्यांकी भए पनि पानी खान पाइएको छैन्,’ उहाँले भन्नुभयो ।
घोराही उपमहानगरपालिका–१९ मा जस्तै बंगलाचुली गाउँपालिका–६ का विभिन्न बस्तीमा पनि खानेपानी सुविधा पुर्याउने उद्देश्यले २०७५ सालमा बंगलाचुली खानेपानी योजना निर्माणको काम सुरु भयो । खानेपानी योजनाका लागि ट्यांकी निर्माणसँगै पाइप राख्ने काम भयो । चार चरणमा लिफ्ट गरेर पानी ट्यांकीसम्म पुर्याउनु पर्ने भए पनि बल्ल बल्ल ट्यांकीसँगै पहिलो चरणको काम सकिए पनि त्यसपछि उक्त खानेपानी योजनाको काम अघि बढ्न सकेको छैन । दुई वर्षभित्र निर्माण सक्नुपर्ने काम पर्याप्त बजेट नहुँदा चार वर्षसम्म पनि निर्माण हुन नसकेको स्थानीय बताउँछन् ।
दुई सय बढी खानेपानी योजनाको हालत उस्तै
पर्याप्त बजेट नहुँदा जिल्लाका दुई सय बढी खानेपानी योजना समयमा निर्माण हुन सकेका छैनन् । बजेट अभावकै कारण करिब ६/७ वर्षअघि सुरु भएका योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा अलपत्र पर्ने अवस्थामा छन् । कतिपय योजना निर्माण पूरा नहुँदै खानेपानीका लागि निर्माण गरिएका संरचना भत्किन थालेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा करिब ३२५ बढी खानेपानी योजना छन् ।
ती मध्ये करिब दुई सय खानेपानीका योजना पर्याप्त बजेट अभावका कारण समयमै निर्माण हुन नसकेका योजना रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर वसन्तकुमार दुलालले बताउनुभयो । उहाँका अनुसार तीन सय बढी योजनामध्ये ५३ वटाको ८० प्रतिशत, ३७ वटाको ५० देखि ८० प्रतिशत र ७६ वटा योजनाको करिब ५० प्रतिशत काम भएका छन् ।
तर बजेट अभाव, डुब्लिकेसन र कतिपय योजना पार्ने तर ठाउँ नै पत्ता नलाग्दा ११९ योजनाको काम नै सुरु नभएको सूचना अधिकारी दुलालले बताउनुभयो । ‘खानेपानीका लागि योजना छन्, तर लागत स्टिमेटअनुसार बजेट न्यून विनियोजन हुन्छ, जसका कारण योजनाको काम नै सुरु हुन सकेका छैनन् । त्यसमध्ये कतिपय योजना त कागजमा छन्, कुन ठाउँमा काम गर्ने पत्तै लाग्दैनन्,’ उहाँले भन्नुभयो । जिल्लामा संघीय सरकार अन्तर्गतका १०८ र प्रदेश सरकार अन्तर्गत २१२ वटा खानेपानी योजना छन् ।
प्रदेश अन्तर्गत सघन खानेपानी विकास कार्यक्रम अन्तर्गत २३१ वटा, खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्तर्गत पाँचवटा, सरसफाइ तथा ढल व्यवस्थापन कार्यक्रम चारवटा, खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा स्रोत संरक्षण कार्यक्रममा तीनवटा, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामा २४ वटा, खानेपानी तथा सरसफाइ सह लगानी कार्यक्रम अन्तर्गत एक वटा र तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत ५२ वटा खानेपानी योजना छन् ।
तीन सय बढी योजना मध्ये अधिकांस योजना करोड भन्दा माथिका रहे पनि बजेट विनियोजन गर्दा पचास हजार, एक लाखका दरले विनियोजन हुने गरेको छ । जसले गर्दा एउटै खानेपानी आयोजना सम्पन्न गर्न पनि दशकौं लाग्ने गरेको खानेपानी उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।


773 पटक हेरिएको 

