
दमौली: तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिरोले क्षति पुर्याएको छ । एक साता अघिको पहिरोले व्यास नगरपालिका–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा खानेपानी वितरण प्रभावित भएको छ ।
खानेपानीको मुहानको मुख्य पाइपलाइनको ५० मिटर जीआई पाइपमा क्षति पुगेको भादगाउँ खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार कार्यालयसँग समन्वय गरी पहिरो सफा गरी पाइप मर्मत गर्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘पाइप मर्मतको काम सुरु भइसकेको छ, केही दिन पानी वितरणमा समस्या आउँछ’उहाँले भन्नुभयो ।
पहिरोका कारण पुर्याएको क्षतिको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अनुगमन गर्नुभएको छ । खानेपानी संस्थाले त्यस वडाका दुई हजार ६८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ ।
समितिले चारवटा मुहानबाट प्रति सेकेण्ड कुल २० लिटर पानी संकलन गरी उपभोक्तालाई वितरण गरिरहेको छ । समितिले केही समय अगाडि नगर विकास कोषको सहयोगमा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । संस्थाले नगर विकास कोषसँग तीन करोड ८१ लाख ऋण लगानीका लागि सम्झौता गरेको हो ।
खानेपानी तथा सरसफाइ क्षेत्र सहलगानी आयोजना अन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरिएको अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम १० करोड ६७ लाख, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम तीन करोड ८१ लाख र पाँच प्रतिशत रकम ७६ लाख २१ हजार उपभोक्ता संस्थाबाट बेहोरिने अध्यक्ष दरैले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ ।
उक्त आयोजना निर्माण पश्चात् सन् २०२३ मा चार हजार २९२ घरधुरी र डिजाइन वर्ष सन् २०३३ मा ६ हजार ३७८ घरधुरीलाई मुहान स्रोत र सम्पवेल पम्पिङ मार्फत चौबिसै घण्टा खानेपानी पुर्याउने लक्ष्य छ ।


469 पटक हेरिएको 

