
पोखरा : पोखरा महानगरपालिका क्षेत्र भित्रको ढल व्यवस्थापनका लागि गुरुयोजना निर्माण गरिएको छ । आगामी सन् २०५० सम्ममा पोखरा महानगरपालिका भित्रको ढल व्यवस्थापन गर्ने गरी जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गुरुयोजना निर्माण गरिएको हो । ‘पोखराको फोहोरपानी व्यवस्थापनका लागि विकास रणनीति तथा गुरुयोजना’ बिषयक गोष्ठीमा यसबारे जानकारी गराईएको हो । गुरुयोजना अनुसार पोखरा ढल व्यवस्थापनका लागि करिब १ खर्ब १८ अर्ब बजेट आवश्यक पर्ने जाइकाको तर्फबाट याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडका टोली नेता कात्सुमी फुजीले जानकारी गराउनुभयो ।
सम्भाव्यता अध्ययनबाट प्राथमिकतामा परेका आयोजनाहरुको सरसफाइ र पानीको वातावरणीय सुधार गर्ने र खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, पोखरा महानगरपालिकाको फोहोरपानी व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरिएको हो ।
यसका लागि जनघनत्व तथा स्थानको आधारमा चरणबद्ध तरिकाले आयोजना कार्यान्वयन गर्दै लगिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार पोखरालाई पश्चिम, मध्य, हेम्जा र पूर्व गरी चार भागमा विभाजन गरेर फोहोरपानी व्यवस्थापनको काम कार्यान्वयन हुनेछ ।

पहिलो चरणमा लामाचौर देखि फेवाताल सम्मको फोहोरपानी व्यवस्थापनको काम गरिने र यसका लागि २३ अर्ब बजेट लाग्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकामा हालसम्म एकीकृत ढल प्रणाली निर्माण भएको छैन । हरेक घरको शौचालयमा जडित सेप्टिक ट्याङ्क भरिएपछि निजी क्षेत्रको सहायताबाट खाली गर्दै आएको र सार्वजनिक क्षेत्रबाट थोरै मात्र व्यवस्थापन भईरहेको महानगरपालिकाका ईन्जिनियर विवेक कुमार खत्रीले बताउनुभयो ।
रामसार महासन्धीमा समेत सूचीकृत रहेको फेवाताल सहित ९ वटा ताल तथा अन्य नदिको जल प्रदुषणको स्थिति बिग्रिएको अवस्था नभए पनि प्रारम्भिक चरणमै प्रतिरोधी उपायहरु अबलम्बन नगरे भविश्यमा जल प्रदुषण हुनबाट रोक्न नसकिने भएकाले महानगरपालिकाले फोहोरपानी व्यवस्थापन गर्न लागेको हो ।
हालसम्म यस्तो छ, पानीको गुणस्तर
♦ फेवाताल Chemical Oxygen Demand (COD) – १.२८ -७.८४ मिलिग्राम प्रति लिटर
♦ फेवाताल सम्म बग्ने फिर्के खोला Biological Oxygen Demand (BOD) ४५.५ मिलिग्राम प्रतिलिटर सुख्खा याममा
COS २-३ मिलिग्राम प्रति लिटर
♦ फेवाताल सम्म बग्ने सहरको नालाहरु : BOD: ९.२ – ५८.८ मिलिग्राम/लि.सुख्खा याममा
♦ सहर भएर बग्ने सेती नदी : BOD १.५-५.२ मिलिग्राम/लि.सुख्खा याममा
♦ भूमिगत जल NH4-N: ०.१ -०.३ मिलिग्राम/लिटर सुख्खा याममा

गुरुयोजनाको लक्ष्य :
पोखरा महानगरपालिकामा गरिएको आधार सर्वेक्षण अनुसार आधुनिक सरसफाइ सुविधा प्रयोग गर्ने एकल परिवार शून्य रहेको छ । यस्तै ढल निकासमा जोडिएका शौचालय भएको शहरी घरपरिवार पनि शून्य नै रहेको छ । गुरुयोजनामा आगामी २७ बर्षभित्र स्थलगत सरसफाइ वा ढल निकासमा जडान गरिने घरधुरी १०० प्रतिशत पुर्याउने लक्ष्य छ । गुरुयोजनाले सन २०५० सम्ममा ढल निकास क्षेत्रले मूलतया शहरी क्षेत्रलाई १०० प्रतिशत समेट्ने लक्ष्य राखेको छ ।
ढल व्यवस्थापनका लागि १ खर्ब १८ अर्ब बजेट आवश्यक
ढल व्यवस्थापन गर्न सन् २०५० सम्मको लागि १ खर्ब १८ अर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । फोहोरपानी व्यवस्थापन सम्बन्धी क्षमता विकास, फोहोरपानी प्रशोधनका अवयवहरु निर्माण तथा सञ्चालनका लागि उक्त बजेट प्रस्ताव गरिएको हो ।
हेर्नुहोस् कुन शीर्षकमा कति खर्च लाग्छ ?

गोष्ठीमा सहभागी विभिन्न वडाका वडाध्यक्षहरुले यत्ति ठूलो रकमको स्रोत के हो भनेर प्रश्न गरेका थिए । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, पोखरा महानगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा ढल व्यवस्थापन आयोजना कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका मेयर आचार्यले बताउनुभयो ।
खानेपानी तथा ढल व्यवस्थापनका उपमहानिर्देशक ई.रामकुमार श्रेष्ठले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि जाइकाले अनुदान सहयोग गर्न चाहेको र अन्य ढल व्यवस्थापनका संरचना निर्माणका लागि सहुलियतपूर्ण ऋण सहयोग गर्न चाहेको जानकारी गराउनुभयो । उहाँले पोखराको पूर्वी भेगमा नेपाल सरकारले पनि अध्ययन गरिरहेको र स्रोत सुनिश्चित गरी कार्यान्वयनको दिशामा अघि बढ्ने बताउनुभयो ।

‘नेपालमा फोहोरपानी व्यवस्थापन’ बिषयमा प्रस्तुतीकरण गर्दै उपमहानिर्देशक श्रेष्ठले खानेपानी र सरसफाइ क्षेत्रमा मानव मलमूत्रको किफायती व्यवस्थापनका लागि फोहोरपानी र दिसाजन्य लेदो दुवै एउटै संरचनामा प्रशोधन गर्ने प्लाण्ट निर्माण गर्नुपर्ने, विकेन्द्रित फोहोरपानी प्रशोधन प्रणाली, दुई खाल्डे चर्पी तथा प्रशोधन प्रणाली सहितको ढल निर्माण गरिनुपर्ने बताउनुभयो ।
यस्तै घरायसी एवं संस्थागत शौचालय जडित बायोग्यास प्लाण्ट निर्माण गर्नुपर्ने, बायोग्यास प्लान्ट सहितको विकेन्द्रित फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।
गुरुयोजनामा मानव मलमूत्र प्रशोधनका लागि यथाशीघ्र प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने र २०८७ साल सम्मको लागि अनुमानित २१० घनमिटर प्रतिदिन प्रशोधन गर्नेगरी निर्माण गर्नुपर्ने उल्लेख छ । ३३ वटा वडामा विभाजित पोखरा महानगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार ५ लाख १३ हजार ५०४ जनाको बसोबास रहेको छ ।
‘पोखराको फोहोरपानी व्यवस्थापनका लागि विकास रणनीति तथा गुरुयोजना’ बिषयक गोष्ठीमा पोखरा महानगरपालिकाका ३३ वटै वडाध्यक्षहरु, खानेपानी र सरसफाइ क्षेत्रमा कार्यरत विकास साझेदार, दातृ निकाय एवं विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको उपस्थिति थियो।



1209 पटक हेरिएको 

