बाढीले पाइप बगाउँदा खानेपानीको समस्या

बर्दिबास : चार दिनदेखि परेको अविरल वर्षाका कारण रातु लगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्‍याएका महोत्तरी जिल्लाको उत्तरी भेगका बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

बर्दिबास–३ स्थित स्थानीय वन उपभोक्ता समितिका अध्यक्ष रमेश खत्रीका अनुसार कारेभोगटे खोलामा आएको बाढीले करिब तीन सय मिटर खानेपानीको पाइप बगाएपछि धारामा पानी आउन बन्द भएको छ । गाउँका दुवै टोलमा गरी ५७० धारा जडान छन् । बाढीले मुहान प्रदूषित र पाइप कटान गरेपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । पाटु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व सचिव अर्जुन खड्काले धारामा पानी आउन बन्द भएपछि गाउँलेको दैनिकी कष्टकर भएको बताउनुभयो ।

‘‘कसैले सञ्चित गरी राखेको पानी प्रयोग गरिराखेका छन् भने अधिकांशले खोला छेउमा बालुवा खोस्रेर सङ्कलन गरेको प्रदूषित पानी प्रयोग गर्न बाध्य छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘वर्षा भइरहेका कारण क्षतिग्रस्त पाइपको मर्मत हुन नसकेको हो ।’’

बर्दिबासदेखि ७ किमी उत्तरी क्षेत्रमा रहेको पाटु गाउँमा खानेपानी आपूर्तिको अन्य विकल्प नहुँदा स्थानीयको जीवन कष्टकर भएको उहाँको भनाइ छ ।

महोत्तरीस्थित रातु खोलामा बिहीबार मध्य रातदेखि आएको बाढीले पाटु सिँचाई कुलोमा पनि व्यापक क्षति गरेको छ । बर्दिबास नगरपालिकाको एक करोड पाँच लाख लागतमा गएको आर्थिक वर्षमा निर्माण सम्पन्न २०० मिटर लम्बाइको यो पक्की कुलोमध्ये शुक्रबारको बाढीले ३० मिटर कटान गरेको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टले क्षतिग्रस्त खानेपानीको तत्काल मरमतका लागि पहल भइरहे पनि वर्षा नरोकिएकाले काम अघि बढाउन नसकिएको बताउनुभयो ।

‘‘बाढीले संरचनामा पारेको क्षतिको स्थलगत अवलोकन गरी नगरपालिकामा जानकारी गराइसकेका छौँ ।,’’ वडाध्यक्ष विष्टले भन्नुभयो, ‘‘खानेपानीको क्षतिग्रस्त भागको तत्काल मर्मतका लागि हामी वर्षा थामिने प्रतीक्षामा छौँ ।’’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार