खानेपानीको मूल जोगाउन गाउँको सिरानमा पुनर्भरण पोखरी

  वास खबर सम्वाददाता  1835 पटक हेरिएको


धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं. २ का स्थानीय बासिन्दाले गाउँको सिरानमा पुनर्भरण पोखरी निर्माण गरेका छन् । खानेपानीको मूल जोगाउन स्थानीयबासिन्दाले गाउँको सिरानमा पर्ने ध्वजे डाँडामा १२ मिटर डायमिटरको पोखरी बनाएर पानी पुनर्भरण गरेका हुन् ।

ध्वजे धारापानी मूल संरक्षण समितिका अध्यक्ष शेर बहादुर भुजेलले बर्षातको पानी जम्मा गरिनुका साथै दायाँबायाँबाट नाली बनाएर बाहिर बग्ने पानीलाई समेत पोखरीमा पठाएको बताउनुभयो । पुनर्भरण पोखरीबाट बर्षातको पानी पुनर्भरण गर्न सके पानीका मूलहरु जोगाउन सकिन्छ भन्ने अभिप्रायले पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक बर्षको चैत्रमा बनाएको पुनर्भरण पोखरीबाट पहिलो पटक पुनर्भरण गरिएको र जमिनले पानी सोसेका कारण पोखरी बनेर नरहेको उहाँले बताउनुभयो । ‘पुनर्भरण भनेकै जमिनले सोसेर चिस्यान रहनु हो जस्तो लाग्छ, अहिले जमिनले सोसेको छ, सायद यसको नतिजा हिउँदमा देखिनेछ’ उहाँले भन्नुभयो ।

आफूहरुले १५/१५ दिनमा धाराको पानीको नाप समेत लिईरहेको र आगामी हिउँद महिनाको पनि नाप लिएपछि पुनर्भरण पोखरीले पानीको मूल बृद्धि गर्न सहयोग पुगे नपुगेको प्रमाणित हुने बताउनुभयो । समिति सँग पुनर्भरण पोखरी बनाउनु भन्दा पहिले लिएको पानीको परिमाणात्मक रिपोर्ट समेत रहेको छ ।

विपद व्यवस्थापनको दृष्टिले पनि पोखरी सुरक्षित तरिकाले बनाईएको छ । बढी नै बर्षा भयो र गहिरो पोखरी बन्यो भने सम्भावित दुर्घटना बाट बचाउन वरिपरि बाँसको बार लगाईएको छ । पोखरी वरिपरि हिड्नका लागि सोलिङ गरिएको छ भने वरिपरि वृक्षरोपण पनि गरिएको छ ।

पानीको मूल जोगाउन प्रभावकारी हुनेमा विश्वस्त

‘ठाउँ ठाउँमा पोखरी बनाई राखे बाली नाली सुक्दैनन्, जमिन चिस्यान रहन्छ, पानीको मूलहरु सुक्न पाउँदैनन्, म हाम्रा जिजु बाजेले भनेको कुरा अहिले पनि सम्झिन्छु ।’ ध्वजे धारापानी मूल संरक्षण समितिका उपाध्यक्ष सुशीला सुवेदी, ओझाले पहिलेका कुरा सम्झिदै भन्नुभयो ।

उहाँका अनुसार केही बर्ष पहिलेसम्म पनि डाँडा डाँडामा पोखरीहरु थिए । तिनै पोखरीको पानी रिचार्ज हुनाले पानीको मूल नसुकेका रहेछन् भन्ने कुरा उहाँले चाल पाउनु भएको छ । उहाँ भन्नुहुन्छ ‘मलाई पूर्ण विश्वास छ कि, पुनर्भरण पोखरीले मूलको पानी जोगाई राख्नेछ ।’

समितिका सचिव जगत सिंजाली समेत जलाधार व्यवस्थापनको कामलाई निरन्तरता दिने र पानीको मूल जोगाउन सहायक सिद्ध हुने बताउनुहुन्छ । ‘हामी साना केटोकटी हुँदा डाँडाको छेउछाउ पोखरीहरु थिए । खोला खोल्सीमा पनि पानी ठूलो मात्रामा बग्थ्यो, अहिले पोखरी मासिदै गयो, पुरिदै गयो, पानीको मुहानहरु सुक्न थाले’ आफ्नो बाल्यकाल सम्झिदैं उहाँले भन्नुभयो ।

पुनर्भरण पोखरी निर्माण र पुराना पोखरीहरु जगेर्ना गर्ने कामबाट पानीको मूलहरु नसुक्ने र अझ बढ्ने उहाँको विश्वास छ ।

इसिमोडको सहयोग तथा हुसाडेक नेपाल धनकुटाको साझेदारीमा बस्तीको सिरानमा ‘पुनर्भरण’ पोखरी बनाईएको हो । पोखरी निर्माणमा इसिमोडले ३ लाख अनुदान र स्थानीयले ४५ हजार बराबरको श्रमदान गरेको अध्यक्ष भुजेलले बताउनुभयो ।

गाउँपालिका र स्थानीय मिलेर अन्य सार्वजनिक स्थानहरुमा समेत रिचार्ज पोखरीहरु बनाउने ध्वजे धारापानी मूल संरक्षण समितिको योजना छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार