मुगु : सदियौं देखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ। स्थानीय सरकारबाट निर्माण कार्य सम्पन्न भई घर घरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौं देखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ ।
यो बस्ती सुरु हुँदा देखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको समस्यालाई विभिन्न दलका नेताले मुख्य एजेन्डा रुगाबासीलाई खानेपानी दिने भन्ने भए पनि कुनै दलका नेताले अहिलेसम्म यो बस्तीमा खानेपानी ल्याउन सकेका थिएनन् ।
छायाँनाथ रारा नगरपालिकाको पहलमा करिब सात किलोमिटर टाढा बाट रुगा गाउँमा एक घर एक धारा निर्माण गरिएको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विस्णुकुमार भामले जानकारी दिनुभयो । उहाँका अनुुसार खानेपानी गाउँमा पुर्याउनका लागि कुल लागत ३८ लाख ३४ हजार रुपैयाँ लगानी भएको छ ।
दलित बाहुल्य भएको यस गाउँमा १५८ घरमा खानेपानीको धारा निर्माण गरी खानेपानी वितरण गरिएको छ । भिरालो र सुक्खा जमिन भएको गाउँ नजिक कुनै ठाउँमा पानीको मुहान नहुँदा गाउँका मानिस वर्षौंदेखि आधा घण्टा हिँडेर मुगु कर्णाली नदीको धमिलो र फोहोर पानी खाँदै आएका थिए । घरघरमा धारा सहित शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीयबासी यतिखेर दङ्ग छन् ।
गाउँमा खानेपानी आएदेखि आफूहरूलाई धेरै सहज भएको स्थानीय बलबहादुर थापाले बताउनुभयो । पानीको अभावमा सबै भन्दा बढी महिला, बालबालिकालाई नदीको पानी लिन समस्या भएको थियो, सरसफाइ गर्न तरकारी खेती गर्न नपाएको भन्दै अब उक्त समस्या समेत समाधान हुने थापाले बताउनुभयो । न्यून आय स्रोत भएका दलित समुदायमा एक घर एक धारा अभियानले व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट आय आर्जनमा टेवा पुग्ने देखिन्छ ।