सिञ्जाको सबै वडामा खानेपानी पुर्‍याउन करिब २ करोडको ठेक्का

  वास खबर सम्वाददाता  408 पटक हेरिएको

जुम्ला : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रको सबै वडामा एक घर एक धारा पुर्‍याउने कामको थालनी गरेको छ । पालिकाको वडा नम्बर १ मा रु १ करोड ७३ लाख ८३ हजार लगानीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो।

वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ। गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, “अब ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ।” सङ्घीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो।

यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ। वडा नं. ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको काम समेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ। क्रमशः अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पुर्‍याइने भएको छ। उक्त खानेपानी आयोजनाबाट सिञ्जा–१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो।

वडा नं १ मा निर्माण हुने आयोजनाबाट गाउँमा एक सय नौ खानेपानीका धारा निर्माण हुने गाउँपालिकाका इन्जिनियर राजकुमार भट्टले बताउनुभयो। खानेपानीको सहज सुविधा पुर्‍याउने गरी खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मूल्याङ्कनको काम सकिएपछि निर्माण आयोजनाको काम तीव्र गतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर काम गरेको गाउँपालिकाका सुचना अधिकारी मित्रलाल धितालले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार