ढुक्क हुनुहोस् मेलम्चीको पानी माघको पहिलो साता आउँछ : मन्त्री यादव

  वास खबर सम्वाददाता  509 पटक हेरिएको

काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्‍याइने बताउनुभएको छ । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गर्नुभयो ।

उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्र गतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो ।

यही पुस ३ गते बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानीको पुनःनिर्माणको काम बढीमा २८ दिन भित्र सम्पन्न गरी सुरुङमा पथान्तरण गर्ने गरी मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाईड्रोसँग सम्झौता भएको थियो । समझदारी अनुसार सिनो हाईड्रोले आयोजना स्थलमा जनशक्ति खटाएको १० दिन भएको छ । द्रुत कार्यतालिका अनुसार २ सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरु सम्पन्न गर्न दुवै पक्ष बीच समझदारी भएको थियो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्य अनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो । “दैनिक १६/१७ घण्टा काम भइरहेको छ” उहाँले भन्नुभयो ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशलकिशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्य लगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिनुभएको थियो ।

२०८० साल असार ८ गते बर्षायामको जोखिमलाई मध्यनजर गरी सुरुङ मार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्‍याएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार