
पोखरा : पोखरा महानगरपालिका–२० भलामखोरका बासिन्दाले घरघरमै पानी ल्याउन १० लाख ८४ हजार आठ सय रुपैयाँ बराबरको जनश्रम मात्र गरेका छन् । एक करोड १९ लाख ३२ हजार ८ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको इक्राघारी बिचारी खानेपानी आयोजनामा स्थानीयले यत्ति धेरै श्रमदान गरेका हुन् ।
आयोजनाको लागि गण्डकी प्रदेश सरकारको एक करोड आठ लाख ४८ हजार रुपैयाँ लगानी रहेको छ । आयोजना सम्पन्न भएपछि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले आयोजना शुभारम्भ गर्नुभयो । उहाँले प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो ।
्
इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाका अनुसार आर्थिक वर्ष २०७७र७८ मा आयोजना निर्माण सुरु सुरु भएको हो । बस्ती भन्दा एक हजार सात सय मिटर परको मुहानबाट दुई इञ्चको पाइपबाट ल्याइएको पानी विभिन्न स्थानमा निर्माण गरिएका तीन वटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घर घरमा पुर्याइएको छ।
दुई दशक भन्दा पहिल्यै नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको आर्थिक सहयोगमा एक इञ्चको पाइपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको उहाँले बताउनुभयो ।


517 पटक हेरिएको 

