करिब ५० करोडको बबई लिफ्टिङको भौतिक प्रगति ५४ प्रतिशत

४० वर्ष सम्म २४ सै घण्टा पानी पुर्‍याउन सकिने दाबी

  वास खबर सम्वाददाता  507 पटक हेरिएको

दाङ : घोराहीमा बबई नदीको पानी लिफ्टिङ गरी वितरण गर्न धमाधम काम भईरहेको छ । घोराहीमा ट्यांकी बनाउने देखि पाइपलाइन विछ्याउने सम्मको काम तीव्रताका साथ भैरहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ।

घोराही क्षेत्रमा एक करोड लिटर र तुलसीपुर क्षेत्रमा पनि त्यसकै हाराहारीमा दैनिक रूपमा पानी संकलन गरी वितरण गर्ने लक्ष्य अनुरुप आयोजनाको काम भइरहेको छ । जसका लागि घोराहीमा दुईवटा सम्पवेल निर्माण भैरहेको छ भने पाँचवटा डिप बोरिङ, पानी संकलन गर्ने ट्यांकी आरभिटी तीन वटा र एउटा ओभरहेड ट्यांकी निर्माण भैरहेको छ।

त्यसैगरी शीतलपुरमा पाँच सय घनमिटरको आरभिटी कलेक्सन चेम्बर, दुई स्थानमा तीन सय घनमिटरको इन्टरमिडिएट आरभिटी ट्यांकी र ६ वटा डिपबोरिङ बन्नेछन् । आयोजनामा प्रसारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर र पानी वितरण पाइप १२५ दशमलव ७५२ किलोमिटर हुने बताइएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजना भनेको बबई लिफ्टिङ सहलगानी आयोजना पूरा भएपछि ३५ देखि ४० वर्षसम्म दैनिक २४ सै घण्टा पानी पुर्‍याउन सकिने दाबी गरेको छ ।

घोराहीमा अहिले ८९ सामुदायिक धारा र सात हजार ८४५ निजी गरी सात हजार ९३४ धारा जडान भएको संस्थाले जनाएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भौतिक संरचना दुई हजार ५३५ घनमिटर पानी अट्ने क्षमताको छ । प्रति सेकेन्ड १३० लिटर पानी सञ्चय गरिने र प्रतिदिन ५५ लाख लिटर पानी वितरण गर्ने गरेको संस्थाले जनाएको छ ।

घोराहीमा बबई लिफ्टिङको भौतिक प्रगति ५४ प्रतिशत काम भएको निर्माण कम्पनीका प्राविधिक विष्णु कुमाईले जानकारी दिनुभयो ।

आयोजनाको वित्तीय प्रगति ४७ प्रतिशत रहेको र ठेक्का अवधि अगावै हस्तान्तरण गर्ने गरी धमाधम काम गरिरहेको प्राविधिक कुमाईले बताउनुभयो । कम्तीमा १२० लिटर प्रति सेकेन्ड पानी दैनिक रूपमा घोराही क्षेत्रमा भित्र्याउने लक्ष्य अनुरुप आयोजनाको काम भइरहेको छ ।

घोराही–७ शुक्रबारमा चारवटा डिप बोरिङ निर्माण कार्य सम्पन्न भइसकेको छ । शुक्रबारमै ६ सय घनमिटरको पानी संकलन गर्ने ट्यांकी आरभिटी निर्माण भइसकेको छ । घोराही–७ मा तीन सय घन मिटरको गार्ड हाउस समेतको पानी संकलन गर्ने ट्यांकी आरभिटी पनि निर्माण भइसकेको छ । त्यसैगरी घोराही–१४ झिगौरामा ४५० घन मिटरको ओभरहेड ट्यांकी निर्माण कार्य भइरहेको छ ।

सचिव धर्मेन्द्र श्रेष्ठका अनुसार घोराही–७ शुक्रबारमा बालुवा छान्ने ‘र्‍यापिड स्याण्ड फिल्टर’ टयांकी निर्माण कार्य भइरहेको छ । २४ दशमलव ४९८ किलोमिटरमा चार सय एमएमको डीआई ट्रान्समिसन पाइप लाइनको काम भइरहेको छ भने २८ दशमलव दुई किलोमिटर पाइपलाइन पानी वितरण हुने ट्यांकीमा जान बिछ्याइँदैछ ।

आयोजनाका लागि नेपाल सरकारको जम्मा रकमको ७० प्रतिशत अर्थात ३४ करोड ८९ लाख ८४ हजार ३ सय अनुदान छ । यस्तै नगर विकास कोषले २५ प्रतिशत अर्थात १२ करोड ४६ लाख ३७ हजार २५० रकम ऋण उपलब्ध गराएको छ भने पाँच प्रतिशत अर्थात २ करोड ४९ लाख २७ हजार ४५० रुपैयाँ उपभोक्ताको तर्फबाट नगदै सहलगानी गरेका छन् ।

कुल ४९ करोड ८५ लाख ४९ हजार रुपैयाँ लागतमा निर्माण भैरहेको बबई लिफ्टिङका लागि भिमेश्वर ड्रिलिङ कम्पनी सँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार