
पाँचथर : फिदिम नगरपालिका–१ का सूर्य राई अहिले घरमा त्यति बस्नु हुन्न। घरको काम सकेसम्म चाँडो सकेर उहाँ खानेपानी पाइप लाइनमा श्रमदान गर्न पुग्नुहुन्छ । श्रमदानस्थलमा कोदालो, गैंती र हथौडा लिएर ढुंगामाटोको काम गर्न खट्ने उहाँ श्रम अभियान सुरु भएपछि पानीको बहाब बढेको देखेर झनै हौसिनु भएको छ ।
श्रमदानमा जुट्दा शारीरिक अभ्याससँगै सामूहिक लाभ हुने उहाँले बताउनुभयो। फिदिम बजारका हरि बराइली पनि सूर्यसँगै दैनिक जसो श्रमदानमा जुटिरहेको अवस्थामा भेटिनुहुन्छ।
२२ किलोमिटर टाढा भीरको बाटो ल्याइएको खानेपानीका पाइप मर्मत गर्न समेत समस्या हुन थालेपछि फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले श्रमदान अभियान सञ्चालन गरेको हो । ‘फुर्सदमा बसेर समय बर्बाद पार्नुको साटो एकजुट भएर श्रम गरौं, दिनभर क्यारमबोर्ड र लुँडो खेलेर समय बर्बाद गरिरहेका मित्रहरूलाई श्रममा जोडिन आह्वान गर्छु,’ बराइलीले भन्नुभयो।
मूल ट्यांकी भन्दा २२ किलोमिटर टाढा रहेको आतवा र तितवा मुहानदेखि ल्याइएको खानेपानी यहाँका उपभोक्ताका लागि पर्याप्त छैन । भीरपाखा हुँदै ल्याइएको पाइपलाइन टुटफुट हुँदा र पहिरो जाँदा मर्मत गर्न समस्या हुन्थ्यो । समस्या पहिल्याए पनि आवश्यक सामग्री भीरैभीर बोकेर लैजानुपर्ने अवस्था थियो ।
समस्याको दीर्घकालीन समाधानका लागि श्रममा जुट्न आह्वान गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो । फिदिम–१ का ओमप्रकाश पोखरेल र फिदिम–४ का राजेन्द्र अधिकारी पनि प्रायः खानेपानी पाइपलाइनमा श्रम गर्न पुग्नुहुन्छ। ‘सबै जना पुगिरहने भएकाले श्रमदान भइरहेका स्थानमा पुगेर दिनभर ढुंगा माटोको काम गर्दा बेग्लै आनन्द आउँछ,’ पोखरेलले भन्नुभयो।
समितिले आह्वान गरेको श्रम अभियानमा स्थानीयसँगै सेना, प्रहरी र सशस्त्र प्रहरीले पनि सघाइरहेका छन् । यसअघि पाइप लाइनमा गोरेटो बाटो थिएन । श्रम अभियान सुरु भएसँगै नयाँ–नयाँ मुहानको पहिचान, पाइपलाइनसम्म पुग्न ढुंगा र काठेपुल निर्माण र गोरेटो बनाउने जस्ता काम भइरहेका छन् ।
अभियान सुरु भएपछि पानीको मूल ट्यांकी पहिले रहेको ठाउँदेखि ५ सय मिटर माथि सार्नुका साथै थप ५ वटा मूलको पानी मिसाइएकाले ट्यांकीसम्म बहाव बढ्नुका साथै उपभोक्ताको अभाव टर्न थालेको छ । श्रम अभियान सुरु भएपछि त्यसको प्रभाव पनि देखिन थालेको उपभोक्ताले बताए ।
गत वर्षसम्म दैनिक एक घण्टा राम्ररी पानी नआउने यहाँका धारामा अहिले पर्याप्त पानी आइरहेको फिदिम–४ की सपना तुम्बापोले बताउनुभयो । ‘पहिले खाना पकाउन र भाँडाबर्तन धुन पनि पुग्दैनथ्यो, अचेल त करेसाबारी भिजाइवरी मज्जाले उभ्रिन्छ,’ उहाँले भन्नुभयो ‘अहिले त दैनिक ३ घण्टासम्म पानी आइरहन्छ ।’
फिदिममा २०७१ सालदेखि नै खानेपानी आयोजना सञ्चालन भएको हो । लामो समय मर्मत नहुँदा जीर्ण मुहान र पाइप मर्मतका लागि जुट्न स्थानीयलाई आह्वान गरेको अध्यक्ष गुरुङले सुनाउनुभयो । श्रमदान जुटाएर फिदिम–१ खानेपानी ट्यांकीदेखि मुहानसम्म पुग्न पाइप लाइनमा गोरेटो बाटो निर्माण गर्ने कामले तीव्रता पाएको छ भने पाइप झुण्डिएको भिरालो जग्गामा काठका पुल बनाइएको छ ।
‘सबैभन्दा अप्ठेरो र जोखिमपूर्ण मानिने महभीरमा घिर्नी बनाएर केवल लाइनमार्फत पाइप व्यवस्थित गर्ने काम भइरहेको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो। गत जेठदेखि सुरु भएको अभियानमा हालसम्म ५ हजारभन्दा धेरैले श्रमदान गरिसकेको उहाँले बताउनुभयो। यो खबर कान्तिपुरबाट साभार गरिएको हो।


753 पटक हेरिएको 

