मेलम्ची खानेपानी वितरणका लागि थप २७८ किमी वितरण प्रणालीको स्वमित्व बोर्डलाई हस्तान्तरण

  वास खबर सम्वाददाता  730 पटक हेरिएको


काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले थप १० वटा वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडको १६औं बार्षिकोत्सव कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणालाई थप खानेपानी वितरण सञ्जालको स्वामित्व हस्तान्तरण गर्नुभएको हो ।

सात महिनाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण गरी बोर्डलाई हस्तान्तरण गरेको यो दोस्रो पटक हो ।

यसअघि गत असारमा करिव ४० करोड १४ लाख मूल्य बराबरका ७५ किलोमिटर खानेपानी वितरण सञ्जाल बोर्डलाई हस्तान्तरण गरिएको थियो । ती सञ्जालबाट अहिले नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ ।

मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आए लगत्तै नयाँ खानेपानी वितरण सञ्जालको परीक्षणलाई तीब्रता दिएका कारण दोस्रो पटक थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गर्न सफलता मिलेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले एक प्रेश विज्ञप्ती जारी गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण सञ्जालको करिव २ अर्ब ७ करोड मूल्य बराबरका २७८ किलोमिटर खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको जनाएको छ ।

आयोजनाबाट स्वामित्व प्राप्त भएका १० वटा वितरण सञ्जालको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बोर्डले आजै काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरेको छ ।
हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण संजालका कूल ३५० किलोमिटर खानेपानी वितरण प्रणालीबाट जम्मा २३ हजार घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको पिआईडीले जनाएको छ ।

पिआईडीका आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. चन्द्र कुमार पाँ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘काठमाडौं उपत्यकामा विच्छ्याइएका कूल १ हजार १० कि.मि. वितरण संजालमध्ये हस्तान्तरण हुन बाँकी रहेको करिव ६६० किलोमिटर वितरण सञ्जालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको छ ।’
ती वितरण संजालहरूको पनि क्रमिकरूपमा परीक्षण सम्पन्न गरी आगामी असारसम्म हस्तान्तरण गर्ने गरी कार्ययोजनाका साथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी, आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रू. ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल सञ्चालनमा रहेका छन् ।

नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको र चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार