
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आँगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो। तर आँगनमै ठडिएको धारामा अहिलेसम्म पानी झरेको छैन। धारा मात्र ठडिएपछि केसीका परिवारलाई खानेपानीका लागि पञ्चायतकालीन सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन।
‘आँगनमा धारा बनेको तीन वर्ष पुगिसक्दा समेत पानी आएको छैन,’ उहाँले भन्नुभयो, ‘पानीका लागि सार्वजनिक धारा र मुहानकै भर पर्नु परेको छ।’ केसी मात्र नभएर वेशी, कुम्री, राम्रे र ठूलोगाउँका ९७ घरको आँगनमा धारा निर्माण भए पनि अहिलेसम्म पानी आएको रेकर्ड छैन।
२०७८ सालमा सुरु भएको मराङ एक घर एक धारा खानेपानी आयोजना निर्माण पूरा नहुँदा आँगनकै धारामा सफा, स्वच्छ खानेपानी उपभोग गर्ने स्थानीयबासीको सपना चकनाचुर भएको हो। धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले निर्माण व्यवसायीका कारण खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको बताउनुभयो।
‘तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने आयोजनाको धारा र ट्यांकी निर्माण भए पनि इन्टेक, मुख्य र वितरण लाइन बनाउन ढिलाइ भएको उहाँले बताउनुभयो । ‘छिटो काम गराउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं, निर्माण व्यवसायीले पर्याप्त मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन नगरेकाले योजनामा ढिलाई भएको हो उहाँले भन्नुभयो।
गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार ९७ घरमा निजी धारा निर्माण गरेर खानेपानी वितरण गर्न २०७८ पुष २७ गते सुन्दर निर्माण सेवासँग १ करोड १३ लाख ४९ हजार २५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
हालसम्म ३३ लाख ५३ हजार रुपैयाँ खर्च भएको योजनाको म्याद आगामी २०८१ असार २५ गतेसम्म थपिएको छ। हालसम्म ७२ वटा धारा निर्माण सकिएको छ। वेशी, कुम्रि र ठुलोगाउँमा पानी संकलन गर्ने ट्यांकी निर्माण भएको छ। राम्चेमा ट्यांकी निर्माणाधीन छ।
यहाँका बासिन्दाले पञ्चायतकालीन सार्वजनिक धाराबाट खानेपानी उपभोग गरिरहेका छन्। धारामा पर्याप्त र नियमित पानी नआउँदा मुहान र खोल्साको पानी उपभोग गर्नुपर्ने बाध्यता छ। पुरानो आयोजना जीर्ण भएपछि नयाँ योजना निर्माण गर्न थालिएको थियो।
निर्माण व्यवसायी रामचन्द्र कार्कीले चालु आर्थिक वर्षभित्र नै मराङको खानेपानी योजना सम्पन्न गर्ने बताउनुभयो। भौगोलिक विकटता र विपद्का कारण ढिलाइ भएको उहाँले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सो खानेपानी आयोजना सम्पन्न गराउन चालु आर्थिक वर्षमा ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो।


637 पटक हेरिएको 

