आगलागी नियन्त्रणको पूर्व तयारीका लागि डिप बोरिङ

पाँच हजार लिटरको दमकल भर्न २० मिनेट लाग्ने

  वास खबर सम्वाददाता  298 पटक हेरिएको

विराटनगर : विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्व तयारी सुरु गरेको छ । सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्व तयारी सुरु गरेको हो ।

मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले विराटनगर स्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताउनुभयो । बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो ।

‘पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपथ्र्यो,’ मेयर कोइरालाले भन्नुभयो, ‘अब बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा पानी सकिने बित्तिकै सनसारीमाईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । जसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।’ अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताउनुभयो । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो ।

सनसारीमाईस्थानको डिप बोरिङबाट पाँच हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ । पुष्पलाल चोकको डिप बोरिङबाट पाँच हजार लिटरको दमकमल भर्न पाँच मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले बताउनुभयो ।

बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो । महानगरले छिट्टै नै विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार