भूकम्पले पानीको मूल सुकेको समुदायमा खानेपानीको दिगो समाधान

  वास खबर सम्वाददाता  696 पटक हेरिएको

ललितपुर : भूकम्पले पानीको स्रोत सुकेपछि खानेपानीको अभाव झेल्दै आएको बस्तीमा दिगो समाधान भएको छ । ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बर ६ स्थित कालिटार र गैरीगाउँका बासिन्दा खानेपानीको समस्याबाट मुक्त भएका हुन्।

कोकाकोला फाउन्डेसनको सहयोगमा एकीकृत शहरी विकास केन्द्र (CIUD), वाटर एड नेपाल (WAN) र गोदावरी नगरपालिकाको सहकार्यमा दिगो वास परियोजना सफलतापूर्वक सम्पन्न भएपछि कालिटार र गैरीगाउँका १४८ घरपरिवार लाभान्वित भएका छन् ।


परियोजना सम्पन्न भएपछि १४८ घरधुरीमा सुरक्षित, पर्याप्त, पहुँचयोग्य र किफायती खानेपानी उपलब्ध भएको छ । परियोजनाबाट स्थानीय उपभोक्ताको सरसफाइ व्यवहारमा समेत सुधार आएको छ ।

परियोजना अन्तर्गत खानेपानी प्रणालीको बृहत पुनर्स्थापना, २ वटा इन्टेक निर्माण, २ वटा ट्याङ्कीको स्तरोन्नति, २ हजार ७६६ मिटर प्रसारण लाइन बिछ्याउने कार्य भएको छ । यस्तै ३ हजार ७०२ मिटर वितरण पाइपलाइन सञ्जाल निर्माण गरी १४८ घरधुरीलाई जोड्ने काम भएको छ।

यस्तै तीनवटा मन्दिरमा पानीको सुविधा, हरेक घरमा मिटर सहितको धाराहरू जडान भएका छन् । परियोजनाले खानेपानी उपभोक्ता समितिहरूको क्षमता अभिवृद्धि र समुदाय भित्र सकारात्मक स्वच्छता व्यवहार परिवर्तन ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको एकीकृत शहरी विकास केन्द्रले जनाएको छ ।

परियोजनाको सम्पन्न भएपछि हालै समुदायलाई हस्तान्तरण गरिएको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जनको अध्यक्षतामा परियोजना हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा कोकाकोला फाउन्डेसनका अध्यक्ष Saadia Madsbjerg ले परियोजना मार्फत खानेपानी पूर्वाधार, सरसफाइ, र सकारात्मक व्यवहार परिवर्तनहरूलाई बढावा दिएर समुदायको कल्याणमा दिगो र अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री उदय शमशेर राणाले परियोजनाको प्रभावको प्रशंसा गर्दै परियोजनासँग सम्बन्धित सबै संघसंस्थालाई धन्यबाद व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार