लिफ्टिङ खानेपानी आयोजनामा जगेडा पम्प किन ?

किफायतीका लागि विद्युतको सट्टा सोलार सिस्टम प्रभावकारी

  वास खबर सम्वाददाता  631 पटक हेरिएको

दैलेख : लिफ्टिङ खानेपानी योजनाहरुको दिगोपनाका लागि हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले जगेडा पम्प उपलब्ध गराउँदै आएको छ । कथंकदाचित पम्प बिग्रिहालेमा खानेपानी आपूर्ति बन्द नहोस् भन्ने हेतुले जगेडा पम्प उपलब्ध गराउँदै आएको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेले बताउनुभयो ।

अहिलेसम्मको अनुभवले सोलार पम्प दुई अढाई बर्षमा बिग्रन सक्ने देखिएको र सो अवधिमा मर्मत सम्भार कोषमा जम्मा भएको रकमले मात्र पम्प मर्मत तथा खरिद गर्न रकम अपुग हुने भएकाले सुरुमै जगेडा पम्प उपलब्ध गराएको उहाँले बताउनुभयो ।

‘नयाँ पम्प किन्न निक्कै रकम लाग्छ, उपभोक्ताले ठूलो रकम संकलन गरेर पम्प किन्नु परेमा आर्थिक भार पर्न सक्छ । यदि किन्न नसकेमा खानेपानी सेवा अवरुद्ध हुन्छ । त्यसैले दिगोपनाको लागि पनि जगेडा पम्प उपलब्ध गराएको हो’ उहाँले भन्नुभयो ।

सोलार लिफ्ट खानेपानी योजनामा सौर्य शक्तिले पानी तान्ने हुँदा विजुलीमा जस्तो पानी लिफ्टिङ गरेको रकम लाग्दैन । एक पटक जडान गरेपछि विजुलीको खर्च जस्तो महिनै पिच्छे तिर्नु नपर्ने भएकाले सोलार लिफ्टिङ खानेपानी योजना उपभोक्ताको लागि किफायती हुने पाण्डेले बताउनुभयो ।

हेल्भेटासाले स्थानीय स्तरमै सीप प्रदान गरी खानेपानी प्रणालीमा आउन सक्ने समस्या, समाधान गर्ने तरिका र आवश्यक सामग्रीहरु कहाँ पाईन्छन् भनेर समेत जानकारी गराई सकेकाले खानेपानीको दिगोपना हुनेमा आफू विश्वस्त रहेको पाण्डेको भनाइ छ ।

सोलार लिफ्टिङ किन ?

दुई तीन चरणका लिफ्टिङ खानेपानी योजनाहरु निर्माण गर्दा दिगोपनामा समस्या हुने र उपभोक्ता समितिको क्षमताले मात्र धान्न नसकिने भएकाले प्रायः सिङ्गल लिफ्टका खानेपानी योजनाहरुलाई बढी प्राथमिकता दिईदै आएको उहाँले बताउनुभयो ।

‘दुई तीन चरणमा पानी लिफ्टिङ गर्न हरेक स्टेजमा पम्प राख्नुपर्छ, ती मध्ये एउटा मात्र पम्प विग्रेको अवस्थामा खानेपानी सेवा बन्द हुन्छ । त्यसैले हामीले चाहि सिङ्गल स्टेज र त्यसमा पनि सोलार लिफ्टिङलाई नै बढी जोड दिईदै आएका छौं’ उहाँले भन्नुभयो ।

सोलार लिफ्टिङ गर्दा घाम लाग्न साथ अटोमेटिक पानी तान्न सुरु हुने र घाम अस्ताउन साथ अटोमेटिक बन्द पनि हुने भएकाले यो सजिलो प्रविधि छ । एक पटक जडान गरेपछि विजुलीलाई जस्तो मासिक विद्युत महसुल पनि तिरिरहनु नपर्ने भएपछि उपभोक्ताले आर्थिक भार बेहोर्नु नपर्ने उहाँको भनाइ छ ।

खानेपानीमा भैपरी आउने समस्या समाधानका लागि एक जना मर्मत सम्भार कार्यकर्ता नियुक्त गरिएको छ । मर्मत सम्भार कार्यकर्तालाई खानेपानी योजना निर्माणको सुरुको चरण देखि नै संलग्न गराउने र थप तालिमहरु समेत प्रदान गरिने भएकाले सम्बन्धित काममा पोख्त हुन्छन् ।

छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका मर्मत सम्भार कार्यकर्ता नवराज आचार्य भन्नुहुन्छ ‘मैले सोलार अपरेटर तालिम लिएको छु, मर्मत सम्भार सम्बन्धी तालिम पनि लिएको हुनाले सामान्य मर्मत सम्भारका कामहरुमा अरु कसैलाई गुहार्नु पर्दैन ।’

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार