हैजा प्रभावित क्षेत्रको सबैजसो पानीमा फिकल कोलिफर्म भएको पुष्टि

  वास खबर सम्वाददाता  546 पटक हेरिएको

काठमाडौ : काठमाडौ उपत्यकामा हालै हैजा संक्रमण भएको क्षेत्रको पानीमा फिकल कोलिफर्म भएको पुष्टि भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर शाखा अन्तर्गतको केन्द्रिय खानेपानी प्रयोगशालाले गरेको परिक्षणमा सबैजसो पानीमा फिकल कोलिफर्म भएको पुष्टि भएको हो ।

केन्द्रिय खानेपानी प्रयोगशालाको टोलीले दुई दिन लगाएर ललितपुरको गोदावरी, खुमालटार, चापागाउँ र भक्तपुरको टिकाथली, कागेश्वरी मनोहरा लगायत क्षेत्रको खानेपानीको नमुना संकलन गरेको थियो । खानेपानी गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख सिडिई पूर्ण प्रसाद उपाध्यायका अनुसार संकलित खानेपानीको ५ वटा पारामिती परिक्षण गरिएको थियो । टोलीले हाइड्रोजन विभव (PH)  विद्युतीय संवाहकता (EC) धमिलोपन (Turbidity), क्लोरिन अवशेष (FRC) फिल्डमै परिक्षण गरिएको र सुक्ष्म जीवाणु केन्द्रिय पानी परिक्षण प्रयोशालामा परिक्षण गरिएको प्रमुख उपाध्याले जानकारी दिनुभयो।

विभागकी केमिष्ट अनुराधा ज्ञवालीका अनुसार पहिलो दिन ६ वटा नमुना परिक्षण गर्दा ४ वटा नमुनामा फिकल कोलिफर्म भेटिएको छ भने दोस्रो दिन पनि ६ वटा नमुना परिक्षण गर्दा ५ वटामा फिकल कोलिफर्म भेटिएको छ ।

टोलीले केयूकेएलको खुमलटार वितरण केन्द्रबाट वितरण गरिएको पानी, केयूकेएलकै चापागाउँ वितरण केन्द्रबाट वितरण गरिएको पानी, पन्चकन्या खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट वितरण गरिएको झरुवारासी गोदाबारीको पानी, ठैब हरिसिद्धी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति टौखेलदवारा वितरित पानी, ठूलोखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बडीखेल बाट वितरित खानेपानी र खसीमारा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चापागाउँबाट वितरित पानी परिक्षण गरिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख सिडिई पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै टिकाथली स्थित महेश भट्टको इनार, बोझेपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बोझेपोखरी टिकाथली, राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति टिकाथली, राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति २, राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको फिल्टर भेसलको पानी र कागेश्वरी मनोहरामा रहेको आक्वा MSK प्रशोधित पिउने पानीको परिक्षण गरेको थियो ।

ती मध्ये केयूकेएलको खुमलटार वितरण केन्द्र, ठैब हरिसिद्धी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति टौखेल र कागेश्वरी मनोहरामा रहेको आक्वा MSK प्रशोधित पिउने पानीमा मात्र कोलिफर्म नरहेको रिपोर्ट आएको छ।

केयूकेएलको खुमलटार वितरण केन्द्र र ठैब हरिसिद्धी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पानी भने क्लोरिनेसन अवशेष समेत भेटिएको छ । खुमलटारको पानीमा ०.६ र ठैब हरिसिद्धीको पानीमा ०.३ क्लोरिनेसनको मात्रा भेटिएको छ ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार क्लोरिनेसन गरेको पानीमा प्रति लिटर पानीमा न्यूनतम ०.१० देखि अधिकतम ०.५० मिलीग्राम क्लोरिन अवशेष हुनुपर्छ ।
मापदण्ड अनुसार पिउने पानीमा ई.कोलीको मात्रा शून्य हुनुपर्छ ।

विभागको टोलीले स्थानीय समुदायलाई खानेपानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ भने खानेपानी शुद्धिकरणका लागि क्लोरिन समेत उपलब्ध गराएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार