
म्याग्दी : म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानीको सुविधा पुगेको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजना मार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएको जनाएको छ।
कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारा मार्फत खानेपानी वितरण भएको छ भने १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिन मध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ।
कार्यालय मार्फत आव २०८०/८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजना मार्फत सात सय २७ घरमा मिटर सहित जडान गरेर खानेपानी वितरण भएको उहाँले बताउनुभयो।
यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजना मार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। उक्त कार्यालयले गत आर्थिक बर्षमा १७ करोड ६५ लाख १० हजार पुँजीगत खर्च गरेकोे जनाएको छ।


431 पटक हेरिएको 

