खानेपानीको पाइप माथि गाडी गुड्दा पनि उपभोक्ता समितिलाई छैन मतलब

  वास खबर सम्वाददाता  343 पटक हेरिएको

काठमाडौ : खानेपानीको मुख्य पाइपलाइन सडकको बीच भागमा निस्किएको छ । केही बर्षाको पानीले खोतलेर निकाले पनि पाइपलाइन विछ्याउने क्रममै कम गहिराईमा गाडेकाले पाइप बाहिर निस्किएको प्रष्ट देखिन्छ ।

दैलेख सदरमुकामबाट अघि बढ्दा करिब एक डेढ किलोमिटर परतिर दुई चार ठाउँमै पाइपहरु बाहिरै असरल्ल देखिन्छन् । सडकको बीच भाग भएकाले त्यही माथि गाडी गुड्छन् । साना सवारीले छलेर गुडाए पनि ठूलो सवारी त्यही माथि गुड्ने गरेको छ ।

एचडीईपी पाईप भएकाले तत्काल फुट्न सक्ने सम्भावना छ। र पनि त्यहाँको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई कुनै मतलब छैन । समितिले चाहेमा दुई चार घण्टामै फत्ते गर्न सकिने काम सायद ठूलो क्षति भएपछि मात्र गर्ने पर्खाईमा छ ।

पाइपको आकार हेर्दा यो खानेपानी दैलेख सदरमुकामका लागि लगिएको हो । हामी पनि यात्राकै क्रममा रहेकाले यसको बारेमा विस्तृतमा अध्ययन गर्न पाएनौं । त्यहीका एक व्यापारीका अनुसार बर्खामा भन्दा हिउँदमा पाइपहरु चिसोले फुट्ने गरेको छ । पाइप फुट्ने, बाटो हिलो हुने घटना त्यहाँका लागि सामान्य भैसकेको छ ।

खानेपानी उपभोक्ता समितिहरुको काम कर्तव्य र अधिकारका बारेमा तालिम पनि दिईएको हुन्छ । खानेपानी सुरक्षा योजनाबारे पनि तालिम दिईएको हुन्छ । तर त्यही खानेपानीको पाइप बाहिर निस्केर पाइप माथि गाडी गुड्दा पनि मौन बस्नुलाई खानेपानी उपभोक्ता समितिहरु कति गैर जिम्मेवार छन् भन्ने प्रष्ट हुन्छ ।

खानेपानीको पाइप फुटेपछि हुने क्षतिलाई कम आंकलन गर्नु हुँदैन । पाइपको आंशिक भाग मात्र फुटेर केही दिनसम्म मर्मत हुन नसके पानी प्रदुषण भै जनस्वास्थ्यमा असर पर्न सक्छ । ठूलो साइजको पाइपमा पानीको परिमाण धेरै प्रवाह हुने भएकाले सडकलाई थप क्षति पुग्ने, बालीनाली बिगार्ने र भूक्षयको सम्भावनालाई पनि नकार्न सकिदैन ।

एक ठाउँमा पाइप फुट्दा त्यहीको एक मिटर वा दुईमिटर आसपासको पाइप मात्र जोड्न प्राविधिक हिसाबले समेत समस्या हुने भएकाले आर्थिक हिसाबले पनि केही लागत लाग्न सक्ने देखिन्छ ।

अतः उपभोक्ता समितिले पाइपलाई बीच सडकबाट तत्काल किनारा लगाएर मापदण्ड अनुसार बढी गहिराईसम्म गाडेर खानेपानी संरचना र उपभोक्ता स्वास्थ्यको रक्षामा तदारुकता देखाउन आवश्यक छ ।

बाटो हिड्ने बटुवा, सवारी चालक, प्रत्यक्षदर्शी सबैले तपाईहरुलाई कुरी कुरी गरिरहेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार