लहान : लहान नगरपालिकाको वडा नं. १४ मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको खानेपानीको ट्याङ्की विगत १० बर्षदेखि अलपत्र अवस्थामा थियो। एक वर्ष अगाडि जब नेपाल खानेपानी संस्थान लहान शाखाले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्न थाल्यो, त्यसपछि खानेपानीको समस्या हटेको छ ।
यस्तै लहान–१३ मा पक्कीटोल र सुकरामपुरमा निर्माण भएको खानेपानीको ओभर ट्याङ्की समेत खानेपानी संस्थानले स्वामित्वमा लिएको दुई महिना भएको कार्यालय प्रमुख शिरिष राजभण्डारीले बताउनुभयो । उहाँले केही महिनामै पाइप जडान गरेर खानेपानी पुर्याउने गरी काम अघि बढेको बताउनुभयो ।
यसैगरी लहान–१६ मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको ओभरहेड ट्याङ्की पनि संस्थानको स्वामित्वमा ल्याउने प्रक्रिया अगाडि बढाईएको छ। उक्त ट्याङ्की समेत संस्थान मातहतमा ल्याएर सञ्चालन गर्न सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको खानेपानी वितरण शाखा लहानका प्रमुख लटु प्रसाद यादवले बताउनुभयो ।
सबैभन्दा बढी जनसङ्ख्या भएको लहान–२४ नम्बर वडाको सरे खोला वारिका आधा दर्जन बस्तीहरूमा हातेकल र इनार सुक्न थालेपछि खानेपानीको हाहाकार हुन्थ्यो। जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको खानेपानीको ओभर ट्याङ्कीलाई नेपाल खानेपानी संस्थान लहानसँग समन्वय गरेर सञ्चालन गराएपछि अहिले खानेपानीको समस्या समाधान भएको वडाध्यक्ष रासलाल रायले बताउनुभयो ।
वैशाखदेखि इनारहरू सुक्न थालेपछि खानेपानीको ठुलो समस्या हुने गर्दथ्यो स्थानीयहरूले विगतको पीडा सम्झँदै भने, तर अहिले घरघरमा खानेपानी प्रशस्त पुगेको छ।
संस्थानले अब लहानको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडाको खानेपानी समस्या समाधान गर्ने भएको छ । यस वडाका कतिपय स्थानमा खानेपानीको समस्या समाधान भइसकेको छ भने कतै लाइन विस्तारको क्रममा रहेको नेपाल खानेपानी संस्थान लहानले जनाएको छ ।अहिलेसम्म १०५ जना उपभोक्ताले धारा जडान गरिसकेका छन् ।
लोकमार्गदेखि उत्तरी भेगमा पर्ने वडा नम्बर १३, १४, १५, १६, १७ र १८ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान गर्न लहान नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर दीर्घकालीन रूपमा समस्या समाधान गर्न लागि परेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।
उहाँका अनुसार नेपाल खानेपानी संस्थानबाट धारा जडान वाटर एड/विकन परियोजनाको सहयोगमा दलित बस्ती र सामुदायिक विद्यालयहरूमा शौचालय र खानेपानीको सेवा प्रवाह भइरहेको छ । विगत वर्षहरूमा देखिएको खानेपानीको समस्या समाधान भइरहेको छ ।