
सिरहा : नेपालको ४.५ प्रतिशत जनसंख्या अर्थात ३ लाख १ हजार ४ सय ९० जना सँग अहिले पनि आफ्नै शौचालय छैन । जनगणना २०७८ को नतिजा अनुसार उनीहरुले अहिले पनि खुला ठाउँमै दिसापिसाब गर्दै आएका छन् । कतिपय सँग शौचालय निर्माण गर्ने जग्गाको अभाव र कतिपय परिवारसँग शौचालय बनाउने समेत आर्थिक हैसियत नभएका कारण शौचालय बिहिन हुनुपरेको बताइन्छ । यद्यपि यस सम्बन्धी विस्तृत अध्ययन भएको छैन ।
ठिक यस्तै अवस्था सिरहाको लहान नगरपालिका वडा नं. ११ स्थित पडारिया टोलमा पनि थियो । मधेस प्रदेशकै पहिलो खुला दिसामुक्त जिल्ला सिरहाको लहान नगरपालिका ११ को ३० घरपरिवारले शौचालय निर्माण गर्न नसक्दा सरसफाइमा पहुँच थिएन ।
विपन्नताकै कारण सरसफाइमा पहुँच नपुगेका उनीहरुका लागि सामुदायिक शौचालय निर्माण भएपछि अहिले सुरक्षित सरसफाइमा पहुँच पुगेको हो । सीमित जग्गा र गरिबीका कारण शौचालय बनाउन नसकेका पडारिया टोलका करिब १ सय ५० जनाले खुला ठाउँमा दिसापिसाब गर्न छाडिसकेका छन् ।
खुला ठाउँमै दिसापिसाब गरिरहेका पडारियाका बासिन्दालाई कसरी सुरक्षित सरसफाइको पहुँचमा ल्याउन सकिन्छ भन्ने बिषयमा लहान नगरपालिका, ११ नम्बर वडा कार्यालय, वाटर एड नेपाल र दलित जनकल्याण युवा क्लव बीच छलफल भएपछि सामुदायिक शौचालयको अवधारणा आएको क्लवका कार्यकारी निर्देशक विनोद बिसुङ्खे बताउनुहुन्छ।

यसका लागि वडा कार्यालयले जग्गाको व्यवस्थापन गरेको र वाटर एड नेपाल/विकन परियोजना र लहान नगरपालिकाको साझेदारी र दलित जनकल्याण युवा क्लवको सहकार्य तथा समुदायको सक्रियतामा सामुदायिक शौचालय निर्माण भएको कार्यकारी निर्देशक बिसुङ्खेले बताउनुभयो।
समुदायद्वारा सञ्चालन

सामुदायिक शौचालयमा १० वटा कोठा छन् । हरेक तीन घरका लागि एउटा कोठा भाग लगाई दिएको छ । शौचालयको व्यवस्थापन गर्दैै आएको पडारिया खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन समितिकी अध्यक्ष सोमनी देवी पासमान भन्नुहुन्छ ‘हरेक कोठामा ताला लगाएको हुन्छ र शौचालय प्रयोग गर्ने सम्बन्धित घरपरिवारलाई एक/एक वटा चाबी दिईएको छ ।’
अध्यक्ष पासमानका अनुसार तोकिएको घरका बाहेक अन्य व्यक्तिले उक्त शौचालय प्रयोग गर्न पाउँदैनन् । ‘सबै कोठामा नम्बर लेखेका छौं, १ देखि लहरै १० सम्म, १ नम्बरको कोठा तीन घरलाई छुट्याईएको छ, त्यसरी नै सबै कोठा ३/३ घरलाई भाग लगाई दिएका छौं।’

आफ्नो शौचालय सफा गर्ने दायित्व सम्बन्धित तीन घरको समूहकै हुन्छ। उनीहरु बीच शौचालय सफा राख्न प्रतिस्पर्धा जस्तै चल्छ।
दिगोपनाका लागि सफाइ शुल्क
सामुदायिक शौचालय प्रयोग गरेबापत सय रुपैयाँ सरसफाइ शुल्क तोकिएको छ । हरेक महिनाको पहिलो हप्ता बैठक बसी उक्त सरसफाइ शुल्क संकलन गर्ने गरिएको छ । समितिकी सचिव मीना पासमानका अनुसार सरसफाइ शुल्कबाट संकलित रकम विद्युत महसुल तिर्ने, बिजुलीको चिम फेर्ने, शौचालयको सरसफाइ सामग्रीको प्रबन्ध मिलाउने, सामान्य मर्मत सम्भार गर्ने लगायत कार्यमा खर्च हुँदै आएको छ।

कार्यकारी निर्देशक विनोद बिसुङ्खे समुदायद्धारा सञ्चालन हुने भएकाले यो शौचालय दिगो रुपमा सञ्चालन हुनेमा विश्वस्त हुनुहुन्छ । ‘शौचालय निर्माण पूर्व नै दिगोपनाको सम्भावना अध्ययन गरेका थियौं’ बिसुङ्खे भन्नुहुन्छ ‘शौचालय सञ्चलनका लागि महिनामा कति खर्च लाग्छ भनेर समुदायसँगै बसेर छलफल गर्दा महिनामा तीन हजार जत्ति भयो भने सञ्चालन हुन्छ भन्ने आधारमा नै प्रति घर प्रति महिना सय रुपैयाँका दरले संकलन गर्न थालिएको हो।’

यस्तै शौचालयको मर्मत सम्भारमा वडा कार्यालयले पनि प्रतिबद्धता जनाएको छ । वडाले शौचालयको सेप्टिक ट्याङ्क भरिए पछि दिसाजन्य लेदो निकाल्ने लगायत कार्यमा सहयोग गर्दै आएको छ।
शौचालयले दिलायो सम्मानित जीवन
‘शौचालय बनाउँ भने जग्गा थिएन, पुलिस आएर जहिले पनि शौचालय बनाओ भन्दै थर्काउथ्यो’ विगतमा शौचालय नहुँदाको समस्या सम्झिँदै पडरिया टोलकी जिश्नेदेवी पासवानले भन्नुभयो।
खुला ठाउँमा दिसापिसाब गर्दा जमिनदारले गाली गरेर बेइज्जती सहनुपरेका दिनहरु सम्झिँदा पनि कस्तो जिन्दगी बाँचेछु जस्तो लाग्छ रे उहाँलाई । ‘अहिले त साँझ बिहान जत्ति बेला गए पनि हुन्छ, राती पनि दिनमा जस्तै उज्यालो छ, बाटोसम्मै झलमल्ल बत्ती बल्छ’ दन्त लहर देखाउँदै उहाँले खुसी बाँड्नु भयो।

गाउँकै पछाडि पट्टि ठूलो पोखरी छ । पोखरी देखाउँदै उहाँले भन्नुभयो ‘शौचालय नहुँदा त्यो पोखरी वरपर दिसैदिसा हुन्थ्यो । त्यही भैंसी आहाल बस्थ्यो, त्यही लुगा धुनुपर्ने, भाँडाकुँडा माझ्नुपर्ने बाध्यता पनि थियो । कहिले त गाउँभरिका मान्छे बिरामीले थला पर्थे ।’
पडारियाको बदलिएको अवस्था देखेपछि पुराना ती दिनहरु पनि थिए र भने जस्तो लाग्छ अहिले । पोखरीमा पनि कञ्चन पानी छचल्किरहेको हुन्छ । ‘पोखरीको डिलमा दिसापिसाब गर्ने केटाकेटीहरु अहिले सामुदायिक शौचालयमै जान्छन् । केटाकेटी पनि खासै बिरामी पर्दैनन् पहिले जस्तो’ सचिव मीना पासमानले भन्नुभयो।

लहानमा ५ वटा सामुदायिक शौचालय
लहानको पडारिया टोलमा जस्तै लहान नगरपालिकाको पाँच ठाउँमा सामुदायिक शौचालय निर्माण भएका छन् । विपन्न वर्गलाई सरसफाइमा पहुँच बढाउन सामुदायिक शौचालय प्रभावकारी भएपछि विकन परियोजना र लहान नगरपालिका तथा सम्बन्धित वडाको लागत साझेदारीमा शौचालय निर्माण गरिएको विकन परियोजनाका टिम लिडर कविन्द्र पुडासैनीले बताउनुभयो।

‘शौचालय निर्माण गर्न नसक्ने घरपरिवार अझै पनि धेरै छन् भन्ने डाटाले देखाउँछ । सामुदायिक शौचालयको सफल सञ्चालनले यस्ता शौचालयहरु आवश्यकता अनुसार अन्य बस्तीहरुमा निर्माण गर्नुपर्छ भन्ने देखाउँछ’ उहाँले भन्नुभयो।
लहानमा खानेपानी, सरसफाइ र स्वच्छता (वास प्लान) निर्माण भैसकेको र वास प्लानमा प्राथमिकता निर्धारण भएका सरसफाइ योजनाहरु क्रमशः कार्यान्वयन गर्दै लैजाने उहाँले बताउनुभयो। ‘सामुदायिक शौचालयहरु निर्माण गर्नुपर्ने वास प्लानको प्राथमिकतामा छन्, त्यसलाई प्राथमिकताकै आधारमा कार्यान्वयन गर्दै लैजान्छौं’ उहाँले भन्नुभयो।
सामुदायिक शौचालयको अवधारणाले विपन्न वर्गसम्म सुरक्षित सरसफाइको पहुँच बिस्तार भएको छ। शौचालय अभावमा जथाभावी दिसापिसाब गर्दा हुने सामाजिक भय र असुरक्षा हटेको छ भने स्वास्थ्य समस्या न्यूनीकरण भएको छ। सामुदायिक शौचालयकै कारण सामाजिक प्रतिष्ठा र सभ्य नागरिकको स्वपहिचानले समुदायको आत्मा गौरव बढाएको छ ।


657 पटक हेरिएको 

