पानीपोखरी र साइलेज मेसिनले किसानलाई राहत

  वास खबर सम्वाददाता  263 पटक हेरिएको

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–११ ले वडाभरका किसानको सहजताका लागि घाँसघर र सिँचाइका लागि पानीपोखरी निर्माण गरी काम गर्न थालेको छ । उक्त घाँस घरमा किसानले ल्याएको मकैको ढोड र घाँसका भारीलाई घाँसघरमा रहेको ‘साइलेज मेसिन’ ले प्याकिङ गरेर गुइँठो बनाइदिन्छ । प्याकिङ गरेको घाँसको गुइँठो अनुमानित ५० किलोसम्म हुन्छ ।

हिउँदका समयमा पनि घाँसलाई प्याकिङ गरेर राखेमा हरियो नै हुने प्रविधि स्वरूप चीनबाट १० लाख रुपियाँको लागतमा उक्त ‘साइलेज मेसिन’ खरिद गरिएको वडाध्यक्ष रोशनराज गिरीले जानकारी दिनुभयो “किसानले मकैको ढोड र घाँस लिएर आउँछन्, हामी अत्याधुनिक मेसिनबाट घाँसलाई प्याकिङ गरे र पठाउँछौँ ,” गिरीले भन्नुभयो ।
चौतारा नगरको कवाडीमा थन्किएको सामग्री वडाले पाँच लाख रुपियाँमा किनेर घाँसघर निर्माण गरिएको उहाँले बताउनुभयो ।

घाँसघर निर्माण भएपछि अहिले किसान घाँस काटेर मेसिनमा ल्याउँछन् र प्याकिङ गरेर लैजाने गर्छन् । हिउँदमा किसानको घाँस काट्ने समय बचत हुने भएपछि पशुपालनमा सघाउ पुग्ने वडाका जनप्रतिनिधिको विश्वास छ ।

उक्त वडाले पानीचौरको तल्लो भेगमा ३० लाख रुपियाँको लागतमा गत वर्ष नै एक करोड लिटर पानी अट्ने क्षमताको सिँचाइ पुनर्भरण पानीपोखरी खनेको छ । वर्षायामको भेलको पानी र आकासे पानी जम्मा गरिन्छ । तरकारी खेती, नगदेबाली, अन्य खेतीपातीका लागि सिँचाइ गर्न पोखरी निर्माण गरिएको वडाध्यक्ष गिरीको भनाइ छ ।

भूकम्पपछि वडाभरका पानीको मुहान सुकेकाले पानीको हाहाकार हुन नदिन पानीपोखरीको अवधार णा अनुरूप पोखरी निर्माण गरिएको उहाँले थप्नुभयो । साँगाचोकगढी सुक्खाग्रस्त क्षेत्र हो । त्यसलाई परिपूर्ति गर्न सो पोखरी उपयुक्त हुने देखिन्छ । सिँचाइ र अन्य खेतपातीका लागि वडाका विभिन्न ठाउँमा श्रमदानबाट पाँच सय वटा सानाठुला पानीपोखरी खनिएका छन् । एकदेखि सय घनमिटर ती पोखरीका पानी किसानले सहजै प्रयोगमा ल्याएका छन् ।

उक्त वडामा वन्यजन्तु नियन्त्रणका लागि वन क्षेत्रलाई आठ किलोमिटर तारबार गरिएको छ । पत्कर सङ्कलन गरेर कम्पोस्ट मल बनाउने तयारी गरिएको छ । साथै पशु सापटी कार्यव्रmम थालिएको खबर गोरखापत्र दैनिकले छापेको छ । कृषकलाई प्रोत्साहन गर्ने कार्यमा वडा कार्यालय जुटिरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार