असुरक्षित खानेपानीको सेवनबाट कुपोषित ७ बालबालिकालाई यसरी फकाईयो सामान्य अवस्थामा

  वास खबर सम्बाददाता  187 पटक हेरिएको

काठमाडौं : कुपोषण के कारणले हुन्छ ? धेरैलाई लाग्न सक्छ, बालबालिकाले पौष्टिकयुक्त खाना खान नपाउँदा । अर्थात गर्भावस्थामा पोषणयुक्त खानेकुराको अभावमा बालबालिकाको राम्रो विकास हुन नपाउँदा ।

हो, बालबालिका कुपोषण हुने धेरै कारणहरु छन् । ती मध्ये असुरक्षित खानेपानीको सेवन र अस्वस्थकर बानीव्यहार पनि हो ।

लम्जुङको दोर्दी गाउँपालिकाका ७ जना बालबालिकाहरु यस्तै कुपोषणमा परेका थिए । गोर्खा वेल्फेयर ट्रष्टले सुरुमा दोर्दी गाउँपालिकासँग तथ्याङ्क लिँदा ३ जना अति शीघ्र कुपोषण र ४ जनामा मध्यम शीघ्र कुपोषण भएको थियो ।

त्यसपछि गोर्खा वेल्फेयर ट्रष्टले ‘खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तन सञ्चार मार्फत बालबालिकाको पोषणको प्रवर्द्वन’ कार्यक्रम सञ्चालन गर्‍यो । यस कार्यक्रम अन्तर्गत कुपोषण भएको बालबालिकाको अभिभावकलाई सुरक्षित खानेपानीको प्रयोग तथा पानीको उचित भण्डारण गर्ने, बच्चाको लागि खेल्ने र खाना खुवाउने सफा र सुरक्षित स्थान व्यवस्थापन गर्ने, घरायसी सरसफाइ तथा बच्चाको दिसा तह लगाउने, बच्चालाई गाईभैंसीको दुध हरेक पल्ट राम्रोसँग उमालेर मात्र खुवाउने, बच्चालाई ६ महिनासम्म आमाको दुध मात्र खुवाउने र आमा तथा बच्चाको हेरचाहकर्ताले खाना पकाउनु अगाडि र बच्चालाई खुवाउनु अगाडि राम्रोसँग साबुन पानीले हात धुने बिषयमा विभिन्न कक्षहरु सञ्चालन गरिएको थियो ।

यसका साथै ताजा तरकारी आपूर्तिका लागि सरल थोपा सिँचाई कार्यक्रम लगायत विभिन्न कार्यक्रम सञ्चालन गरेपछि ती बालबालिका अहिले सामान्य अवस्थामा फर्केका छन् । कुपोषणले ग्रस्त बालबालिकालाई सामान्य अवस्थामा फर्काउन गरिएका प्रयास लगायत बिषयमा गोर्खा वेल्फेयर ट्रष्टका सोसल सुपरभाइजर लीला माया मेगाले मगरसँग कुराकानी गरेका छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार