प्रति घर ४ हजार ५ सय लगानी गरेको खानेपानी समुदायलाई हस्तान्तरण

  वास खबर सम्बाददाता  258 पटक हेरिएको


सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नंं. ७ रम्चाउन टोलमा निर्माण सम्पन्न भएको छहरेखोला रम्चाउन खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । सवैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना र नगरपालिका र समुदायको लागत साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

एक घर एक धारा अनुसार ६६ घरधुरीमा ६६ धारा र स्थानीय विद्यालयमा एक धारा गरी ६७ वटा खानेपानीका धारा निर्माण गरिएको छ । कुल ५३ लाख ९४ हजार ९ सय रुपैयाँ लागत रहेको खानेपानी आयोजनामा श्रमदान बाहेक मर्मत सम्भार कोषको लागि प्रति घर ५ सय र धारा निर्माणका लागि ४ हजार समेत गरी प्रति घर ४ हजार ५ सय रुपैयाँ उपभोक्ताको नगद योगदान रहेको छ ।

आयोजना हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) बमोजिम खानेपानी योजनाहरु निर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो ।

वास प्लानको प्राथमिकता क्रम अनुसार खानेपानी आयोजनाहरु निर्माण भईरहेको बताउँदै उहाँले आयोजनाको दिगोपनाको लागि समुदायले पनि ध्यान दिनुपर्ने र आवश्यकता बमोजिम पालिकाको मर्मत सम्भार कोष मार्फत सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख बुढाथोकीले खानेपानी सँगसँगै विद्युत, सडक, शिक्षा सवै क्षेत्रको विकासका लागि आफूहरु लागि परेको बताउनुभयो । त्यस्तै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले आयोजना निर्माणको सन्दर्भमा पालिकाले उपभोक्ता समिति गठनदेखि नै सल्लाह सुझाव दिदै आएको, योजनाको समय समयमा अनुगमन गरेको र उपभोक्ताहरुको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न हुन गएकोमा खुशी व्यक्त गर्नुभयो ।


निर्माण कार्यमा उपभोक्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको, डिजाईन इस्टिमेट अनुसार पुरा जनश्रमदान गरेको र भौगोलिक कठिनाईका बीच योजना निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा उहाँले उपभोक्ताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

यस्तै वडाध्यक्ष जीवनसिंह ठकुरीले वडाबाट गर्नुपर्ने सहयोग पूर्णरुपमा भईरहेको बताउनुभयो । योजना निर्माण कार्यमा सवैको सहयोग भएको र विशेष गरी समुदायले इमान्दाररुपमा काम गरेकोले योजना सफल भएको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष प्रशान्तसिंहले योजना निर्माणको क्रममा निकै कठिनाई भोग्नुपरेको भए तापनि निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।

निर्माणको क्रममा सवै उपभोक्ता तथा उपभोक्ता समिति, वास युनिट कर्मचारी, परियोजना र पालिकाको सहयोग, उत्प्रेरणा एबं विश्वासले दृढताका साथ योजना निर्माण सम्पन्न गर्न सफल रहेको उहाँको भनाइ थियो । हाल उपभोक्ताहरुका घर घरमा खानेपानीको सुविधा पुगेको र पानी महशुल उठाएर मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरी रेखदेख गर्ने कार्य समेत अगाडि बढेको बताउँदै उहाँले अब नियमित बैठक बस्न र आयोजना सित सम्बन्धित कागजात तथा सामग्रीहरु राख्न भवनको आवश्यकता औल्याउनुभयो ।

योजना हस्तान्तरण कार्यक्रममा उपभोक्ताहरुले विद्युत विस्तार, कृषि सडक स्तरोन्नति लगायत विकासका पूर्वाधारहरुमा पनि यसरी नै नगरपालिकाले सहयोग गर्नुपर्ने भनाई राखेका थिए । कार्यक्रममा वास सल्लाहकार गुम्म बहादुर नेपाली र वास संयोजक गोविन्द प्रसाद शर्माबाट पनि योजना निर्माण कार्य सफलता पूर्वक सम्पन्न भएको बताउदै अब दिगो बनाउन तथा योजनाबाट अधिकतम लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार