साटाखानी खानेपानीमा अटो डोजिङ पम्प जडान

  वास खबर सम्बाददाता  249 पटक हेरिएको


सुर्खेत : सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. ९, चौरासेमा रहेको साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अटो डोजिङ पम्प जडान गरेको छ ।

खानेपानी वितरण गर्नु अघि सुरक्षित भएको सुनिश्चितता गर्न उपभोक्ता समितिले अटो डोजिङ पम्प जडान गरी क्लोरिनेसन गर्न सुरु गरेको हो । हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा अटो डोजिङ पम्प जडान गरिएको साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापक हरि चालिसेले जानकारी गराउनुभयो ।

उपभोक्ता समितिले यस अघि पनि क्लोरिनेसन गरेरै खानेपानी वितरण गर्दै आएको भए पनि खानेपानीमा समानुपातिक रुपमा क्लोरिनेसन हुन नसकेकेको र डोजिङ पम्प जडान गरेपछि समानुपातिक रुपमा स्वचालित रुपले क्लोरिनेसन भैरहने उहाँले बताउनुभयो ।

साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँग ५० घनमिटर र २० घनमिटरका दुई वटा रिजर्भ्वायर ट्याङ्क छन् । ती दुवै ट्याङ्कको पानीलाई पुग्ने गरी मात्रा मिलाएर अटो डोजिङ गरिएको उहाँले बताउनुभयो । उपभोक्ता समितिको आफ्नै मिनी ल्याब समेत छ । मिनी ल्याबमा हरेक महिनाको एक पटक खानेपानीको सबै संरचनाबाट नमुना संकलन गरी परिक्षण गर्ने गरिएको छ । मिनी ल्याबमा ५ वटा पारामितिहरुको परिक्षण हुँदै आएको व्यवस्थापक चालिसेले बताउनुभयो ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले समेत सबै सेवा प्रदायकले १९ वटा पारामितिहरु अनिवार्य एक पटक परिक्षण गरी आधार तथ्याङ्क तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले यस्तो नीतिगत व्यवस्था गरे पनि स्थानीय स्तरमै खानेपानी परिक्षण गर्ने सुविधा नहुँदा सबै खानेपानी सेवा प्रदायकले परिक्षण गर्न सक्छन् नै भन्ने अवस्था छैन ।

हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले आफू कार्यरत पालिकाहरुमा हरेक पालिकामा एउटा मिनी ल्याब अनिवार्य स्थापना गर्नुपर्छ भन्ने ध्येयका साथ काम गरिरहेको जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार