
काठमाडौ : सोलुदुधकुण्ड नगरपालिकाले सोलुखुम्बुको पानी सिंगापुर, मलेसिया, दुबई, साउदी र कतार लगायत देशमा निर्यात गर्न प्रत्यक्ष विदेशी लगानी -foreign direct investment (FDI) भित्र्याउने भएको छ। जापान भ्रमणमा रहनु भएका मेयर नाम्गेल जाङ्बु शेर्पाले जापानको माउण्ट फुजी स्प्रिङ इन्कर्पोरेसनसँग सोलुखुम्बुमा खानेपानी उद्योग खोल्न सहमति भएको बताउनु भएको छ । माउण्ट फुजी स्प्रिङ इन्कर्पोरेसनले जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको छ।
मेयर शेर्पाले यसलाई सोलुखुम्बु जिल्लाका लागि मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरूवात भएको बताउनु भएको छ । ‘कम्पनीले अब सोलुदुधकुण्ड नगरपालिकामा विदेशी लगानी (FDI) मार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी सिंगापुर, मलेसिया, दुबई, साउदी र कतार लगायतका देशमा निर्यात गर्ने सहमति भएको छ’ उहाँले फेसबुकमा लेख्नु भएको छ ।

यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी बिश्व बजारमा निर्यात गर्ने मेयर शेर्पाले बताउनुभयो। उहाँले यस परियोजनाले हिमालको पानीलाई ब्रान्डिङ गरी बिश्व बजारमा निर्यात गरी जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने नगरपालिकाको सपनालाई साकार पार्ने दाबी गर्नुभयो।
मेयर शेर्पाले यो ऐतिहासिक कार्यले आफ्नो जापान भ्रमण अत्यन्तै सफल र उपलब्धीमूलक भएको बताउनु भएको छ । जापान भ्रमणमा मेयर शेर्पाले माउण्ट फुजी स्प्रिङ इन्कर्पोरेसनका अध्यक्ष अवाई हिडेरो, सिईओ अवाई ताईचिरो, महाप्रबन्धक मिचिहिसा कोबायाशी र निर्देशक नोरिहिरो सिजिजाक्की लगायतसँग भेटवार्ता गर्नुभएको छ।
खानेपानी तथा सरसफाइ ऐन २०७९ र खानेपानी तथा सरसफाइ नियमावली २०८१ ले समेत अनुमति लिई खानेपानीको थोक खरिद बिक्री र निर्यात तथा व्यापार गर्न खुल्ला गरेको छ । यद्यपि अनुमति प्राप्त संस्थाले पानीको थोकरुपमा खरिद बिक्री गरेमा वा बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गरेमा सोको जानकारी खानेपानी मन्त्रालयले तोकेको अधिकारीलाई दिनुपर्ने व्यवस्थापन गरेको छ ।
सरकारले गत आर्थिक बर्षकै बजेटमा हिमालको पानीलाई ब्रान्डिङ गरी विदेशमा निर्यात गर्न ‘वाटर फ्रम दी हिमालय’ कार्यक्रम घोषणा गरेको थियो।
रसुवाको रुद्रगंगा नेचुरल वाटर प्रा.लि.ले अहिले पनि अन्तर्राष्ट्रिय बजारमा खानेपानी निर्यात गर्दै आएको छ । रसुवा नेचुरल स्प्रिङ वाटर नाममा प्रशोधित पानी विदेश निर्यात गर्दै आएको कम्पनीले चीन, भारत लगायत देशमा खानेपानी निर्यात गर्दे आएको छ। कोरियासँगै जापान र हङकङ स्प्रिङ वाटरका मुख्य खरिदकर्ता हुन् । नेपालको पानी मलेसिया, सिंगापुरका साथै अस्ट्रेलिया, यूएई, भारत, पोल्यान्ड, जापान, बेलायतमा समेत निर्यात भइरहेको भन्सार विभागले जनाएको छ।
विभागको तथ्याङ्क अनुसार नेपालले बर्षेनी ५० करोड भन्दा बढीको पानी विभिन्न देशमा विक्री गरिरहेको छ ।


402 पटक हेरिएको 

